Shittalpati
प्रदेश पाँचको कोरोना राहत कोषमा १४ करोड जम्मा

बुटवल । प्रदेश पाँच सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा १४ करोड रकम जम्मा भएको छ । प्रदेश सरकारका अनुसार, विभिन्न व्यक्ति, सरकारी तथा गैरसरकारी संघसंस्था, मन्त्रीपरिषद्को कार्यालय लगायतबाट १४ करोड जम्मा भएको हो । आईतबार व्यवसायी कृष्ण शाक्यले प्रदेश सरकारले स्थापना गरेको कोरोना रहात कोषमा दश लाख जम्मा गरेसँगै राहत कोषमा १४ करोड पुगेको प्रदेश सरकारले जनाएको छ । शाक्यले मुख्यमन्त्री शंकर पोखरेललाई सो बराबरको चेक हस्तान्तरण गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

चेक हस्तान्तरण गर्दै भैरहवास्थित तेजभक्त इन्टरनेशनलका सञ्चालक शाक्यले कोरोना महामारी विरुद्ध सबै मिलेर अघि बढ्दा मात्रै सफल हुन सकिने बताए । कोषमा प्रदेश सरकारको दश करोड, वित्तीय संघ संस्थाहरुबाट १ करोड ५ लाख ५० हजार समेत सहयोग भएको छ । सो कोषको रकम कोरोना उपचारमा खर्च भइरहेको छ । प्रदेश सरकारले चार कोरोना अस्पताल बनाएर कोरोना संक्रमितको उपचार गरिरहेको छ । उक्त कोषमा सर्वसाधारणले मोबाईल बैंकि· मार्फत १ सय रुपैयाँदेखि २५ लाख पचाँस हजारसम्म जम्मा गरेको देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update