Shittalpati
रैनादेवी छहरा गाउँपालिकाको सेवा मोबाइल एप्सबाट

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि मोबाइल एप्सबाट सेवा प्रदान गर्न थालेको छ । 

गाउँपालिकाले प्रदान गर्दै आएका हरेक किसिमका सेवा सुविधाहरुलाई अनलाईनमार्फत डिजिटल प्रविधीमा सेवाग्राहीले घर–घरमै पाउने गरी मोबाइल एप्सको सुरुवात गरेको हो । सेवाको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले शुभारम्भ गरे । एप्लिकेशनबाट तत्काल सेवाग्राहीले गाउँपालिका तथा वडाका सम्पूर्ण सूचना, जानकारी प्राप्त गर्न सक्ने छन । पालिकाले प्रदान गर्दै आएको सेवा प्रवाहको बारेमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरूलाई प्रत्यक्ष रूपमा सुझाव र गुनासो राख्न सक्ने व्यवस्था गरिएको पालिका अध्यक्ष भट्टराईले बताए । एप्लिकेशनमा आपतकालीन सेवा, प्रहरी, एम्बुलेन्स सम्बन्धी जानकारी तथा सम्पर्क नम्वरहरु राखिएको छ । सो एप्समा गाउँपालिकाले निर्माण गरेका कानुनहरू तथा प्रकाशन गरिएका प्रतिवेदनहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको उपाध्यक्ष युवराज थापाले बताए । 

सोमबारदेखी सञ्चालनमा आएको पालिका एप्समा  गाउँपालिकाको नागरिक वडापत्र तथा सेवाहरूको विवरण प्राप्त गर्न सकिने छ । गाउँपालिका भित्रका विद्यालय तथा स्वास्थ्य चौकीहरू सम्बन्धी जानकारी प्राप्त गर्न सकिने छ । यस एप्सलाई आगामी दिनहरूमा गाउँपालिकाबाट प्रदान गरिने सेवाहरूलाई सूचना प्रविधि मैत्री बनाई अनलाइन माध्यमबाट सेवा प्रवाह हुने गरी विस्तार गरिनेछ ।

यो एप एक हप्तापछि गुगल प्ले स्टोरमा उपलब्ध हुनेछ ।  एप्लिकेशनमा आएका सुझाव गुनासाहरुलाई तत्काल कार्यान्वयनको व्यबस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सीनाले बताए । पालिकाले एप्सलाई व्यस्थित रुपमा सञ्चालन गर्ने रैनादेवी छहराका जनताको हात, हातमा पालिकाको सूचना गतिविधी पुर्‍याउने गरी डिजाईन गरिएको सूचना अधिकारी नारायण मल्लले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update