Shittalpati
राजनीतिक नेतृत्वमा नैतिकताको प्रश्न

राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनमा पक्का लगायतका गुणको अपेक्षा राखिन्छ । तर, नेपालको पछिल्लो राजनीतिक परिदृश्य नियाल्ने हो भने अपवाद बाहेक धेरै जसो नेताहरुमा ति गुणहरु भेटाउन मुस्किल नै छ । हामी यी कुराको पुष्टाई गर्न धेरै पर जानुपर्दैन । चुनावको अवधिमा जनता र राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्ने भन्दै भाषण र घोषणा पत्रमा प्रतिवद्धता व्यक्त गर्ने नेपालका राजनीतिक दलका नेतृत्वहरुमा जब चुनाव सकिन्छ, ति वाचा विर्सर्ने गर्दछन् । चुनाव हारुन् वा जितुन् तर बोली, व्यवहार र कार्य शैलीलाई छेपारोले र· फेरे झै फेर्ने गरेको अनुभव र अनुभुति नेपाली जनताले गरेका छन् । हुन् पनि गणतान्त्रिक साशन व्यवस्थाको अभ्यास करीब दुई दशकको अवधिमा जनता र देशको सेवाका लागि राजनीति गरेका हौं, साशन सञ्चालन गरेका हौं भन्ने राजनीतिक दलका नेतृत्वले नैतिकता, इमान्दारीता र राजनीतिक संस्कार क्रमशः गुमाउदै गएको कुरामा दुईमत रहँदैन । राजनैतिक नेतृत्वले आफ्नो नैतिकता र इमान्दारिता मात्रै होइन जनताबाट पाउने सहानुभूति, साथ, आस्था र विश्वास पनि यहि कारण गुमाउदै गएको देखिन्छ । जसको कारण राजनीतिक दल, तीनका नेतृत्व प्रति आम जनतामा निराशा, असन्तुष्टि तथा आलोचना व्यक्त गर्ने गरेको देखिन्छ । किन नेपालको राजनीतिक नेतृत्व र राजनैतिक दलमा पछिल्लो समय उनीहरुको नैतिकता माथि प्रश्न उत्पन्न भै रहेको होला ? यीनै विषयमा केन्द्रीत रहेर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ । 

पुरा विश्व, देश, समाज तथा घरपरिवार एक अर्काको नैतिकता र विश्वासमा अडिएको छ ।  नैतिकताले नीति र सिद्धान्तलाई जोड दिने गर्दछ । तर आज भोली विशेष गरेर नेपालको राजनीतिक नेतृत्वले भाषणमा चर्को रुपमा नैतिकता र नैतिक शिक्षाको कुरा गरेता पनि व्यवहार भने यस विपरित गरेको देखिन्छ । जनताको साशन व्यवस्था मानिने गणतन्त्र र यसैको लागि दश वर्षे कहाली लाग्दो जनयुद्व गरेको नेकपा माओवादी देशमा राजनीतिक अस्थिरमा उत्पन्न गराउनमा अग्रपंक्तिमा रहेको देखिन्छ भने अन्य दलहरु पनि सत्ता प्राप्ति र स्वार्थ परिपूर्तीका लागि नैतिकता क्रमशः गुमाउदै लगेको देखिन्छ । फरक–फरक साशन व्यवस्था र फरक–फरक राजनीतिक दललाई विकास र दैनीकी सुधार हुने आशामा सत्ताको नेतृत्वमा पु¥याएका जनताले परिमाणमा निराशा मात्रै प्राप्त गरेको देखिन्छ । पछिल्लो समय त राजनीतिक दलहरु सत्ताको घिन लाग्दो खेलमा चुलुम्म डुब्ने गरी लागेका छन् । पछिल्लो १५ महिनामा नेकपा माओवादी र प्रचण्डको स्वार्थका कारण तीन बटा सरकारहरु परिवर्तन भैसकेको र देशमा राजनैतिक अस्थिरता मौलाउदै गएको देखिन्छ । देश र जनताका लागि जनयुद्व लडेको र गणतन्त्र पछिका उपलब्धिलाई आफ्नै कारण प्राप्त भएको भन्ने प्रचण्डबाट नै राजनैतिक अस्थिरता र नैतिकता गुमाउने कार्यमा अग्रपंक्तिमा आउने गरेको देखिन्छ ।  यस कार्यमा पुराना राजनैतिक दल काम छैनन् भन्दै खुलेका नयाँ दल पनि झनै अगाडि आएको देखिन्छ । जसमा विकास र सुशासनको चर्को नारा लगाउने राष्ट्रिय स्वतन्त्र पार्टी र तीनका अध्यक्ष अगाडि नै देखिनुले जनता भन्दै छन् नयाँ भन्नेहरु पनि  नयाँ बोतलको पुरानो रक्सी जस्तै रहेछन् ।

किन नैतिकता गुमाउँदैछन् त राजनीतिक दलहरु ?
पुराना र आफुलाई स्थापित राजनैतिक दल र नेतृत्व भन्नेका  त कुरै नगरांै ।  आफुलाई विशिष्ट राजनीतिक दलको नेता मान्य, फरक शैलीको दलको नेता मान्यहरु पनि स्थापनाको छोटो समयमै राजनैतिक नैतिकता र संस्कार गुमाउने र राजनैतिक अस्थिरता ल्याउने कार्यमा अग्रपक्तिमा रहेको देखिन्छ । किन राजनैतिक दलका नेतृत्वहरु नैतिकता र जनताबाट विश्वास र आस्था गुमाउदैछन् । यहाँ केहि पक्षलाई उल्लेख  गर्ने प्रयास गरिएको छ ।

विगतको भ्रष्टाचार र बेथितिबाट बच्न :
पछिल्लो समय नयाँ पुराना राजनीतिक दलहरु सत्ताबाट बाहिर बस्न नै नसक्ने अवस्थामा पुगेको देखिन्छ । सत्ता प्राप्तिका लागि जुनसुकै किसिमको हर्कत गर्न पनि पछि नपर्ने गरेको देखिन्छ । उनीहरु नैतिकता र इमान्दारीता गुमाउँदै सत्ता प्राप्ति र सत्ताबाट बाहिर जान नपर्नै खेलमा लागि रहेको देखिन्छ । यसको एउटा कारण हो हरेक दलका मुख्य नेतृत्वले कुनै न कुनै भ्रष्टाचार र बेथितिको कार्य गरेको र सत्ता बाहिर हुने बित्तिकै सरकारको कारवाहीमा परिने, छानविन हुने, राजनीति समाप्त हुने, जेल जानुपर्ने डर र त्रास यिनीहरुमा भरिएको छ । यसका साथै यस्तै कार्यमा संलग्न भएका आफ्ना नजिकका आसेपासे, डन, चम्चेलाई बचाउनका लागि पनि नैतिकता र इमान्दारिता गुमाउदै सरकार र शक्तिमा जानुपर्ने, बस्नु पर्ने उनीहरुको मुख्य उद्देश्य देखिन्छ ।

चुनावी खर्च व्यवस्थापनको आधार :
पछिल्लो समय राजनैतिक दलहरुले चुनाव परिणामलाई आफ्नो पक्षमा पार्नका लागि जस्तो सुकै हर्कत गर्न पनि पछि नपर्ने गरेको सुनिन्छ, देखिन्छ । यसका लागि करोडौ रकम खर्च गर्ने गरेको पाईन्छ । यसरी गरिएको खर्च उठाउने आधार सरकार रहेको र सरकारमा जाने, मन्त्री हुने विभिन्न गैर कानुनी क्रियाकलाहरु गरेर रकम जम्मा गर्नका लागि नै जस्तोसुकै नैतिकता गुमाएर, लाज पचाएर गठबन्धन बनाउने, फेर्ने गरेको देखिन्छ । एउटै उद्देश्य जनताको दैनिकी र जीवनस्तर सुधारको लागि नभएर पार्टी र आफ्नो लागि आगामी चुनाव खर्च जुटाउनु रहेको देखिन्छ ।

बजेटको दुरुपयोग गर्न पाईने :
नैतिकता गुमाउादै, जनताका बीचमा  अलोप्रीय भएता पनि जुनसुकै कार्य र हर्कत गर्न पछि नपर्ने हाम्रा राजनैतिक दलका नेतृत्व भएको देखिन्छ । यसका लागि उनीहरुको पहिलो प्राथमिकता सरकार नै देखिन्छ । सरकारमा रहे पछि सरकारको बजेटलाई आफ्नो निजी जस्तै गरी प्रयोग गर्न पाईन्छ । रातारात बजेटका शिर्षक र कार्यक्रमलाई परिवर्तन गर्न पाईन्छ । असमानुपातिक वितरण गर्दै बजेटको ठूलो अंश आफ्नो क्षेत्र, जिल्लामा लैजान पाईन्छ । कमिशन, आर्थिक प्रलोभनमा करका दरहरुमा, आर्थिक नीतिमा कुनै अदृश्य स्वार्थ समूहको उद्देश्य अनुरुप परिवर्तन गर्न पाइन्छ । यहि स्वार्थका कारण राजनैतिक दल र तीनका नेतृत्वले नैतिकता गुमाउदै गएको देखिन्छ ।

पद र शक्तिको दुरुपयोग :
पछिल्लो समय राजनीतिक दलले सरकारलाई शक्ति प्राप्तिको स्रोतको रुपमा प्रयोग गर्दै, प्राथमिकता राख्ने गरेको पाइन्छ । आसेपासेलाई विभिन्न क्षेत्रहरुमा नियुक्ति गर्न पाइने । देश भित्र र बाहिर राज्यको स्रोतको दोहन गर्दै भ्रमण गर्न पाईने । जता गयो त्यतै सत्ताको आडमा सम्मान पाईने । सरकारलाई शक्ति र आसेपासेलाई अगाडि पछाडी लिएर हिड्ने, राज्यका अंगहरुको दुरुपयोग गर्न पाईने आदि कारणले नैतिकता र राजनैतिक संस्कार गुमाउँदै सत्तामा रहिरहने, सत्तामा पुग्नै पर्ने धारणा विकास भएको देखिन्छ ।

आन्तरिक तथा बाह्य शक्तिमा परिचालित :
नेपाली राजनैतिक नेतृत्वले नैतिकता गुमाउदै जानुको कारणको रुपमा कुनै अदृश्य शक्तिबाट परिचालित, आदेशपालक हुनु पनि रहेको छ । पछिल्लो समय राज्यका हरेक निकाय, सरकारहरुमा आन्तरिक तथा बाह्य स्वार्थ समूहको हस्तक्षेप बढ्दै गएको र राजनीतिक नेतृत्व सत्तामा पुग्न र रहिरहन पालकको रुपमा उपस्थित भएको देखिन्छ । कार्यबाट जनतामा लोकप्रियता गुमोस् तर सिमित वर्गलाई खुशी पार्नका लागि जस्तो सुकै आघात पर्ने खालको काम गर्न र निर्णय गर्न पछि परेको देखिदैन् ।

गुटको स्वार्थ परिपूर्तीका लागि :
एउटै राजनीतिक दलभित्रका विभिन्न गुटको स्वार्थ र उद्देश्य अनुरुपका सल्लाहलाई आत्मसाथ गर्दा  नेपाली राजनीतिक दलका नेतृत्वले नैतिकता र राजनीतिक संस्कारलाई गुमाउदै सरकार परिवर्तन गर्ने, सत्तामा रहिरने, सत्तामा पुग्ने जस्ता कार्यहरु गरेको देखिन्छ ।

निष्कर्ष :
नेपालका राजनैतिक दलका नेतृत्वमा नैतिकता गुमाउँदै जानुले सत्तामा पुग्ने र सत्तामा रहिरहेन पक्षलाई लिन सकिन्छ भने यसको कारणको रुपमा देश र जनता प्राथमिकतामा नपर्नुलाई अग्रपक्तिमा राख्न सकिन्छ । राजनीतिमा सिद्धान्त, नैतिकता र राजनैतिक संस्कार भएन भने तत्काल क्षणिक लाभ प्राप्त भएतापनि दिर्घकालमा भने आफैलाई समाप्त पार्ने भएकोले क्षणिक स्वार्थ परिपूर्तीका लागि जस्तोसुकै अनैतिक कार्य र इमान्दारीताको व्यापार गर्ने प्रवृत्ति आजैबाट राजनैतिक नेतृत्वले हटाउनु पर्ने जरुरी देखिन्छ । यसो भएमा राजनैतिक स्थिरता र स्थिर सरकार जनताले देख्न पाउने थिए की ?

(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update