Shittalpati
काँग्रेस नेता शिवाकोटीले भने‘ तत्कालिन गृह मन्त्रीले सुन काण्डमा आफ्नालाई बचाउन खोजेको उजागर भयो’

पाल्पा, नेपाली काँंग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता अजयबाबु शिवाकोटीले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा आफ्नालाई बचाउन खेलेको भुमिका अहिले उजागर भएको बताएका छन् । संस्थागत सुन तस्करी प्रकरणको छानविन गर्न पूर्व न्यायाधिश डिल्लीराज आचार्यको नेतृत्वमा गठित छानविन समितिले गृह मन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनपछि यो प्रकरणमा कसरी मुख्य पात्र र तिनका संरक्षकहरुलाई बचाउन खेल भएको रहेछ भन्ने कुरा स्पष्ट रुपमा उजागर भएको उनले बताएका हुन् ।

नेता सिवाकोटीले आफ्नो फेसबुुक पेजमा सुन प्रकरणका बारेमा आफ्ना धारणा सार्वजनिक गर्दै  मुख्य पात्र र तिनका संरक्षकलाई कसरी बचाउने खेल भएको रहेछ भन्ने अहिले देखिएको उल्लेख गरेका छन् । ‘सुन तस्करी प्रकरणमा अनुसन्धानमा लापरवाही गर्ने सिआइबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाहीको सिफारिस भएबाट पनि उनलाई अनुसन्धानमा कम्प्रोमाइज गर्न क–कस्ले दबाब दिएका थिए वा उनी आफैँले मोलाहिजा राखेकी थिइन खुल्दै जाला’ उनले भनेका छन् ‘तत्कालिन गृहमन्त्री श्रेष्ठले चलाएको गृह प्रशासनले आफ्नालाई काखा र अरुलाई पाखा गर्दा सुन तस्करीको आरोपित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको परिवारलाई उन्मुक्ती दिइएको, पूर्व सभामुख कृष्ण बहादुर महरालाई सामान्य सोधपुछ पछि उन्मुक्ती दिइएको, सुन तस्करीमा आरोपित अर्थमन्त्री बर्षमान पुनलाई अनुसन्धानको दायरामै ल्याइएन । बरु सिआइबीको नियन्त्रणमा आएका सुन तस्करीका बिचौलिया जीवन चलाउनेको बयान च्यातेर, प्रमाण नष्ट गराएर नयाँ बयान दिन लगाइ फरार गराइयो । चलाउनेले नाम लिएका भनिएका पूर्व आइजीपी तथा एमाले नेता सर्वेन्द्र खनाललाई अनुसन्धानमै उन्मुक्ती दिलाउन समेत नारायणकाजीको शंकास्पद भूमिका देखिएको छ ।’

नयाँ गठबन्धन बन्दा पनि श्रेष्ठ गृहमै बस्न मरिहत्ते गरिरहेको पछाडीको मुख्य कारण अपराधमा संलग्न आफ्नालाई बचाउने रहेको देखिने शिवाकोटीको दाबी छ । ‘आफ्नाहरु एकपछि अर्को सुन तस्करीमा जोडिदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नयाँ गठबन्धन बनाउन लाग्नु र नयाँ गठवन्धन बनाउन जिम्मेवारी पाएका तथा सुन तस्करीमा नाम जोडिएका वर्षमान पुनलाई अर्थ मन्त्रालयमा ल्याउनु यो पक्कै संयोग हैन’ उनले भनेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update