Shittalpati
चकोरमानले न पार्टीबाट न्याय पाए न भगवानबाटै !

नरेश चन्द्र भट्टराई
नेपाली काँग्रेस तानसेन नगर समितिका निवर्तमान सभापति, सामाजिक अभियान्ता चकोरमान शाक्यको असमायिक निधनले हामी सबैलाई स्तब्ध पारेको छ । दुई दशक भन्दा बढी समय नेपाली काँग्रेस तानसेन नगर समितिका सभापति रहेका चकोर दाईलाई पाल्पा काँग्रेसका एउटा शसक्त खम्बाका रुपमा लिन सकिन्छ ।

प्रजातन्त्रका सेनानी बुबा पूर्णमान शाक्यको राजनीतिक र सामाजिक संस्कारमा जन्मेर र हुर्किएका चकोर दाई प्रजातान्त्रिक संस्कार, सिष्टाचार, अतिथि सत्कारका धनि भएको एउटा सु–संस्कृत व्यक्तिका रुपमा परिचित थिए । उनीसँगको संगत, बसाई, भेटघाट र घरमा पुग्ने जो कोहिले पनि यो महशुस अवश्य गरेका छन् र मैले पनि उनको संगतमा यो महशुस गरेको छु । प्रजातन्त्रका लागि बुवा पूर्णमान र छोरा चकोरमानले गरेको योगदान र यस परिवारले पुर्‍याएको सेवा अविस्मरणीय रहने छ । विधिको विडम्वना जीवित हुँदासम्म उनले न पार्टीबाट न्याय पाए न भगवानबाट नै । राजनीतिमा हुने अनेक षड्यन्त्र र गुटबन्दीका सिकार भई उनी अन्यायमा परे । तर पनि पार्टी प्रतिको उनको आस्था र विश्वास कहिल्यै डगमगाएन । सधैं पार्टी प्रति निष्ठावान नै रहे  ।

राजनीतिमा मात्र नभएर भगवानले समेत समेत उनलाई न्याय गरेनन् । उनको घर परिवारमा एकपछि अर्को अस्वाभाविक बज्र प्रहार हुन पुग्यो । उनले एकमात्र भाई र छोरा गुमाउनु पर्‍यो । आफैले एकमात्र भाई र छोराको दाहसंस्कार गर्नु परेको पीडा उनलाई थियो । एकातिर जस्तोसुकै संकटको घडीमा पनि धैर्यतापूर्वक प्रस्तुत हुन सक्ने उनको उच्चतम मानविय गुण थियो, भने अर्काेतिर विभिन्न विचारधारा र पक्षहरूसँग अप्ठ्यारो परेका बखत समन्वयकारी भूमिका निर्वाह गर्न उनी माहिर थिए । सबै अन्याय र पीडाका बाबजुद चकोर दाई जीवनको अन्त्यसम्म पनि विभिन्न सामाजिक क्षेत्रमा सक्रिय क्रियाशील र उर्जाशील नै रहे । पछिल्लो समय तानसेनवासीलाई खानेपानी खुवाउने काममा सक्रिय उनी सबैका कुरा सुन्ने लोभ पाप नभएका निष्कलड्ढ व्यक्तिका रूपमा परिचय पनि बनाउन सफल थिए । उनको असामयिक निधनले सम्पूर्ण पाल्पावासी नै शोकाकुल हुन पुगेका छन् । यस घडिमा दिवंगत आत्माको बैकुण्ड बासको कामना गर्दै, सम्पूर्ण शोकाकुल परिवारजन र आफन्तजनहरूमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update