Shittalpati
नयाँ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ?

पाल्पा, काँग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पुनगर्ठित मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले सत्ता गठबन्धनमा आवद्ध पाँचदललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नयाँ मन्त्रीहरूलाई बुधबार नै पद तथा गोपनीयताको शपथ गराइएको छ । जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४, राष्ट्रिय स्वतन्त्र पार्टीका ३, नेकपा एकीकृत समाजवादीका २ जनाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रचण्ड सरकारमा रहने १९ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनीयताको शपथ लिएका थिए । बिना विभागीय मन्त्रीको हैसियतमा शपथ लिएका यी तीन नेताले बुधबार मन्त्रालयको जिम्मेवारी पाएका छन् । गिरीले कानुन न्याय तथा संसदीय मामिला, तामाङले पर्यटन र अर्यालले  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।  एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार,पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा जेष्ठ नागरिक, राजेन्द्र राई खानेपानी तथा सरसफाइ,  दामोदर भण्डारी, उद्योग, ज्वालाकुमारी साहलाई कृषि, बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको  छ । एमालेले अधिकाशं मन्त्रीहरु गतवर्षको गठबन्धन सरकारमा छोटो समय सहभागी भएका मन्त्रीहरुलाई पठाएको छ । यस्तै माओवादीबाट मन्त्री बनेका नरायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत उर्जा, रेखा शर्मा सूचना तथा सञ्चार, हितबहादुर तामाङले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै रास्वपाबाट बनेका रवि लामिछानेले उपप्रधान तथा गृह, डीपी अर्यालले श्रम, विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद र सुमना श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकारमा नारायणकाजीसहित तीन जना मन्त्री दोहोरिएका हुन् । यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने मौका पाए ।

यस्तै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन् । एकीकृत समाजवादीले जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र बुढालाई सहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी , नेकपा एकीकृत समाजवादी र जसपा छन् । उनीहरुले अन्य दललाई पनि गठबन्धनमा भित्र्याउन  पहल गरिरहेका छन् । नेकपा  (माओवादी केन्द्र) ले विभिन्न कारण देखाउँदै सोमबारदेखि नेपाली काँग्रेससँगको सहकार्य तोडेको छ । यससँगै काँग्रेस अब प्रमुख प्रतिपक्षीको कित्तामा पुगेको छ । गत फागुन १२ गते काँग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी मिलेर नयाँ समिकरण बनेको थियो । अन्ततः उक्त समिकरण एकाएक टुट्न पुग्यो । प्रधानमन्त्री दाहालले एमालेसहित अन्य दलहरुसँग सत्ता समीकरण बनाउन पुगेका हुन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update