Shittalpati
काँग्रेसको गृहमन्त्रीमाथि छानबिनको अडान कायमै

पाल्पा, सहकारी ठगी प्रकरणमा मुछिएको आरोपमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अहिले पनि अडान कायमै राखेको छ । काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि तत्काल छानविनको लागि संसदीय समिति गठन गर्न माग गर्दै अडान कायमै राखेको हो 

उसले समिति गठनको माग गर्दै लगातार प्रतिनिधि सभामा विरोध जनाउँदै आएको छ । माग राख्दै यस अघिका प्रतिनिधि सभा बैंठकमा समेत विरोध गर्दै आएको काँग्रेसले आइतबारको प्रतिनिधि सभा बैठकमा समेत कायमै राख्यो । बैंठक सुरू हुनेवित्तकै काँग्रेस सांसदहरूले गृहमन्त्री माथि अनुसन्धान गर्न संसदीय समिति गठनको माग गर्दै संसदमा अवरोध जनाए । कांग्रेस सांसदहरू आ–आफ्नो सिटबाट उठेर अवरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद संजयकुमार गौतमलाई समय दिए । सांसद गौतमले गृहमन्त्री लामिछाने माथि नैतिक र कानुनी प्रश्न उठिसकेकाले उनीमाथि छानबिन हुनुपर्नेमा जोड दिए । ‘हामीले उठाएको यो मुद्दामा सम्पूर्ण संसदको ध्यानाकर्षण गराउन चाहन्छु । सरकार यो प्रति गम्भीर बनोस् । संसदीय छानबिन समिति बनाइयोस् । यो कुरालाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुगोस् । होइन भने यो मुद्दा बारम्बार उठाइरहनेछौं । हामी चाहदैनौं कि संसद अवरुद्ध गरौं । बाध्य भयौं भने पनि त्यो ठाउँमा पुग्नसक्छौं,’ उनले भने । नेता गौतमले लामिछानेका विषयमा प्रधानमन्त्री र प्रहरी प्रमुखहरुले दिएको जवाफले झनै संशय भएको दावी गरे ।

विपक्षीको मागप्रति सत्तापक्षले भने बेवास्ता गर्दै आएको छ । नेपाली काँग्रेसले विवादमा मुछिएका लामिछानेको राजीनामा नआई सदन चल्न नदिने अडान राख्दै आएपनि सत्तारूढ प्रमुख घटक एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने त्यो आवश्यक नभएको अडान राखेका छन् ।

काँग्रेसले उठाएको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा जवाफ दिइसकेका छन् तर, प्रधानमन्त्रीको जवाफबाट काँग्रेस भने रुष्ट बनेको छ । उसले प्रधानमन्त्रीको जवाफ चित्त बुझ्दो नदिएको भन्दै संसदीय छानविन गठनका लागि अडान कायमै राख्दै आएको हो । समिति गठन नभएसम्म सदन चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ । तर, सरकार भने समिति गठन गर्न तयार दैखिदैन । संसदीय छानविन गठन सम्बन्धमा सत्ता र प्रतिपक्षको अडानले जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसद् अनिर्णयको बन्दी बन्ने देखिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update