Shittalpati
तानसेन : सार्वजनिक शिक्षा र विद्यालय समायोजन

ऐतिहासिक शहर तानसेन बजार तानसेन नगरपालिकाको केन्द्र मात्रै नभएर सिंगो पाल्पाको सदरमुकाम पनि हो । राज्यको पछिल्लो शासन व्यवस्था अवलम्बन गरी नयाँ संरचना तय गरी विकेन्द्रीत शासन व्यवस्थाको अभ्यास गर्नु पूर्व तानसेन बजार पश्चिम नेपालकै शैक्षिक तथा व्यापारीक केन्द्रको रुपमा रहेको कुरामा दुई मत नरहला । तर समय परिवर्तनशिल छ । नदीमा पानी बगिरहेको छ । तानसेनको हिजोको अवस्थामा आज परिवर्तन आएको छ । भिडभाड देखिने तानसेन बजार सुनसान जस्तै देखिन्छ । भाडामा कोठा खोज्दा नभेटिने तानसेन बजारका घरहरु आज भाडामा दिने मान्छे भेटिदैनन् । तानसेनमा आएर छोरा छोरी पढाउने भन्ने प्रवृत्ती हटिसकेको छ । गाउँ–गाउँमा सेवा, सुविधा पुगेका छन् । परिणाम स्वरुप विद्यार्थीको चाप घटेको छ । केहि विद्यालयहरु विद्यार्थीको अभावमा सुनसान जस्तै देखिन्छन् । यहि कारण तानसेनमा आज भोली विद्यालय संमायोजन र शिक्षक दरवन्दी  मिलानको चर्चा चलिरहेको सुनिन्छ । यसका पक्ष र विपक्षमा विभिन्न खालका धारणाहरु सार्वजनिक भइरहेका छन् । नयाँ शैक्षिक शत्र  सुरु हुन थाले र हो की ? तानसेन बजारमा यसैलाई लिएर बहस तातेको छ  ।  यसर्थ यहाँ विद्यालय संमायोजन र तानसेन बजारका विषयमा केन्द्रीत रहेर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

हिजो–आजको तानसेन र शिक्षा :
त्रिभूवन विश्व विद्यालय स्थापना हुनुपूर्व तानसेनमा त्रिभूवन बहुुमुखी क्याम्पस स्थापना भएको तानसेन बजार शैक्षिक इतिहास बोकेको स्थान हो । त्रिभुवन विश्व बिद्यालयको आगिक क्याम्पस समेत रहेको यो स्थानमा नेपालकै पुराना माध्यमिक विद्यालयहरु पनि सञ्चालनमा रहेका छन् । हिजो  बिद्यार्थीले भरिभराउ देखिने तानसेन बजार नेपालकै शैक्षिक केन्द्रको रुपमा रहेको थियो । यहाँ सञ्चालनमा रहेका क्याम्पस हुन् वा सरकारी तथा नीजि विद्यालय कसैलाई विद्यार्थी अभाव हुँदैनथ्यो । भरिभराउ कक्षा कोठामा कोचिएर पढाउनु र पढ्नु  पर्ने अवस्था थियो । त्यति मात्र होइन विद्यार्थी पढाउनै नसक्ने अवस्थाका कारण भर्ना नलिएर फर्काउनु पर्ने अवस्था समेत  थियो । हिजो रोजेर विद्यार्थी भर्ना गर्ने तानसेनका विद्यालय, आज खोजेर भर्ना गर्ने अवस्थामा पुगेका छन् । एउटै कक्षाका ए, बि, सी, डी र ई सम्मका सेक्सन हुने गर्दथे तर नदीमा पानी बगेसरी आज समय परिवर्तन भै सकेको छ । विगतका ती पक्षहरु इतिहास जस्तै बनेका छन् । आवश्यकता अनुसार विद्यार्थीहरु पाउनै छाडिएको छ । पहिला जस्तो चहल पहल कुनै पनि विद्यालयहरुमा देखिदैन् । सरकारले तोकेको मापदण्ड विना थोरै विद्यार्थी राखेर पढाउनु पर्ने अवस्था सिर्जना भएको छ भने सरकारले देशभरकै समग्र यहि अवस्थाको विश्लेषण गरेर थप दरबन्दी सिर्जना गर्नुको बदलामा विद्यालय संमायोजन र दरबन्दी मिलानलाई प्राथमिकतामा राखेको देखिन्छ भने स्थानीय तहलाई ताकेता गर्ने, बजेट निकाशामा शर्त राख्ने गरेको देखिन्छ । यहि ताकेता र निर्देशन अनुसार तानसेन नगरपालिकाले विगतका केहि वर्ष अगाडिदेखि विद्यालय संमायोजन र दरवन्दी मिलानलाई अगाडि सारेर कार्य थालनी गरेको छ ।

चेपुवामा शिक्षक र कर्मचारी :
विद्यार्थी कम हुनुको दोष अहिले हरेक विद्यालयमा शिक्षकहरुले खेपिरहेको देखिन्छ । स्थानीय तह अनि गाउँ घरमै सिहदरबार आएर हो की ? पछिल्लो समय यो दर अत्याधिक बढेको छ । शिक्षकको जागिर निल्नु की ओकेल्नु अवस्थामा पुगेको छ भन्दा फरक नपर्ला । राजनीतिक नेतृत्वमा, केहि शिक्षित भनिएका अभिभावकहरुमा शिक्षकले नपढाएर विद्यार्थी कम भएका हुन् भन्ने भ्रम परेको छ र आरोप शिक्षकतर्फ तेर्साइएको छ । शिक्षकले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाएनन् भन्ने विषय अहिले भाषण, छलफल र सामाजिक सञ्जालमा सुन्न र पढ्न सकिन्छ । नैतिकता र कर्तव्यको आधारमा शिक्षक माथि यो आरोप लगाउनु उपयुक्त होला तर मरिमेटेर लोक सेवा आयोग पास गरेर सरकारी जागीर खाई रहेका कर्मचारीका छोरा–छोरीलाई सरकारी विद्यालयमा पढाउने शर्तमा जागिर दिए जस्तो गरी सरकारी विद्यालयमा पढाएनन् भनेर दोष दिनु कति जायज होला ? अनुकुल र प्रतिकुलको अवस्था, व्यक्तिको लोकतान्त्रिक र स्वतन्त्रताको पक्ष साथै कर्मचारी र शिक्षकका २÷४ जना छोराछोरी विद्यालयमा भर्ना गर्न पाए विद्यालयमा विद्यार्थी बढ्ने भ्रम सिर्जना भएको छ । उनीहरुमा बदलीदो परिस्थिति बुझ्ने र सोच्ने फुर्सद नै भएको देखिदैन । सार्वजनिक विद्यालयको ठेक्का लिए जस्तै गर्दछन् आज भोली उनीहरु । कर्मचारी शिक्षक भन्दा अलि बढी अधिकार प्राप्त पदमा रहेर होला यसलाई लिएर प्रतिकार गर्न पछि पर्दैनन् तर निमुखा शिक्षकहरु आफ्नो राजनीतिक दलको नेतृत्वले लगाएको आरोप हो भने शिरोधार्य गर्दछन् भने विपक्षले हो भने अलि अलि विरोध गरे जस्तो सानो आवाज निकाल्दछन् ।
सार्वजनिक विद्यालयमा विद्यार्थी कम हुनुका मुख्य कारणहरु :
– जनसंख्या वृद्धि दरमा कमी ।
– तिब्र बसाई सराई ।
– राज्यको नयाँ सरचना र स्थानीय तहको विकास ।
– अभिभावकमा अंग्रेजी शिक्षा प्रतिको मोह ।
– गाउँ–गाउँमा थप विद्यालयहरुको स्थापना र सञ्चालन ।
– विद्यालयहरुमा राजनीतिक हस्तक्षेप र राजनीतिककरण ।

किन गर्ने त विद्यालय संमायोजन ?
नेपाल सरकारले पछिल्लो समय दरवन्दी थप्ने नभई व्यवस्थित गर्ने र अर्थतन्त्रलाई थप व्यय भार नपार्ने रणनीति अवलम्वन गरेको देखिन्छ । सोहि अनुकुल हिजो शक्ति र पहुँचका आधारमा वितरण गरिएको शिक्षक दरवन्दीलाई मिलानको नाममा पुनःवितरण गर्ने । मापदण्ड नपुगेका विद्यालयहरु संमायोजन गर्ने र शिक्षक दरबन्दीलाई शिक्षक अभाव भएका र विद्यार्थी चाप बढी भएका विद्यालय र स्थानीय तहमा स्थानान्तरण गर्ने लक्ष्य अनुरुप केहि स्थानीय तहका दरबन्दी काटीने र केहि स्थानीय तहमा थपिने अभ्यास विगतमा भएको देखिन्छ । यसको मुख्य उद्देश्य कसैलाई अप्ठ्यारो पार्नु, राजनीतिक प्रतिशोध गर्नु वा अन्य कुनै भन्दा पनि समानुपातिक वितरण गर्नु रहेको देखिन्छ ।

विद्यालय संमायोजन र तानसेन :
हाल तानसेन बजारमा सरकारी स्तरबाट ७ वटा माध्यमिक विद्यालय र नीजि क्षेत्रबाट ९ वटा माध्यमिक विद्यालयहरु सञ्चालनमा रहेका छन् । निजी विद्यालयहरुले विद्यालय सञ्चालनका लागि बजार भन्दा धेरै टाढा–टाढा सम्म पुगेर विद्यार्थी ल्याउनका लागि विद्यालय बस सेवा सञ्चालन गरेको देखिन्छ भने केहि सरकारी विद्यालयहरुले पनि यसको अभ्यास गरेको देखिन्छ । यो कारण तानसेन बजार मात्रै हैन तानसेन आसपासका ग्रामीण क्षेत्रका विद्यालयहरुलाई पनि विद्यालय अभावको मर्का परिरहेको देखिन्छ । आ–आफ्नो विद्यालयको क्षेत्र र विद्यार्थी भन्ने देखिदैन आज भोली । तानसेन नगरपालिकाले नेपाल सरकारको निर्देशन अनुसार ग्रामीण क्षेत्रका विद्यालयहरु र तानसेन बजारकै केहि आधारभूत विद्यालयहरुलाई विगतदेखि नै संमायोजन गर्र्दै आएको थियो । त्यस बेला कुनै विवाद भएन किनभने तिनीहरु साना विद्यालयहरु थिए । त्यहाँका प्रधानाध्यापक तथा शिक्षकहरु राजनीतिक पहुँच नभएका थिए तर त्यस बेला माध्यमिक विद्यालय संमायोजनमा समस्या सिर्जना भएपछि  भने केहि संमायोजनको अवस्थामा पुगेका माध्यमिक विद्यालयलाई सरकारले तोकेको मापदण्ड पु¥याउनका लागि  अवसर प्रदान गरेको देखिन्छ ।

तानसेन नगरपालिकाले के गर्न खोजेको छ त ?
विशेष गरेर तानसेन बजारमा सञ्चालनमा रहेका केहि माध्यमिक विद्यालयहरुलाई आवश्यक मापदण्ड बनाएर संमायोजन गर्ने नीति नगरपालिकाले लिएको देखिन्छ । विगतमा राजनीतिक दवाब र विविध कारणले यो कार्य सम्पन्न गर्न सकेको थिएन भने यो वर्ष पनि नयाँ शैक्षिक शत्र सुरुवात हुनुपूर्व यस विषयमा बहस र प्रयास भएको देखिन्छ । नगरपालिकाले क्षेत्र र मापदण्डका आधारमा महेन्द्र बोधी माविलाई पप माविमा संमायोजन गर्ने र दरबार परिसरमा रहेको बालमन्दीरलाई हाल रहेको महेन्द्र बोधी माविमा स्थानान्तरण गर्ने,मापदण्ड पुगेता पनि अमर नारायण मन्दिर परिसरमा सञ्चालनमा रहेको देववाणी माविलाई मापदण्ड नपुगेको सेन माविमा संमायोजन गर्ने गरी छलफल र कार्य थालनी गरेको देखिन्छ । यसो हेर्दा क्षेत्र, पुरातात्विक र वैज्ञानिक हिसाबले यी विद्यालय संमायोजन र स्थानान्तरण गर्नु उपयुक्त नै देखिन्छ । केहि व्यक्तिगत, विद्यालयमा नेतृत्व लिने स्वार्थ, केहि राजनीतिक  र पहुँचका कारण यो विषय हाल पेचिलो बन्दै गएको देखिन्छ ।

निष्कर्ष :  
राज्यको निर्देशन, मापदण्ड, ऐन कानुनको पालना गर्नु पर्ने दायित्व र कर्तव्य  सबैको हुने गर्दछ । हिजोको शैक्षिक स्थिती र वातावरण आज तानसेनमा देखिदैन् । विकेन्द्रीत शासन अभ्यासँगै तानसेन बजारमा केन्द्रीत शिक्षा पनि विकेन्द्रीत हुँदै गएको छ । विद्यार्थीको चाप घटेको छ । हिजो रोजेर विद्यार्थी भर्ना गर्ने विद्यालय आज खोजेर, बिन्ती गरेर भर्ना गर्नु पर्ने अवस्थामा पुगेका छन् । यहि कारण विद्यालय संमायोजन दरवन्दी मिलानको कुरा उठेको देखिन्छ । त्यसैले व्यक्तिगत इगो, स्वार्थ र राजनीतिक आडलाई त्यागेर  सोहि अनुसार रुपान्तरण हुनु पर्दछ । शिक्षकका महासंघ, संघ, संगठन तथा अन्य कुनैका नेतृत्वकर्ताले पनि साथ दिनुपर्दछ राज्यको नीतिलाई । अनि राज्यको नीतिलाई साथ लिएर अप्ठयारो स्थिति हैन समझदारी र सहकार्यको अवस्था सिर्जना गर्नु पर्दछ राज्य संयन्त्रले पनि । तानसेन बजार भित्रका केहि माध्यमिक विद्यालय संमायोजनका कुरा धष्ल–धष्ल मा निष्कर्षमा पुगोस् यहि कामना गरौं । 

 (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update