Shittalpati
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा

पाल्पा, लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै १५ दिनमै जसपा सरकारबाट बाहिरिएको हो ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री थिए । गत चैत २५ गते माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको सरकारमा अहिर सहभागी भएका थिए । तर, जसपाको प्रदेश समिति बैठकको निर्णयसँगै उनको मन्त्री पद गुमेको छ । मन्त्री भण्डारीले पार्टीले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिएका हुन् । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको स्रोतले जनाएको छ । सोही निर्णयका आधारमा मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आइतबार मात्र सार्वजनिक भएको हो । उनले मुख्यमन्त्री महराले गत चैत २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) वमोजिम राजीनामा दिएको उल्लेख गरेका छन् । अहिरले वैशाख ६ गते कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाएका थिए । सरकार गठनका क्रममा सरकारलाई समर्थन गरेका दलबीच भएको सझौताअनुसार जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सझौता भएको थियो । प्रदेशसभामा तीन जना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ । 

संघीय सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री भएकाले पनि जसपाले समर्थन कायम राखेको हो । यद्यपी जसपाले अहिलेका लागि सरकारबाट मात्र बाहिरिएको तर सहमति पालना नगरे सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने चेतवानी दिएको छ । मुख्यमन्त्री महराले लुम्बिनी प्रदेशका ५ दलका ४७ र एक स्वतन्त्रसहित ४८ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । महरा एमालेका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एकिकृत समाजवादीका १ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले सरकार जोगाउन मन्त्रालयको संख्या बढाएर ११ पुर्‍याएका छन् । यस अघि १० मन्त्रालय मात्र थिए । मुख्यमन्त्रीमा समर्थन जुटाउँदा महरासहित लुम्बिनीका नेताले गरेको ७ बुँदे लिखित सहमति कार्यान्वयन नगरे मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने चेतावनीपछि महरा मन्त्रालय बढाउन बाध्य भएका थिए । जसपाले दुई मन्त्रालय माग गर्दै आए पनि अहिलेसम्म नपाएपछि सरकारबाटै बाहिरिन पुगेको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update