 
                                                                    पाल्पा, २१ औं निजामती सेवा दिवस पाल्पामा रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । शनिबार कर्मचारी मिलन केन्द्रको आयोजनामा सदरमुकाम तानसेनमा रक्तदानसँगै विभिन्न रचनात्मक कार्यक्रम गरी दिवस मनाइएको हो ।
केन्द्रको आयोजना, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखा र लुम्बिनी मेडिकल कलेज प्रभासको सहकार्य र प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान नै जीवनदान हो’ भन्ने नारालाई आत्मसाथ गर्दै दिवसको अवसरमा रक्तदानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिएको केन्द्रले जनाएको छ । जिल्लाका अस्पलातहरुमा रगत अभावका कारण बिरामीहरुले सास्ती भोगीरहेको अवस्थामा रगत सहजताका लागि रक्तदान कार्यक्रम महत्वपूर्ण हुने लागेर यो कार्यक्रम आयोजना गरिएको केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए । उनले केन्द्रले जस्तै अन्य संघ संस्था र व्यक्तिहरुले पनि नियमित रुपमा रक्तदान गर्ने हो भने रगत अभावमा जीवन र मृत्युको दोसाधमा कोही पनि विरामी छट्पटाउनुपर्ने अवस्था नआउने उल्लेख गरे ।

कार्यक्रममा सहभागी जिल्ला न्यायधिश दलबहादुर केसी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्र चन्द, नेपाल रेडक्रस सोसाइटी पाल्पाका कार्यालय प्रमुख विनोद भारती लगायतले कर्मचारी मिलन केन्द्रले दिवसका दिन रक्तदान गर्ने जस्तो पवित्र काम गरेकोमा खुुसी व्यक्त गर्दै अन्य संघसंस्थाहरुले समेत यस्ता कार्यको सिको गर्नुपर्नेमा जोड दिएका थिए । केन्द्रकी कार्यवाहक अध्यक्ष रमा श्रेष्ठका अनुसार रक्तदानसँगै ब्याडमिन्टन प्रतियोगीता र सिविआर पाल्पामा रहेका फरक क्षमता भएकाहरुलाई खाद्यान्न वितरण समेत गरिएको हो । कार्यवाहक अध्यक्ष श्रेष्ठको अध्यक्षता,सचिव जयदिप पन्थीको सञ्चालनमा औपचारिक कार्यक्रम भएको थियो ।
दिवसका दिन पाल्पासहित देशभर विविध कार्यक्रम गरी मनाइएको छ । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई सम्मान गर्ने, विभिन्न निजामती कर्मचारीलाई उत्साहित र प्रेरित गर्ने कार्यक्रमहरु समेत आयोजना हुने गर्दछन् । निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको सेवा प्रदान गर्न निजामती कर्मचारीहरुको भूमिका अतुलनिय रहन्छ ।


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    