Shittalpati
गुल्मीको पैँचो पसलले गरिदियो कर्मचारीको कोरोना बीमा

रमेश विश्वकर्मा

गुल्मी । जिल्लामा सस्तो तथा सुपथ मूल्यमा सेवा प्रदान गर्दै आएको पैँचो पसल प्रालिले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरिदिएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना माहामारी (कोभिड १९)का कारण जोखिममा रहेर काम गर्ने कर्मचारीहरुका लागि प्रालिले कोरोना बीमा गरिदिएको हो । शुक्रबार आफ्ना सबै शाखाका ९१ जना कर्मचारीहरुको सगरमाथा इन्स्योरेन्स गुल्मी शाखा मार्फत बीमा गरिदिएको पसलका महाप्रबन्धक सुमन बरालले जानकारी दिए ।

बीमाको आवश्यकता महशुस गरी सबै शाखामा काम गर्ने ९१ जना कर्मचारीहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको बीमा गरिएको उनले बताए । पसलमा काम गर्ने कर्मचारीहरु बढी जोखिममा हुने भएकाले पनि बीमा गरिदिनु परेको पसलले जनाएको छ । कर्मचारीहरुमा कोरोना भाइरस परीक्षण गर्दा दुई पटक पोजेटिभ रिपोर्ट आएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम सम्बन्धित कर्मचारीलाई क्षतिपुर्ति स्वरुप प्रदान गर्ने सगरमाथा इन्स्योरेन्स गुल्मी शाखाका प्रमुख रमेश अधिकारीले बताए ।

कोरोना भाइस विरुद्धको एक लाख बराबरको बीमा प्रति व्यक्ति एक्लैले लिनु परेमा बार्षिक १ हजार, परिवार अथवा संघ संस्थाले लिनु परेमा प्रति सदस्य ६ सय रुपैयाँ तिनुपर्ने छ । ५० हजार बराबरको बीमा प्रति व्यक्ति लिनु परेमा बार्षिक ५ सय तिर्नुंपर्ने कम्पनीले जनाएको छ । परिवार अथवा संघ संस्थाले लिनु परेमा ३ सय रुपैयाँ तिर्नुंपर्ने छ । यो बिमालेख समितिद्वारा नयाँ बनाईएको शाखा प्रमुख अधिकारीले बताए । कम्पनीले बीमालेख जारी गरि जिल्लाको सदरमुकाम तम्घासमा रहेको पैचो पसललाई हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update