Shittalpati
एक दशकपछि निस्दीका गाउँमा बिजुली पुग्यो

रामपुर । पाल्पाको निस्दी गाउँपालिकामा आयोजना शुरु भएको एक दशकपछि बिजुली पुगेको छ । गाउँपालिकाका ३, ४, ५, ६ र ७ वडामा विद्युतीकरण गर्ने योजनामध्ये हाल यहाँका ४, ५ र ६ वडाका केही गाउँमा बिजुली बाल्न थालिएको हो । स्थानीय लालीगुराँस ग्रामीण विद्युत् सहकारी संस्था मार्फत आयोजनाको काम थालनी गरिएको छ । नाकाबन्दी, सामान, गाउँमा सडक लगायत विविध समस्याका कारणले आयोजनाको काम ढिलो हुन पुगेको संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमैले बताए । गत शनिवारदेखि वडा नं ४ का करीब ९५ र ६ का १ सय ६५ घरधुरीमा बिजुली बल्न शुरु भएको छ ।

आजभन्दा पन्ध्र दिनअघि वडा नं ५ का गाबुडाँडा, राइकोट, धनुबास र खरकडाँडा गाउँका करीब पाँच सय घरधुरीमा विद्युत् सुविधा पुगिसकेको छ । सो वडाका बाँकी गाउँ तथा बिजुली पुग्न बाँकी रहेका गाउँपालिकाका वडा नं ३ र ७ मा पनि विद्युतीकरणको काम भइरहेको छ । विद्युतीकरणका लागि एक घरधुरीबाट पाँच हजार शुल्क लिइएको छ । तेत्तीस केभी क्षमताको राष्ट्रिय प्रसारण लाइन रहे पनि अहिले यहाँ ११ केभी क्षमताको विद्युत् विस्तार गरिएको हो । पाँच वडामा गरेर करीब दुई हजार सात सय धरधुरी सो आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने छन् ।

यस वर्षभित्र गाउँका बाँकी सबै घरधुरीमा बिजुली बाल्ने योजना छ । टुकी, लघु जलविद्युत् आयोजना तथा सौर्य ऊर्जा प्रणालीका भरमा जीवन गुजारा चलाउन बाध्य यहाँका नागरिक अहिले घर–घरमा बिजुली पुगेपछि खुशी भएको मित्यालवासी तथा मौलादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर ठाडाले बताए । रासस

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update