यतिबेला नेपालीहरुको दोस्रो महान् चाड तिहार नेपालीहरुको घर आँगनमा भित्रिसकेको छ । हिन्दु नेपाली दिदीबहिनी दाजुभाइ तिहारको तयारीमा जुटिसकेका छन् । आँगनमा ढकमक्क फुलेका मखमली र सयपत्रीले तिहारको उमंग थपिसकेको छ । कात्तिक कृष्ण त्रयोदशी दिनदेखि सुरु भएको यो पर्व पाँच दिनसम्म मनाइन्छ । कात्तिक शुक्ल पक्षको द्धितीयामा भाइटिका लगाएपछि तिहार सम्पन्न हुन्छ । हिन्दु धर्मशास्त्रले तिहारको पाँच दिनलाई यमपञ्चकको रुपमा व्याख्या पनि गर्छ । काग, कुकुर, गाई–गोरु आदिको पूजा गरी जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रुपमा लिइने यस तिहार पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको हुन्छ । साथै दाजुभाइ–दिदीबहिनीको सुमधुर स्नेहलाई बलियो बनाउन पनि यस चाडले विशेष भूमिका निभाएको हुन्छ ।
सेलरोटी खाइनु, दसैँ जस्तै पिङ खेल्नु, मिठाइ खानु आदि यो पर्वका विशेषता हुन । त्यसबाहेक यो पर्वमा देउसी र भैली पनि खेलिन्छ । विशेषगरी नाचगान गर्दै खेलिने देउसी भैली तिहारको अरू चाडभन्दा पृथक विशेषता हो । यसलाई उज्यालोको पर्व पनि भनिन्छ । आफ्ना दिदीबहिनीसँग लगाइने टीका र गरिने दीर्घायु तथा समृद्धिको कामनाले दिदीबहिनी तथा दाजुभाइबीचको सम्बन्ध प्रगाढ बनाउन सघाउ पु¥याउँछ । यसर्थ पनि तिहारको सामाजिक र भावनात्मक महत्व बढी छ । भाइ पूजामा प्रयोग गरिने सप्तरंगी टीका, मखमली माला लगायतका सामग्री दीर्घायु र सुस्वास्थ्यका प्रतिक मानिन्छन् । भाइटीकाका क्रममा प्रयोग गरिने ओखर, तिल, तेलको घेराले भने दीर्घ जीवनको प्रतिनिधित्व गर्छन् जसका कारण यी सामग्रीलाई दीर्घायु र स्थायित्वका प्रतिकका रूपमा लिने गरिन्छ । तिहारमा जुवातास खेल्ने, देउसी–भैलोको नाममा जबरजस्ती रकम असुल्ने, मादकपदार्थ सेवन गरी होहल्ला मच्चाउने, गुन्डागर्दी गर्ने, क्षति पुग्ने गरी पटका पड्काउनेजस्ता विकृति भने बढ्दो छ । यो अत्यन्त दुखद् हो । यस्ता गतिविधिहरुलाई नियन्त्रण गर्न आवश्यक छ । पर्वलाई जमघट हुने, एकापसमा मित्रता नवीकरण गर्ने, गुम्सेको मन फुकाउने र Þदयलाई फराकिलो बनाउने अवसरका रूपमा परिणत गर्न सक्नुपर्छ । यसर्थ तिहार पर्वले एकापसमा आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भातृत्व र सहिष्णुता प्रदान गर्न सकोस्, सबैमा खुसीयाली, उमङ्ग छाओस्, समस्त नेपाली दाजुभाइ–दिदीबहिनीहरुमा सुमधुर स्नेहभावसहित उन्नति–प्रगतिको कामना । साथै हाम्रा पाठक एवं ग्राहकवर्ग, विज्ञापनदातासहित समस्त शुभचिन्तकहरुमा हार्दिक शुभकामना ¤

