Shittalpati
दोस्रो चरणको राहत बाड्न नगर सरकारलाई काँग्रेसको आग्रह

पाल्पा । नेपाली काँग्रेस तानसेन नगर समितिले दोस्रो चरणको राहत वितरण गर्न तानसेन नगर सरकारलाई आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्दै आएका मजदुरहरुका लागि तत्काल दोस्रो चरणको राहत वितरण गर्न नगर सरकारलाई काँग्रेसले आग्रह गरेको हो । काँग्रेसले विहिबार तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीलाई दोस्रो चरणको राहत वितरण तत्काल अगाडि बढाउन भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

पहिलो चरणको राहत वितरण गरिसकेको नगरपालिकाले दोस्रो चरणको वितरणमा ढिलाई गरेको भन्दै काँग्रेसले तत्काल वितरण गर्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड१९) बाटो जोगिन सरकारले गरेको लकडाउनको समय लम्बिदै जाँदा विहान साँझ श्रम गरी दैनिक ज्यालादारीमा काम गरेर गुजारा गर्ने नागरिक, कृषक, व्यवसायी, मजदुर समस्यामा परेको भन्दै काँग्रेसले तत्काल दोस्रो चरणको राहत वितरण गर्न नगरपालिकाकोे ध्यानाकर्षण गराएको छ ।

काँग्रेसले छिमेकी जिल्लाहरुमा संक्रमण फैलिदै गएपछि जिल्ला प्रवेश गर्ने नाकाहरूमा थप कडाई गर्नुपर्ने,नगर भित्र खाद्यान्न, तरकारी, औषधि लगायतको आपूर्ति सहज, सुलभ बनाउनुपर्ने,शिक्षा क्षेत्रमा देखिएको अन्योलता अन्त्य गर्न सरोकारवालाहरूसँग छलफल गरेर आगामी रणनीति तय गर्र्नुपर्ने, नियमित औषधि सेवन गर्दै आएका दिर्घ रोगिहरूले सेवन गर्ने औषधिको सहज आपूर्तिको व्यवस्था मिलाउनुपर्ने लगायतका कुराहरुमा जोड दिएको छ । नेपाली काँग्रेसले जिल्ला सचिव झपेन्द्र गहिरे, महासमिति सदस्य हिमालदत्त श्रेष्ठ, पार्टीका नगर समितिका कोषाध्यक्ष रूपेश महजर्न लगायतको उपस्थितीमा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update