Shittalpati
लोकदोहोरी प्रतिष्ठानको पाल्पामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण

पाल्पा, जिल्लाको तानसेनमा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजना र प्रतिष्ठान पाल्पा शाखाको सह–आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम भएको हो ।

प्रतिष्ठानका केन्द्रीय पूर्व अध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख दुर्गा रायमाझीले संस्थागत सुशासन र मनोपरामर्शदाता ऋषि न्यौपानेले नेतृत्व विकास र मनोपरामर्शका बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणको प्रतिष्ठानका केन्द्रीय पूर्व अध्यक्ष तथा वरिष्ठ लोक गायक दुर्गा रायमाझीले उद्घाटन गरेका हुन् । प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका रायमाझीले अहिलेको अवस्थामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श आवश्यक रहेको उल्लेख गर्दै प्रतिष्ठान लुम्बिनी प्रदेशले प्रशिक्षण अयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले संस्थालाई विकाससँगै कलाकारहरुको नेतृत्व क्षमताको विकास गर्न प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताए । गायक रायमाझीले लोक, गीत, संगीत पहिचान भएको बताए । उनले विकासका जति सुकै कुरा गरे पनि पहिचान भएन भने त्यसको अर्थ नरहने धारणा व्यक्त गरे । गायक रायमाझीले उदाहरण दिर्दै भने,‘नेपाली र अमेरिकन व्यक्तिको रगत ल्याव टेस्ट गर्दा  कस्तो छ, कुन गू्रप हो भन्न सकिन्छ तर कुन देशको व्यक्ति हो भन्न सकिदैन, ढाका टोपी, दौरासुरुवाल लगाएको  व्यक्ति र टाइ सुट लगाएको व्यक्तिलाई एकै ठाउँमा राख्दा कुन देशको हो भन्न सकिन्छ ,त्यो उसको पहिचानले चिनाउन्छ ।’ गीत, संगीत पनि त्यहि पहिचान भएको उनले उल्लेख गरे । गायक रायमाझीले आर्थिक, राजनीतिक वहसहरु हुने गरे पनि संस्कृतिको वहस कहिल्यै नहुने गरेको बताए । उनले सरकारी तवरबाटै संस्कृतिको वहस हुन जरुरी रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा विशिष्टि अतिथि रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले स्थानीय भाषा, कला, संस्कृतिको संरक्षणमा आफुहरुले विशेष ध्यान दिएको बताए । उनीहरुले कला, संस्कृतिको सरंक्षण गर्ने दायित्व स्थानीय सरकारको समेत रहेकाले आफुहरुले त्यसतर्फ विशेष ध्यान दिएको उल्लेख गरे । प्रतिष्ठानका केन्द्रीय सदस्य दिल्लीनारायण पाण्डेले पाल्पा लोकसंस्कृतिको खानी रहेको भन्दै त्यसको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारको ध्यान जान जरुरी रहेको बताए । उनले प्रतिष्ठानमा जिल्लादेखि प्रदेश र केन्द्रसम्म नै पाल्पाली कलाकारहरु नेतृत्व तहमा रहेको भन्दै आगामी दिनमा अझ पाल्पाको कला संस्कृतिलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउनुपर्नेमा जोड दिए ।

तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जनले प्रतिष्ठानले गीत संगीतका माध्यमबाट स्थानीय, परम्परागत कुराहरुदेखि विकृति विसंगतीका विषय उठान गरेको बताए । उनले कला, संस्कृतिको संरक्षणमा स्थानीय सरकारको खासै ध्यान पुग्न नसकेको उल्लेख गरे । उनले आफु रहेको स्थानीय तहबाट कला संस्कृतिको सरंक्षणका लागि केही गर्ने प्रयास गरेको भन्दै आगामी आर्थिक वर्षमा बजेट नै छुट्याएर कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे । 

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जिल्लाको कलासंस्कृतिको क्षेत्रमा पाल्पा उद्योग वाणिज्य संघले प्रतिष्ठानसँग सहकार्य गर्दै आएको बताए । उनले मेला महोत्सव समेत कलाकारहरुलाई प्राथमिकतामा राखेर आयोजना गर्ने गरेको र प्रतिष्ठानले समेत संघले दिएको जिम्मेवारी कुसलतापूर्व निर्वाह गर्दै आएको धारणा व्यक्त गरे । माथागढी गाउँपालिका–३ का वडा अध्यक्ष तेज घर्तीले  स्थानीय भाषा, कला संस्कृतिको संरक्षणमा आफुहरुले ध्यान दिने बताए । पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्यालले पाल्पाको कलासंस्कृतिसँगै पर्यटनको विकास गर्न जरुरी रहेको बताए । प्रतिष्ठानका प्रेस सल्लाहकार रामचन्द्र रायमाझीले प्रतिष्ठानले संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्शका विषयमा प्रशिक्षण दिएर प्रदेशमै नमूना काम गरेको उल्लेख गरे । 

कार्यक्रम संयोजक तथा प्रतिष्ठान प्रदेशका महिला उपाध्यक्ष चेतना थापाले प्रतिष्ठानलाई जवाफदेही, पारदर्शीता, र प्रतिष्ठानमा आवद्ध कलाकारहरुको नेतृत्व, व्यक्तित्व विकासका लागि कार्यक्रम आयोजना गरिएको बताईन् । प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष दिपु  मगरको अध्यक्षता, प्रतिष्ठान पाल्पा शाखाका अध्यक्ष कमल भट्टराईको स्वागत, प्रतिष्ठान प्रदेशका वरिष्ठ उपाध्यक्ष दामोदर बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रतिष्ठानले प्रदेशका १२ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने गरी अगाडि बढेको छ । प्रशिक्षणको पहिलो कार्यक्रम पाल्पामा गरिएको हो । सोही अवसरमा प्रतिष्ठानले नयाँ वर्ष २०८१ को भित्तेपात्रो समेत विमोचन गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update