Shittalpati
गुल्मीको खज्याङमा तटबन्ध नबन्दा बाढीको त्रास

गुल्मी, आजभोलि पानी पर्दा पनि खोलामा बाढी आउने को कि भन्ने चिन्ता लाग्छ गुल्मी दरबार गाउँपालिका –५ खज्याङ खोला किनारकी बविता सोमरेलाई । रात परेपछि ढुक्कले निदाउन सक्दिनन् उनी । ‘पानी पर्‍यो कि मन सिरिङ हुन्छ । बाँध बाँधिदिएदेखि ढुक्कले बस्न हुन्थ्यो । बर्खा लाग्न थाल्यो बाँध बनेन’ उनले भनिन्, ‘दिन त जसोतसो कटाइन्छ । रात परेपछि चिन्ताले निद्रा पर्दैन । राति बाढी आयो भने कसरी भाग्ने ?’ खोला हाम्रो घरमै पस्छ,’ सोमरेले भनिन् । बाढी आउने चिन्ता त छर्दै छ, खानेपानीको समस्या पनि उस्तै रहेको उनले बताईन् । सोमरेले भनिन् ‘हामीलाई खानेपानीको समस्या छ । सबैतिर अनुरोध गरियो । हाम्रो गुनासो र मागलाई कसैले पनि सुनेनन् ।’ गाउँपालिका अध्यक्षले यो वर्ष माथिबाट बजेट पार्छौ भन्नु भएको हुँदा केही आशा भने जागेको उनको भनाई छ ।

गत वर्षको बाढीले स्थानीय थानिश्वर भण्डारीको घरमा क्षति पुग्यो । घर छियाछिया बनाएको छ । तर, टालटुल गर्नेसम्म उनको सार्मथ्य छैन । टबन्धको अभाव हुँदा घर नै डुबानमा पर्ने गरेको भण्डारीको गुनासो छ । ‘बर्षा शुरु हुने समय भयो, अब पानी परे घर छोडेर पखेरातिर दौड्नुपर्छ’ भण्डारीले भने । उनले तटबन्दसँगै खानेपानीको पनि उस्तै समस्या भोग्नु परेको गुनासो गरे । भण्डारीले भने ‘मान्छेलाई त पानी खान छैन ,पशुचौपायालाई कहाँ हुनु ।’ उनले खेती गरेर पनि खाना पाइन्छ कि पाइदैन भन्ने चिन्तै चिन्तामा बस्नु परेको बताए । ‘पोहोर साल खेती राम्रै भएको थियो तर बस्ती नै डुबानमा पर्‍यो,’ उनले भने ।  खोला नजिकै भए पनि तटबन्धको सुविधा नहुँदा यो समस्याबाट गुज्रिनुपरेको उनको भनाइ छ । ‘हाम्रो दुःख सरकारलाई के थाहा ? अहिलेसम्म कसैले केही गरिदिएको छैन,’ भण्डारीले भने । उनी खोलामा स्थायी तटबन्ध र खानेपानीको सुविधा भए आफूहरूको धेरै समस्या समाधान भएर जाने दाबी गर्छन् । ‘चुनावमा नेताहरू तटबन्ध गरिदिन्छौँ ।

गरिबलाई घर बनाइदिन्छौँ भन्दै आउँछन्,’ लक्ष्मी भण्डारीले भनिन्, ‘चुनाव सकिएपछि बस्तीमा फर्किएर आउँदैनन् । गरिबको कोही नहुने रहेछ ।’ उनले खोला भए पनि सिँचाई नहुँदा खेतीपाती समेत नहुने बताईन् । भण्डारीले भनिन् ‘केही वर्ष अघि बाढी आउँदा गाडीका गाडी नेता, सिडियो, पुलिस आए । त्यसपछि त फर्किएर पनि आएनन् । हामीलाई केही दिनुपर्दैन । यो बाँध मात्र बाँधिदिए हामी आफैँ जनतन गरेर खाने थियौँ।’ भण्डारी र सोमरे त केही प्रतिनिधि पात्र मात्रै हुन । गुल्मी र सुदुरपुर्व अर्घाखाँचीको पुछारमा रहेको खज्र्या· खोलाकिनारमा बसोवास र खेती गर्ने २ सय मोही किसानहरुको समस्या पनि उस्तै छ ।

आकाशमा बादल लागेर गड्यागुडुङ आवाज सुनिनेबित्तिकै यहाँका स्थानीयहरुको निद्रा हराउँछ । वर्षा भएपछि जुनसुकै बेला खोला बाढी आएर घरबार बगाएर लान्छ भन्ने पिरले उनीहरु दिक्क छन् । दुमै खोला खज्याङ र केदुवाखोलामा बाढी नियन्त्रणका लागि तटबन्ध बनाउन सरकारी निकायले चासो नदेखाउँदा खोला किनारका नागरिकहरुलाई वर्षेनी बाढीले पिरोल्ने गरेको छ । बस्तीसँगै टाँसिएर बग्ने खोलामा स्थायी पक्की तटबन्ध नहुँदा बर्सेनि यहाँको वस्ती डुबानमा पर्ने गरेको छ । वर्षात्को तीन महिना बस्तीका कोही पनि राम्ररी निदाउन पाउँदैनन् । बालबच्चा र वृद्धवृद्धा भएको परिवार त दिउँसै आकाशको भाव बुझेर पखेरातिर जानुपर्ने बाध्यता छ । उनीहरुले तटबन्धसँगै सिचाँई र खानेपानीको समेत चरम अभाव झेल्नु परेको छ । समस्याका विषयमा पटक–पटक सम्बन्धित निकायसँग बजेट विनियोजनका लागि आग्रह गर्दैै आएको पनि कही कतैबाट सम्बोधन नभएको स्थानीय समाजसेवी हरि कंडेलले बताए । स्थानीय गौरी शंकर टोल विकास समितिका अध्यक्ष अग्निधर कंडेलका अनुसार बस्ती अत्यन्त जोखिम रहेकाले तटबन्ध निर्माणमा सरकारी निकाय गम्भीर बन्नुपर्ने छ । गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले भने तटबन्धको लागि डिपिआर तयार गरेर प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरेको बताए । स्थानीय सरकारको न्युन बजेटले छेउ टुप्पो पनि नलाग्ने भएका कारण प्रदेश र केन्द्र सरकारसँग अनुरोध गरेको तर अहिलेसम्म पनि सुनुवाई हुन नसेकको उनको गुनासो छ । अध्यक्ष थापाले  भने ‘यो पटक बजेट विनियोजन हुने कुरामा भने विश्वस्त छौं ।’ पालिकाको तर्फबाट साना तिना काम गरे पनि ठूूलो र मंहगा कामका लागि संघ र प्रदेश नै ताक्नुपर्ने उनको भनाई छ । पालिकाको बजेटले नधान्ने भएका कारण कार्यपालिकाको निर्णय, लागत स्टिमेट समेत बनाएर केन्द्र र प्रदेशलाई पटक–पटक पठाउँदा पनि वास्तै नगरेको उपाध्यक्ष तारा ढेंगाको गुनासो छ । वडा अध्यक्ष गुणनीधि पौडेलले पनि खोला किनारका नागरिकको समस्याप्रति आफु पनि निकै चिन्तित रहेको बताए । तटबन्ध निर्माणका लागि केन्द्रीय सरकारले नै ध्यान दिनुपर्ने उनको भनाई छ ।

भू–तथा जलाधार व्यवस्थापन कार्यालय अर्घाखाँचीका प्रमुख शम्भु झाले केन्द्रबाट आउने बजेटको सिलिङ सिमित क्षेत्र तोकेर आउने भएकाले गुल्मीतर्फको खज्र्याङ क्षेत्रमा तटबन्ध निर्माण गर्न नसकिको बताए । उनले भने ‘केन्द्रबाट ठाउँ तोकेर आउने र प्रदेशबाट आउने बजेट अत्यन्त कम हुँदा तीन जिल्लाका लागि छुट्याउनुपर्दा केही महत्वपूर्ण क्षेत्रहरुमा काम हुन सकेको छैन ।’ आगामी बजेटमा तटबन्ध निर्माणका लागि पहल गर्ने झाको भनाई छ । खानेपानीको व्यवस्थापनको जिम्मेवारी पाएको खानेपानी डिभिजन कार्यालय गुल्मी खज्याङ खानेपानी समस्याका बारेमा अनविज्ञ रहेको पाइन्छ । कार्यालय प्रमुख अनोज उपाध्यायले त्यहाँको वस्तुस्थितीका बारेमा आफुलाई जानकारी नभएको बताए । उनले भने‘ यहाँहरुले भनेपछि मात्र थाहा भयो, यदि समस्या रहेको हो भने उपभोक्ता समितिमार्फत निवेदन आएमा तत्काल समाधानका लागि पहल गर्ने छु ।’

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update