Shittalpati
सुनको भाउ उच्च, तोलाकै एक लाख ३६ हजार दुई सय

पाल्पा, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा  छ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन बढेर  एक लाख ३६ हजार दुई सय कायम भएको हो । तेजाबी सुन तोलामा  एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा  एक हजार छ सय ७० मा कारोबार भएको चाँदी बढेर  एक हजार छ सय ८५ निर्धारण भएको छ ।

सुनको भाउले यतिबेला विश्व बजार नै तातेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ ।

यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । नेपालमा हाल दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था छ । वैदेशिक रोजगारमा रहेकाले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update