Shittalpati
आलोपालोमा सहकारी सञ्चालन

गलबोट । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि बागलुङका वित्तीय संस्था सञ्चालनमा समय तालिका निर्धारण गरिएको छ । यहाँका बैंक आलोपालो खुल्न थालेपछि सहकारीलाई समेत आलोपालो खुलाउन थालिएको छ । सहकारीको छाता सङ्गठन जिल्ला सहकारी सङ्घले बजार क्षेत्रमा रहेका सहकारीलाई हप्तामा दुई दिन सञ्चालन गर्नका लागि आइतबारदेखि समय तालिका तोकेको हो । गत शनिबार बसेको सङ्घको बैठकले ६९ वटा सहकारीलाई हप्तामा दुई दिन सञ्चालन गर्न र सहकारी बैंकसहित नौवटा सहकारी सङ्घले दैनिक सेवा प्रवाह गर्न निर्देशन जारी गरेको सङ्घका जिल्ला अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

दुई सङ्क्रमण पुष्टि भएका सङ्क्रमित निको भएर घर फर्केको यहाँ पुन बागलुङबाट पर्सा गएका १४ जनामा कोरोना पुष्टि भएसँगै यहाँ उच्च सतर्कता अपनाउन थालिएको हो । गत आइतबार र बुधबार २२ वटा, सोमबार र बिहीबार २१ वटा र बाँकी सहकारी मङ्गलबार र शुक्रबार खोल्ने निर्णय गरेको उनको भनाइ छ । उनले राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी सङ्घ लिमिटेड जिल्ला बचत तथा ऋण सहकारी सङ्घ, जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, जिल्ला सूचना तथा सञ्चार सहकारी सङ्घ, जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घ, जिल्ला फलफूल तथा तरकारी उत्पादक सहकारी सङ्घ, जिल्ला स्वास्थ्य सहकारी सङ्घ र जिल्ला कृषि सहकारी सङ्घ लिमिटेड हप्ताको ६ दिन नै खुल्ने बताए ।

उनले सहकारी संस्थाको समन्वयका लागि सहकारी बैंक र सङ्घलाई हप्ताभर नै खुलाउने निर्णय गरिएको जानकारी दिए । सहकारी संस्था १० देखि १ बजेसम्म सेवा प्रवाह गर्ने छन् भने सङ्घले १० देखि ४ बजेसम्म नै सेवा प्रवाह गर्ने उहाँले बताए । सबै सहकारी एकसाथ खुल्दा भीडभाड हुने र कोरोना सङ्क्रमणको जोखिम बढ्ने देखिएकाले आलोपालो गरेर सहकारी खोल्ने निर्णय गरिएको सङ्घले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update