Shittalpati
आज युगकविको सम्झना गरिँदै

पाल्पा, युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्म जयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म भएको थियो । उनको जन्म जयन्तीको अवसरमा श्रेष्ठको योगदान सम्झना गर्दै जन्म जयन्ती मनाउन लागिएको हो ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि विविध साहित्यिक कार्यक्रम गरेर सिद्धिचरणको जन्म जयन्ती बनाउन लागिएको हो । युगकवि नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । उनी नेपाल भाषामा कविरत्नका रुपमा पनि चिनिन्थे । उनले आफ्नो जीवनको साढे छ दशक साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरणलगायत विधामा सफलतापूर्वक कलम चलाएका थिए । उनका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायत मर्मस्पर्शी रचना सर्वाधिक चर्चामा छन् । उनीका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायत कृति छन् । युगकविको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update