Shittalpati
रुकुम घटनाको विरोधमा रामपुरमा प्रदर्शन सहित विरोध सभा

इमान सिं राना
पाल्पा(रामपुर), देशैभर रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा घटेको जातिय विभेद र हिंसात्मक घटनाको विरोध भैरहेका बेला शनिबार जिल्लाको रामपुरमा पनि प्रदर्शन सहित शान्ति पूर्ण विरोध सभा भएको छ । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै दलित समन्वय समिति रामपुरले विरोध सभा गरेको हो । जाजरकोट भेरी नगरपालिका ४ राणा गाउँका नवराज वि.क र रुकुम चौरजहारी नगरपालिका ८ सोतीका सुष्मा मल्ल बीच प्रेमलाई लिएर ५ जनाको ज्यान जाने गरी भएको घटनाको विरोध गर्दै नगरपालिकाका दलित संघ संगठन, अधिकारकर्मी र दलित समुदायका युवा तथा युवतीहरुले प्रदर्शन गरेका थिए । लकडाउनका बीच पनि टाउकोमा कालो पट्टी बाँधेर निस्कीएका उनीहरु व्यानर, प्ले कार्ड सहित नारा लगाउँदै प्रदर्शनमा निस्किएका थिए । उनीहरुले जातिय छुवाछुत र विभेदको अन्त्य गरौं, मानव अधिकारको रक्षा गर्दै दलित जातिको उत्थान गरौं, अन्तरजातिय प्रेम गर्नु पाप होईन, यसको बदला हत्या होईन, रुकुम घटनाको सम्पूर्ण दोषीहरुलाई हदै सम्मको कार्वाही गर, समाजमा दलित शब्दले हेपिनु पर्छ भने संविधानबाटै दलित शब्द हटाईयोस्, समान्ता र न्याय मूलक समाजको निर्माण गरौं लगाएतका नारा लगाएका थिए ।


प्रदर्शन पश्चात ¥याली बेझाँड चोकमा शान्ति पूर्ण विरोध सभामा परिणत भएको थियो । दलित समन्वय समिति रामपुरका अध्यक्ष धन बहादुर विश्वकर्माको अध्यक्षतमा भएको विरोध सभामा रामपुर नगरपालिका ४ का वडा अध्यक्ष एक बहादुर नेपाली, रामपुर ५ का वडा सदस्य मायाँ नेपाली, दलित वर्ग उत्थान समन्वय समितिका सल्लाहाकार अर्जुन सुनार, यम बहादुर सुनार, दिल बहादुर कौसी, सुन्दर वि.क., राष्ट्रिय लोक तथा दोहोरी गायक प्रेम कुमार गैह्रे लगायतले २१ औं शताब्दीमा आएर पनि थरको आधारमा हुने हिंसा बढ्दै जानुले मानवता माथि नै प्रश्न उठेको बताएका थिए । घटनाको निन्दा गर्दै उनीहरुले निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न माग गर्दै दण्डहीनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातिय विभेदका घटनाहरु वृद्धि भइरहेको बताएका थिए ।


जाजरकोट घर भएर हाल रामपुर नगरपालिकामा कार्यरत सह लेखापाल विनोद पुन मगरले नवराजलाई आफुले नजिकबाट चिनेको बताउँदै यो घटना दलित समुदायमा ात्र सिमित नभई सिंङ्गो मानवतासँग जोडिएको बताए । सभाको सञ्चालन दलित समन्वयसमिति रामपुरका सचिव सञ्जु देवी परियारले गरेकी थिईन् । कोण सभा संगै समितिले ईलाका प्रशासन कार्यालय तथा इलाका प्रहरी कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । साथै समितिले घटनाबाट ज्यान गुमाएका नवराज वि.क., टिका सुनार, लोकेन्द्र सुनार, सञ्जु वि.क., गणेश बुढा मगर र हालसम्म पनि बेपता रहेका गोविन्द शाहीको सम्झनामा बत्ती समेत बालेका थिए ।

 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update