Shittalpati
चन्द्रकोट गाउँपालिकाले ९ लाख भन्दा बढी रकमको राहत वितरण

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिकाले ९ लाख भन्दा बढी रकम बराबरको राहत वितरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै गाउँपालिकाले अहिलेसम्म ९ लाख ६४ हजार ७ सय ८० रकम बराबरको राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
कोरोना भाइरसलाई मध्यनजर गर्दै गरिएको लकडाउनले दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने परिवारमा आर्थिक संकटका कारण खाद्यान्न अभाव भएको भन्दै उक्त रकम बराबरको राहत वितरण गरिएको बताईएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रकोप व्यवस्थापनका लागि त्यस गाउँपालिकाले ४० लाख ५० हजारको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । अहिले विपद् व्यवस्थापन कोषमा कुल ३० लाख ७९ हजार ३ सय ६६ रुपैयाँ संकलन गरिएको प्रशासकीय अधिकृत भण्डारीले बताए । उनका अनुसार गाउँपालिकाबाट १४ लाख ६८ हजार १ सय रकामान्तर गरिएको छ । प्रदेश सरकारको १० लाख अनुदान, विभिन्न संघसंस्थाबाट ४ लाख १४ हजार ९ सय १८, विभिन्न व्यक्तिहरुले ५९ हजार ३ सय ९१ रुपैयाँ गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गरेका छन् । त्यस्तै गाउँपालिकाका कर्मचारीहरुबाट १ लाख ३६ हजार ९ सय ५७ रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ । जनप्रतिनिधिहरुले पनि आफुले पाएको सुविधाबाट १५ दिन बराबरको रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने बताईएको छ । गाउँपालिकाले स्थापना गरेको कोषमा विभिन्न संघसंस्था, समाजसेवी लगायतले सहयोग गर्दै आएका छन् ।

पहिलो र दोश्रो चरणमा गाउँपालिकाले ७ सय ४० घरपरिवारका ३ हजार ४७ जनालाई राहत वितरण गरेको छ । पहिलो चरणमा २ सय ११ परिवारका ६ सय ६५ तथा दोश्रो चरणमा ५ सय २९ परिवारका २ हजार ३ सय ८२ जनालाई राहत वितरण गरिएको राहत कोष व्यवस्थापन समितिका सचिव प्रकाश शर्माले जानकारी दिए । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नै आफुहरुले राहत वितरण गरेको शर्माले बताए । लकडाउनका कारण समस्यामा परेका अति विपन्न तथा मजदुरलाई राहत वितरण गरिएको उनले बताए । राहत स्वरुप त्यस गाउँपालिकाले चामल, दाल, नुन, तेल, चिनी, २/२ वटा नुहाउने र कपडा धुने साबुन वितरण गरिएको बताईएको छ ।

गाउँपालिकामा अहिले पाँच जना क्वारेन्टाइनमा रहेका छन् । गाउँपालिकाको वडा २ स्थित एक स्थानीय घरमा बनाईएको क्वारेन्टाइनमा ४ पुरुष र १ महिला रहेका छन् । यस अघि ११ जना पुरुष क्वारेन्टाइनमा बसी घर फर्किएका चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहेका शर्माले जानकारी दिए । उनका अनुसार उनीहरु सबै १४ दिनसम्म क्वारेन्टाइनमा बसी घर फर्किएका छन् । उनीहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा नगेटिभ आएपछि सबैलाई घर पठाईएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update