Shittalpati
पर्यटकीय क्षेत्र बन्दै राम्चे सामुदायिक वन

तानसेन । पाल्पाको रामपुरस्थित राम्चे सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिँदै छ । प्रदेश पाँच सरकारको सहयोगमा पाँच वर्षसम्म सकिने गरी वनमा पर्यकटीय पूर्वाधार निर्माणको काम भइरहेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका समयमा सामाजिक दूरी कायम गरी कामलाई निरन्तरता दिइएको राम्चे सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । कालीगण्डकी नदीबाट करीब पाँच सय मिटर उचाइमा रहेको रामपुर उपत्यकाको दक्षिणमा अवस्थित वन ९९ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनको पाँच हेक्टर क्षेत्रफललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने काम भइरहेको छ । चितुवा, मृग, कालिजलगायत वन्यजन्तु र महत्वपूर्ण जडीबुटीसमेत पाउन सकिने वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रदेश सरकारले ५० लाख विनियोजन गरेको प्रदेशसभाका सदस्य युवराज खनालले जानकारी दिए । करीब दुई दशक पहिले वनभोजस्थल निर्माण गरिएको राम्चे वनमा दृश्यावलोकनस्तम्भ, सभागृह तथा सुविधासम्पन्न शौचालय, खानेपानी तथा पोखरी निर्माण सकिएको छ ।

रामपुर नगरपालिका – ५ स्थित राम्चे सामुदायिक वन क्षेत्रमा पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले दृश्यावलोकन भवन निर्माण गरिएको थियो । पछिल्लो समय दृश्यावलोकन भवन र ५ सय सिट क्षमताको सभागृह प्रयोगमा छन् । रामपुर बजार आउने जाने मानिस कालीगण्डकी बेंसीका चार जिल्ला नियाल्ने उद्देश्यले राम्चे आउने गर्छन् । रामपुर उपत्यका फाँट धान खेती हुने गरे पनि अहिले ढुंगाले भरिन थालेको छ । नगरपालिका क्षेत्रमा धमाधम घर बन्नेक्रम बढेको छ । बजार नजीकै रहेको सामुदायिक वनको सभागृहमा यस क्षेत्रमा हुने ठूला कार्यक्रम आयोजना हुने गर्छन् । त्रेतायुगमा विष्णु अवतार रामको जीवनीसँग जोडिएका कारण धार्मिक एवम् पुरातात्विक हिसाबले पनि यो क्षेत्र महत्वपूर्ण रहेकाले पर्यटकीय क्षेत्रका रुपमा विकासको काम शुरु गरिएको समितिका सचिव राधिका भण्डारीले बताए । सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको कृत्रिम ताल तालपोखरा नजीकै रहेको वन समूहमा ३ सय २१ उपभोक्ता छन् ।

सचिव भण्डारीका अनुसार राम वनबास जानेक्रममा रामपुरमा बास बसेको भनिएकाले यस क्षेत्रका विभिन्न ठाउँलाई रामका नामबाट नामकरण गरिएको छ । रामले स्नान गरेको भनिएको कालीको घाट रामघाट, खाना पकाएर खाएको चुलो रामचुल्हो र खाना खाएर कुकुर डाकेको ठाउँलाई राम्चे भनिन्छ । राम्चे वनका बीचमा रहेको राममन्दिरमा अहिले पनि विवाह तथा रामनवमीका बेला पूजाआराधना गरिँदै आएको छ । पुराणमा समेत उल्लेख भएको भनिएको रामपुर क्षेत्र धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । वनमा १९ रोपनी क्षेत्रफलमा अम्रिसो खेती तथा विभिन्न काठजन्य साल, सिसौ, चिलाउने लगायतका रुख छन् । संरचना निर्माणका लागि ११ करोड पाँच लाख ३७ हजार बराबरको बजेट लाग्ने अनुमान छ । दृश्यावलोकन भवनबाट अवलोकन गर्नका लागि ३० देखि ५० शुल्क लिने गरिन्छ ।

सभागृहमा एउटा कार्यक्रम गरेको एक दिनको एक हजार पाँच सय शुल्क लिने गरिन्छ । प्रदेश नम्बर ५ सरकारले छुट्टयाएको बजेटबाट बालोद्यान, सुविधासम्पन्न दृश्यावलोकनस्तम्भ, मोटरबाटोको स्तरोन्नति, पानीको फोहरा, बगैंँचालगायत संरचना निर्माण गरिने समितिले जनाएको छ । अहिलेसम्म बाटो फराकिलो बनाउने र कालोपत्रे गर्ने काम भएको समितिले जनाएको छ । राम्चे वन जडीबुटी तथा काठका लागि मात्र नभई त्यहाँबाट काली उपत्यकाको चार जिल्ला नियाल्न सकिने भएकाले पनि बुटवलदेखि पाल्पा हुँदै कास्कीको पोखरासम्म पुग्ने पर्यटकलाई रामपुर उपत्यकासँगै राम्चे वनक्षेत्र घुमाउन सकिने सामुदायिक वन महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । रासस

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update