Shittalpati
ऋषि पञ्चमीको महत्व

नेपाली हिन्दु महिलाहरुले तिजको दोस्रो दिन व्रत बसी तेस्रो दिन आज ऋषिपञ्चमीको पूजा गर्दैछन् । यसदिन बिहान सबेरै नजिकको नदी, खोला पोखरी वा तलाउमा गई ३ सय ६५ वटा दत्तिवन चपाउने, तल्लो अंगमा माटोको लेपन लगाउने र नुहाइधुवाइ गरी शुद्ध भई देवालय, सार्वजनिक स्थल वा कसैको घरआँगनमा जम्मा भई पण्डित राखी सप्तर्षि–पत्नी अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) को पूजा गर्ने गर्दछन् । यो पूजा गर्नाले रजस्वला भएको बेलामा कसैसँग छोइएको भए त्यो पापबाट मुक्त भइने विश्वास गरिन्छ ।

ऋषिपञ्चमीको आफ्नै किसिमको धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण स्थान छ । यसको साथसाथै वैदिक सनातन हिन्दू संस्कारको वैज्ञानिक चाडपर्वमध्ये ऋषिपञ्चमी पनि एक हो । मूलतः हिन्दू संस्कारअनुसार महिलाहरूका लागि तिज तथा हरितालिकाको जति महत्व छ, त्यति नै महत्व ऋषिपञ्चमीको पनि छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापकर्म छन्, तीबाट मुक्ति पाउनका लागि यसको व्रत गर्दछन् । काम, क्रोध, लोभ र मोहबाट मुक्त भई सफा र सात्विक भोजन गर्ने, झुटो नबोल्ने, आफ्ना पतिहरूसितको सहवास पनि केवल कामवासनाका लागि जनावरहरूले जस्तो नगरी ठीक समयमा सोच–विचार गरेरमात्र गर्ने, अन्यथा खराब प्रवृत्तिका बच्चा जन्मिन्छन् भन्ने मान्यता रहेको छ । रजोवती अर्थात् पन्छिएको बेलामा सहवास भयो भने गर्भ नै तुहिन्छ र आमालाई शारीरिक रूपमा अवस्थामा खतरा हुन्छ । यस्ता यावत कुराहरुबाट मुुक्त हुनका लागि  ऋषि पञ्मीको पूजा गर्ने गरिएको हो । हामी यिनै ऋषिमुनिका सन्तान हौं । जसलाई हामीहरू भुलेर यत्रतत्र भट्किएका छौं । उनै दिव्य ऋषिहरूको पथको अनुशरण गर्न वा तिनीहरूले बताएको बाटो हिँड्ने प्रण गर्ने दिन ऋषिपञ्चमी हो । पूर्वज ऋषिहरूजस्तै वीर, शक्तिशाली र दीर्घजीवी बन्न सकौं भन्ने हो । ऋषिहरूको पथ अनुशरण गरी हामी संसारका सर्वश्रेष्ठ व्यक्ति बन्ने प्रयास गर्नुपर्छ । ऋषिपञ्चमीले हाम्रो दैनिक व्यवहार यस दिन गरिने क्रियाकलापजस्तो हुनुपर्छ भन्ने सन्देश दिएको छ  । हामीलाई ऋषिहरूले आफ्नो जीवनमा उतारेर सत्य विचार गरेपछि मात्र मन्त्रको रूपमा दिएको ज्ञान हो यो । तसर्थ, संयमी जीवन बिताउन ऋषिपञ्चमीले सन्देश दिएको छ । सप्तऋषिहरूको पूजाको आफ्नो ठाउँमा महत्व त छँदैछ, त्यसको सबभन्दा महत्वपूर्ण भनेको ऋषिहरूको पथमा चल्नु या अब म यो बाटो छोड्ने छैन म ऋषिहरूको जस्तो दीर्घजीवी, शान्त र आनन्दको बाटो लिनेछु भनी प्रण गर्नु हो ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update