Shittalpati
हत्यामा संलग्नलाई कारवाही गर्न पाल्पाली दलित अधिकारकर्मीको माग

पाल्पा, केही दिन अघि पश्चिम रुकुममा भएको घटनामा संलग्नलाई कानुनी कारवाही गर्न जिल्लाका दलित अधिकारकर्मीहरुले सरकार समक्ष माग गरेका छन् । अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा भएको हत्याको निष्पक्ष छानविन गर्न उनीहरुले सरकार समक्ष माग गरेका हुन् । विहिवार पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै दलित अधिकारकर्मीहरुले २१औं शताब्दीमा पनि यस्ता जातिय विभेदका घटना घट्नु दुखद् भएको भन्दै घटनामा संलग्नलाई ततकालै कानुनी कारवाही गर्न सम्बन्धित निकायहरुमा माग गरेका छन् ।

जाजरकोट भेरी नगरपालिका ४ का नवराज विक र रुकुम चौरहजारी ४ की युवती शुष्मा मल्ल वीचको प्रेम सम्बन्धको घटनालाई लिएर जातीय विभेद र हत्या भएको भन्दै उनीहरुले निष्पक्ष छानविन र दोषीलाई कडा कारवाहीको माग गरेका हुन् । जिल्लाका १९ वडा अधिकारवादी संघ संस्थाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गृहमन्त्री, मुख्यमन्त्रीको कार्यालय प्रदेश पाँच र कर्णाली प्रदेश, जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमलाई समेत बोधार्थ पठाएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update