Shittalpati
बन्दाबन्दीका बेला पढ्दै पढाउँदै बालबालिका

इमान सिं राना
पाल्पा (रामपुर) । बन्दाबन्दी नभएको भए विद्यालयहरुमा शैक्षिक सत्र २०७७ को भर्ना अभियान सकिएर धमाधम अध्ययन अध्यापन भइरहेको हुन्थ्यो । तर विश्व माहामारीको रुपमा फैलिएको कोभिड १९ का कारण चैत्र ११ देखि देश लकडाउनमा रहेकाले गत वर्षको वार्षिक परीक्षा नतिजा समेत राम्ररी हेर्न नपाएका विद्यार्थीहरु घरमै बस्न बाध्य छन् । विद्यार्थीहरुको सहजताको लागि केही स्थानीय तह तथा विद्यालयहरुले रेडियो, टेलिभिजन र अनलाईनबाट अध्यापन गरिरहेका छन् । केहीले परियोजना कार्य दिए पनि अझ प्रभावकारी हुन भने सकेको छैन । सम्पूर्ण शैक्षिक संस्था ठप्प रहेकाले बालबालिकाहरु भने लकडाउन कहिले खुल्ला र विद्यालय जाउँला भन्ने पर्खाइमा रहेकाछन् । विद्यालय जान आतुर रहेका रामपुर ४ काँसजरी टोलका बालबालिकाले भने यस बीचमा सिक्न र सिकाउनका लागि नयाँ जुक्ती निकालेका छन् ।

स्कूल खुल्ने प्रतिक्षामा बसेका बालबालिकाहरुले लकडाउन यथावत नै रहन थालेपछि दिउँसोको समय एक ठाउँमा जम्मा भएर गाउँ मै पढ्ने र साना भाईबहिनीलाई पढाउन थालेका हुन् । सरकारले भेला नहुन भने पनि टोलमा अहिलेसम्म बाहिरबाट कोही नआएकाले टोल सुरक्षित रहेको विश्वासका साथ सानालाई विद्यालय जाने बानीको विकास गराउन र पढेका कुरा स्मरण गर्नका लागि पढ्ने र पढाउने कार्य सुरु गरेका हुन् । उनीहरुले गाउँ भन्दा माथि रहेको चेतनशील आमा समूहको भवनको खाली भाग र भवन परिसरको रुखको फेदमा बसेर पढ्ने र पढाउने गरिरहेका छन् । विद्यालयको झल्को दिने गरी आमाबाबालाई विहानको काम सघाएर १० बजेदेखि ३ बजेसम्म बालबालिकाहरु खेल्दै, पढ्दै गरिरहेको अवस्थामा भेटिन्छन् ।

अहिले कक्षा ६ मा पुगेकी सीताराम माध्यमिक विद्यालयका छात्रा कृष्टिना शाहीले स्कूलहरु बन्द रहिरहेमा आफुसँगै भाई बहिनीहरुले पढेका कुरा बिर्सने डर भएकाले साथीभाई सल्लाह गरेर पढ्ने पढाउने सुरु गरेको बताईन् । उनले भनिन्, ‘लकडाउन सकिएर स्कूल खुल्छ कि भन्ने पर्खाइमा थियौं । तर लकडाउन थपिएको थपै भयो । झनै पढेका कुरा बिर्सन्छौ भन्ने लागेर बैशाख २८ गतेबाट भाई बहिनीलाई पढाउँदै पढ्न सुरु गरेका हौं ।’ अहिले त यसरी जम्मा नहुन भनेको छ नी भन्ने प्रश्नमा उनले भनिन्, ‘हाम्रो टोलमा अहिलेसम्म अरु ठाउँबाट कोही आएका छैनन् । हामी यहि टोलका मात्र छौं । त्यसैले सिक्नका लागि सुरु गरेका हौं ।’ कालिका आधारभूतबाट कक्षा ८ उत्तिर्ण गरी बसेका विनु मल्लले पनि स्कूल बन्द हुँदा भाई बहिनीको पढ्ने बानी हराउँछ की भनेर सुरु गरेको बताईन् ।

उनले भनिन्, ‘हाम्रो टोलमा रहेका २८ घरका हामी २८ जना छौं । कक्षा ४ सम्मको विद्यार्थीहरुलाई माथिल्लो कक्षाकाले जानेका कुरा सिकाउने र माथिल्लो कक्षाकोले पनि पढ्ने गरिरहेका छौं ।’ उनले निकै रमाईलो गरेर दिन बित्ने गरेको बताइन् । कालिका आधारभूतबाट कक्षा ८ उत्तीर्ण गरी बसेका रोशन थापा मगरले विहानको काम सकाएर १० बजे देखि ३ बजेसम्म पढ्ने र पढाउने गर्दै आएको बताए । ‘ममी बाबालाई विहानको काम सघाएर खाना खाई १० बजे आउँछौं । १ बजे खाजाका लागि घरमा जान्छौं । त्यस पछि पुनः फर्केर आई ३ बजेसम्म पढेर घरको काममा सघाउँछौं’ रोशनले भने ।

उनीहरुले शुक्रबार अतिरिक्त क्रियाकलापको रुपमा केही समय खेल खेलाउने र शनिबार सरसफाईका लागि भनेर विदा जस्तै मनाउने गरेका छन् । उनीहरुले सुरुवात गर्दा अभिभावकहरुलाई विश्वास नै लागेको थिएन । तर उनीहरुले नियमित बस्ने गुन्द्री, कापी र किताब लिएर पढ्न थाले पछि अभिभावकहरु अचम्ममा रहेको अभिभावक अमृता मल्लले बताइन् । पहिलो वर्ष स्कुल जाने तयारीमा रहेका बाबुनानीहरु पनि रमाईलो मानेर पढ्न जाने गरेका छन् । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य एवं ४ का वडा सदस्य सीमादेवी रानाले बालबालिकाले स्वतःस्फुर्त रुपमा सुरु गरेको कार्यले आफुहरु अचम्म परेको बताइन् । उनले भनिन्, ‘अभिभावकहरुले केही भनेका थिएनन्, आफै झोला बोकेर जान थाले । नियमित समयमा जान्छन् र पढेर फर्किन्छन् ।’

रानाले कोरोना महामारीको समयमा लकडाउनका बीच बालबालिकाले सुरुवात गरेको काम राम्रो रहेको भन्दै अहिलेसम्म टोलमा अन्य जिल्ला तथा देशबाट कोही नआएको र आइहालेमा भने सुरक्षाका लागि विचार गरिने बताईन् । अहिले कृष्टिना, विनु र रोशनसंगै कक्षा ९ मा गएका विवश खड्का, कक्षा ८ मा गएका जुना विरकट्टा, कक्षा ६ मा गएकी सृष्टि आले र कक्षा ५ मा गएकी सनु श्रेष्ठले सिकाउनमा सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update