Shittalpati
मिडिया कमजोर भए लोकतन्त्र  कमजोर हुन्छ : पत्रकार शर्मा 

पाल्पा, वरिष्ठ पत्रकार एवं पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष मेघराज शर्माले  मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ११ औं अधिवेशनलाई सोमबार तानसेनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
पत्रकार शर्माले मिडिया तथा सञ्चार माध्यम बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताए ।  उनले भने ‘अहिले मिडियाहरु दिनहुँ बन्द हुँदै गएका छन्, मिडिया बन्द भएपछि पत्रकारहरु विस्थापित हुँदै गएका छन् , पत्रकारहरु नै नभएपछि लोकतन्त्र नै कमजोर हुँदै जाने परिस्थति सिर्जना भएको छ ।’ शर्माले स्थानीय, प्रदेश र केन्द्रिय सरकारले मिडियालाई बलियो बनाउने गरी नीतिगत रुपमा कार्यक्रमहरु ल्याउनु पर्ने, समानुपातिक विज्ञापन प्रणाली लागु गर्नुपर्नेमा जोड दिए । अधिवेशनमा सचिव यज्ञमुर्ति तिमिल्सीनाको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष मुक्ति न्यौपानेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी तथा शाखा सल्लाहकारद्वय गोविन्द भट्टराई, झपेन्द्र गहिरे, सल्लाहकार राजेश कुमार अर्याल, कमलराज तिमिल्सीना लगायतले महासंघले आफ्ना सदस्यहरुको हकहितमा काम गर्नुपर्ने र सदस्यहरुले पनि महासंघ प्रति जिम्मेवार भएर काम गर्नुपर्ने बताए । कार्यक्रममा महासंघका केन्द्रिय परिषद सदस्य गीता ज्ञवाली, प्रदेश सदस्य मिलन विश्वकर्मा, नवजनचेतना दैनिकका प्रधान सम्पादक जगदीश भट्टराई, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की, नेपाल प्रेस युनियन पाल्पाका सभापति मन गहिरे, समाजवादी प्रेस संगठनका अध्यक्ष पदम गैरे, लगायतले पत्रकारिता पेशा दिनहुँ संकटमा पर्दै गएको, राज्यबाट सहयोग नपाएको, खोज पत्रकारिता हराउँदै गएको, चाकडी पत्रकारिताको विकास भएकोमा चिन्ता व्यक्त गरे ।

महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत, सचिव यज्ञमुर्ति तिमिल्सीनाको सञ्चालनमा कार्यक्रम भएको थियो । अधिवेशन अन्तर्गत जिल्ला, प्रदेश र केन्द्रको नयाँ नेतृत्वको लागि यही जेठ २६ गते महासंघको निर्वाचन हुने कार्यतालिका रहेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update