Shittalpati
हप्तामा तीन दिन वित्तीय सेवा सञ्चालन गर्न प्रशासन कार्यालयको आग्रह

रमेश विश्वकर्मा
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था, सहकारी एवम् बिमा कम्पनीहरुले हप्तामा तीन दिन मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।

विश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संभावित संक्रमणलाई मध्यनजर गर्दै हप्तामा तीन दिन बैंक तथा वित्तीय संस्था, सहकारी एवम् बिमा कम्पनीहरुले सेवा सञ्चालन गर्न आग्रह गरिएको प्रशासकीय अधिकृत एवम् प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।

मानिसहरुको सामाजिक दुरीलाई ख्याल गरेर आबश्यक स्वास्थ्य सामाग्रीहरु कार्यालय परिसरमा राखेर हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंक तथा अन्य वित्तीय संस्थाहरुले सेवा सञ्चालन गर्ने छन् । लामो समयसम्म बैंक तथा बित्तिय संस्थाहरु बन्द हुँदा सेवाग्रही मर्कामा परेको बताईएको छ ।

यस अघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसी हप्तामा दुई दिन मात्र बैंकिङ्ग सेवा सञ्चालन गर्ने निर्णय भएको थियो । दुई दिन मात्रै बैंकिङ्ग सेवा सञ्चालन गर्दा मानिसहरुको अत्याधिक चाप बढेपछि त्यसलाई बढाएर हप्ताको तीन दिन सञ्चालन गर्न आग्रह गरिएको पाण्डेले बताए ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update