कोशी प्रदेश आोखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका विगुटार निवासी माता टुककुमारी र पिता पं. रत्नप्रसाद दाहालका सुयोग्य सुपुत्र पुरूषोत्तम दाहालको जन्म वि.सं.२०१५ मंसिर १३ गते भएको हो । राजनीति शास्त्रमा एम.ए.सम्मको अध्ययन गरी हाल बुढानिलकण्ठ –१० कपन ,नारायणचोक, काठमाडौं बसोवास गर्नुभएका प्रखर स्पष्ट वक्ता, मानवअधिकारकर्मी, अग्रज पत्रकार , वरिष्ठ साहित्यकार पुरूषोत्तम दाहालका करीव एक दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् ।
केही कवि केही कविता (२०४३, सहलेखन), कविता संग्रह साँध (२०५९), मानव अधिकार : लोकतन्त्र र अहिंसाको आधार (सहलेखन २०६५), तेस्रो संस्करण समेत रहेको उपन्यास शान्ता (२०७९/२०८०),कविता संग्रह अन्धकारको यात्री (२०७३), कथा संग्रह शिखरवृत (२०७४), दोस्रो संस्करण समेत रहेको चार दशकको पत्रकारिता अनुभव, मेरो पत्रकारिता (२०७३÷२०७५), अंग्रेजी अनुवादमा उपन्यास शान्ता (२०७५), कविता संग्रह काला बादलमा उज्याला पाइला (२०७९), उपन्यास कालपात्र (२०८०) दाहालका महत्वपूर्ण प्रकाशित कृतिहरू हुन् ।
वर्तमानको जीवन्त चित्रको रूपमा रहेको उपन्यास कालपात्र (२०८०) सुकर्मका लागि कुकर्म विरूद्ध सतत् – संघर्षशील सम्पूर्ण असल मानिसहरूमा समर्पित, इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.(हिमालय टाइम्स राष्ट्रिय दैनिक) द्वारा प्रकाशित एवं शव्दार्थ प्रकाशन चावहिल काठमाडौंद्वारा वितरित मूल्य रू.५२५/- रहेको उपन्यास कालपात्र उदाहरणीय, संग्रहणीय एवं शोधनीय कृतिको रूपमा उपस्थित रहेको छ । अहिले मेरो हातमा उपन्यास ‘कालपात्र’ रहेको छ र म यसैको स्वाध्ययन गरी घोत्लिदै यी पङ्क्तिहरू लेखिरहेको छु । कालपात्रको भूमिकामा ‘कालपात्रमा अभिचित्रित युगीन चरित्र’ शीर्षकमा प्रा.डा.कुलचन्द्र कोइराला लेख्नुहुन्छ, “यो उपन्यासको देश नेपाल हो र काल यो देश देशका रूपमा उदाएदेखि आजसम्म व्यापी रहेको छ । नेपाली राजनीतिमा देखिएका परिघटनाको छायाँ पारेर लेखकले एकातिर सुकृति गरेको देखाउन गरिएका काम सबै विकृति भएका÷गर्ने गराउने मनसायलाई दाजु, भाउजू र दिदीका प्रातीक्यमा उभ्याएर प्रक्षेपण गरेका छन् । विशेष गरी नेपाली राजनीतिमा व्याप्त रहेको दाजुको वैध उपस्थितिभित्र भाउजूका अवैध र पारिवारिकीकरणलाई सुन्दर ढङ्गाले प्रस्तुत गरेका छन् ।”
‘खोजौं आ–आफ्ना अनुहार’ शीर्षकमा कृष्ण धारावासी लेख्नु हुन्छ , “एउटा अनुभवी, निडर र संघर्षशील पत्रकारको कलमबाट जन्मिएको यो कृति यथार्थको खिरिलो पोयो हो । यसलाई बाटेर दह्रो घुँयत्रो बनाई यो देशको घिनलाग्दो र हडड्याइलो भ्रष्टाचारी प्रवृत्ति नमिल्काएसम्म प्रजातन्त्र वा लोकतन्त्रको आकाश खुल्न सक्दैन । प्रजातन्त्र प्राप्त भएपछि फेरि एकपल्ट सुकिला मुकिलाहरूका विरुद्ध अर्को युद्ध गर्नुपर्ने छ भन्ने बिपी कोइरालाको भनाइ अझै पनि भविष्यका निम्ति एक आशालाग्दो सन्देश छ ।” ‘कालपात्रभित्र एकछिन्’ शीर्षकमा कलानिधि दाहालले कृतिको वैशिष्यता मापन गर्दै लेख्नुहुन्छ ,“सुरुदेखि अन्त्यसम्म एकछत्त कृतिको केन्द्रीय भूमिकामा रहेको पात्र चाँही समविषम सबै पक्षलाई पचाएर खराब बाटाबाट अलग भई असल मार्गावरोही हुनुले सिर्जनात्मक सकारात्मक पक्षको सन्देश प्रवाहित गर्दै सम्यक स्रष्टत्वको गजब धर्म निर्वाह पनि रोचक ढ·मा देखिँदा कृति बेजोड आकर्षक बनेको छ । सुरु नै आर्यघाटको धमिले धुवाँबाट आकर्षक तरिकाले भएको ‘कालपात्र’ यो कौतुहल आकर्षण अन्त्यसम्म जीवित राख्नु अझ यसको लोभलाग्दो विशेषता हो।” उपन्यासको सन्दर्भमा “कालपात्रमा अभिचित्रित युगीन चरित्र “शीर्षकमा प्रा.डा. कुल प्रसाद करुोइराला लेख्नुहुन्छ, “यो उपन्यासको देश नेपाल हो र काल यो देश देशका रूपमा उदाएदेखि आजसम्म व्यापी रहेको छ । नेपाली राजनीतिमा देखिएका परिघटनाको छायाँ पारेर लेखकले एकातिर सुकृति गरेको देखाउन गरिएका काम सबै विकृति भएका÷गर्ने गराउने मनसायलाई दाजु, भाउजू र दिदीका प्रातीक्यमा उभ्याएर प्रक्षेपण गरेका छन् । विशेष गरी नेपाली राजनीतिमा व्याप्त रहेको दाजुको वैध उपस्थितिभित्र भाउजूका अवैध र पारिवारिकीकरणलाई सुन्दर ढ·ले प्रस्तुत गरेका छन् ।”
“कालपात्रबारे” शीर्षकमा लेखकीय अभिव्यक्ति व्यक्त गर्दै लेखक पुरूषोत्तम दाहाल स्वयं लेख्नुहुन्छ ,“जो मानिस असल हुनुहुन्छ, राजनीतिमा, सामाजिक क्षेत्रमा, व्यापार, व्यवसायमा, अन्य विविध क्षेत्रमा उहाँहरूलाई यो उपन्यासको पात्र बनाएको छैन, र बनाउन चाहेको छैन । असल मानिसलाई सम्मान हुनुपर्छ, असल मानिस स्थापित हुनुपर्छ भन्ने सिद्धान्तप्रेरित छ यो उपन्यास ।” कालनै पात्रको रूपमा उपस्थित कालपात्रभित्र नेपाल र नेपालीको कथा व्यथालाई लक्षित गरि खराब पात्रहरूको मात्र चारित्रीकरण गरिनुका साथै समृद्धिका लागि गरिएको परिवर्तनपछि त झनै विषम परिस्थिति, अशान्ति र अभावग्रस्त भइ अस्त व्यस्त अलपत्र रहेको समसामयिक यथार्थता छर्लंग्याइएको छ । उपन्यासले देश जनता र शान्तिलाई शिरमा राखी मुलुकको अवस्था, व्यवस्था, सरकार, राजनीति, पार्टी, नेता, कार्यकर्ता, प्रशासन, भष्ट्राचारसँगै शिक्षा, स्वास्थ, न्याय, सामाजिकीकरण, पत्रकारिता एवं मानव अधिकार लगायतका क्षेत्रमा समेत देखिएका कुकृत्यहरूको भण्डाफोर गर्नुका साथै उपन्यासले तपाईं हामी सबैलाई ठाउँ –ठाउँमा न·याएको छ । कथनात्मक शैलीमा देशको समसामयिक परिस्थिति मानवीय पात्रको रूपमा आउनु, असल र खराब सहितको जीवनको संयोग देखाउनु, जीवनका दैनन्दीनीहरूलाई कथा र उपकथा बनाइ औपन्यासिकरण गर्नु, राष्ट्रिय राजनीतिका घटनाक्रम र पात्रहरूलाई सामाजिकीकरण गरी प्रस्तुत गर्नु,राजनैतिक पात्रहरूलाई कुटनैतिक ढंगले दह्रो प्रहनर गर्नु , बिम्ब प्रतीक र अलङ्कारको प्रयोग गरि नाटकीय शैलीमा पात्रहरूलाई उपस्थित गराउनुका साथै कौतुहलतापूर्ण ढंगले कुपात्रलाई सुपात्रको रूपमा रूपान्तरित गराउदै कथालाई वियोगान्त बनाई टुङ्गायाउनु उपन्यासभित्रका लेखकीय वैशिष्ट्यताहरू हुन् । बहुमुखी प्रतिभाका धनी, विविध क्षेत्रका धनी, स्पष्टवक्ता,निडर र संघर्षशील पत्रकार , सचेत राजनीतिक विश्लेषक, सिद्धहस्त लेखक साहित्यकार पुरूषोत्तम दाहालद्वारा लिखित उपन्यास कालपात्रका प्रत्येक पात्रका कथाहरू जान्नका लागि म स्रष्टा एवं द्रष्टाहरू सबैलाई “कालपात्र ” नै अध्ययन गर्न अनुरोध गर्दछु । उपन्यासको निष्कर्ष वर्तमान नेपालको तितो सत्य र कटु यथार्थ हुनुका साथै आ–आफ्नो अनुहारसहितको चारित्रीकरण यसै भित्र रहेकोले उपन्यास “कालपात्र” एकपटक सबैले किनेर, मागेर या खोजेर भएपनि पढ्नु पर्दछ । अन्तमा दाहालको पहिलो उपन्यास “शान्ता” जस्तै दोस्रो उपन्यास “कालपात्र” पनि धेरैभन्दा धेरै पटक संस्करण भई पाठकको मन जित्न सफल रहोस् । पठनीय, महनीय, विलोकनीय,उदाहरणीय एवं संग्रहणीय कृति प्रकाशन गर्नु हुने बरिष्ठ साहित्यकार÷पत्रकार पुरूषोत्तम दाहालज्यूका बाँकी जीवन कालजयी लेखनमय बनिरहोस् – शुभकामना !
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष तथा पाल्पाका स्थापित साहित्यकार समेत हुन् ।)