Shittalpati
  विभेदका कारक तत्व आर्थिक, सामाजिक कि धार्मिक ? 

 जगन्नाथ पन्त

अघिल्लो कथामा स्कन्द पुराणका वारेमा सुनाउला भन्नु भएको थियो नि हजुरबा । मान्छे मान्छेमा जात पात , उच निच , छुत अछुत हुन्छ भन्छ र ? स्कन्द पुराणले ।  उसले सिलाएको लुगा लगाउन हुने , उसले  बनाएका हसियाले तरकारी काट्न , जग्गेको लिंगो काट्न हुने , उसले बनाएका गहना लगाउन हुने अनि उसैसँग छोइदा सुन पानी  छर्केर चोखो हुने भन्ने के हो ?   विभेद  गर्न धर्मले सिकाएको हो कि , आर्थिक रुपमा कमजोरलाई हेपेर हो कि अथवा समाजमा चतुरहरुले आफ्नो वडप्पन राख्न हो ?  नातिनीका यस्ता प्रश्नले हजुरबाको दिमागमा  चट्याङ् परेजस्तो भयो । आफुले पनि छोइछिटो बारेको , उच निच गरेको ,  भोगेको र गरेको चलन ठिक थिएन , हैन भन्न पनि गाह्रो । ठिक हो भनौ मानिस मानिस बिच जातको आधारमा विभेद गर भनेर सृष्टिकर्ताले भन्दैन ,  वेदले , गीताले, श्रीमद्भागवतले भन्दैन । अहिलेको कानूनले अपराध नै भन्छ । बेठिक  भनौ यत्रा वर्ष यहि गर्दै आइयो । तर पनि वाचा अनुसार नातिनीलाई चित्त बुझ्ने जवाफ दिनु पनि छ । 

 सुन नातिनी खासमा मानव जन्मले सबै समान हुन । धनि , गरिब , ठूलो पद , सानो पद , सजिलो असजिलो पेशा र व्यवसायका आधारमा अवस्था र पहिचान फरक  हुन गएको हो । मानिसले गर्ने कामका आधारमा सामाजिक व्यवस्था हुँदै गयो । पेशा अनुसार मानिस धनि र गरिब भए , पढेकाले आफ्नो मानका लागि शाश्त्रले यसो उसो भनेको छ भनेर आफ्नो मान बढाउन तिर लागे । कालान्तरमा शाश्त्र पनि मिलाएर छापे अनि धन , धर्म र सामाजिक रुपमा विभेदको उत्पत्ति भयो । चलन चल्दै गयो । धनको आधारमा अहिले पनि हुने र नहुने बिच विभेद छदै छ ।  महिलाले  शिवलिंग र  शालिग्राम छुन हुँदैन भने । वेद शाश्त्र पढ्न हुँदैन भने ।  तालेवानले अहिले पनि महिलालाई अफगानिस्तानमा कलेज जान , जागिर खान प्रतिवन्ध लगाएका छन् । बुर्का नलगाए सजाय  गर्छन रे । सबै खाले धर्मले यस्तै खाले अनेक विभेद गर्न धार्मिक कट्टरताको  सहारा लिएका छन् । हिन्दूले  देवी ,दुर्गा , लक्ष्मी , सरस्वती भनेर  मूर्ति र तस्विर त पुज्छन् तर महिलालाई सामाजिक मर्यादामा समान   स्थान दिन कन्जुस्याइ गर्छन् । वल्लतल्ल नेपाली क्रिकेट खेलाडीलाई तलव दिने भनेका छन् । तर महिला ए ग्रेट खेलाडीलालई पुरुष वि ग्रेटले पाउने तलव तोकेका छन् । धन र पद बांडफांट गर्ने चापी पुरुषको हातमा हुँदा राजनीतिमा ३३ प्रतिशत रे । प्रमुख ठूला दलमा बाहुन र क्षेत्री बाहेक  महिला  , दलित र जनजातीलाई  अध्यक्ष, सभापति बनाउन पनि धर्मले नै छेकेको होला र ?  निर्वाचित वा मनोनयन हुनै पर्ने वा सरकारी पदमा आरक्षण प्रतिशत बाहेक दलभित्र के  संख्याको अनुपातमा महिला , दलित र अन्यले पद पाएका  देखिकी छौ र ?  कि यसमा  पनि धर्मले  छेकेर विभेद गरेको होला र ?  त्यसैले विभेदको कारक धार्मिक होइन । हुनु हुँदैन । दलितले पनि दलित थर मेटाएर अन्य थर राख्ने तर आरक्षणमा भने दलित हौ भनेर हिस्सा लिने जस्ता चलनले विभेदलाई समुल नष्ट गर्न बल पुग्दैन । दलित थर मर्यादित राख्न पाउनुपर्छ  र  दलित हौ भनेर गर्व गर्न र दलित पनि अरु सरह हौ भन्ने अवस्था हुनु पर्छ ।  जस्तो कि  पहिले  तराइ मूलका नागरिकलाई मधेशी भन्दा हेपेको मानिन्थ्यो , अहिले  आएर गर्वले भनौ  हामी मधेशी हौ भन्ने नारा आएपछि मर्यादा बढेको छ नि ।  शिव , बिष्णु , महादेव , राम , कृष्ण ,यशुख्रिष्ट, पैगम्वर कसैको नाम पछाडी थर छ र ?   अनि थर कै आधारमा विभेद धर्मले होइन सामाजिक रुपमा हो  र विभेद हटाउने काम पनि समाज कै हो । 


  स्कन्द पुराण भन्दछ   जन्मना जायते शुद्रः संस्कारत भवेत् दुज ः ,वेद पाठत विप्राः ब्रह्म  जाना ईति  ब्राह्मणा ।    त्यसै गरि मनुले भन्नु हुन्छ शुद्रो ब्राह्मणतामेति ब्राह्मणस्यच ईति शुद्रताम्  । क्षत्रिया जातमेवत विध्याद्वष तथैवचः ।  स्कन्द पुराणले , मनुले  कर्म अनुसार मानिसको स्तर हुन्छ भनेको छ । जन्मले  सबै एकै हुन । जन्म पछि जस्तो कर्म गर्छ , त्यसै अनुसार मानिसको स्थान हुन्छ भनेको छ शाश्त्रले । जन्मजात उच निच जात भनकै छैन सनातन वैदिक धर्मले ।   खनाल , पाण्डे , पन्त , त्रिपाठी , पौडेलको सन्तान हुदैमा  ती ब्राह्मण हुँदैनन यदि वेद ,शाश्त्र पढेका छैनन भने । विस्वकर्मा , गन्धर्व , स्वर्णाकार आदि थर भएता पनि यदि उनले वेद , शास्त्र  पढेका जानेका छन् भने ति शुद्र हुँदैनन , ति  ब्राह्मण  हुन्  ।  पढेर मात्र  पनि  हुँदैन अर्थ बुझेर ब्यवहारमा लगू गर्नु पर्छ । बिचैमा ठूली नातिनी सोच्छिन् हाम्रा खनाल मामा प्रहरीमा हुनुन्छ नि हजुरको  भनाइ अनुसार उहाँ ब्राह्मण हुनु भएन , अनि कान्छाबा निजामतीमा काम गर्नु हुन्छ , साइलाबा व्यापार गर्नु हुन्छ , उहाँ के हुनु  भयो  ? अनि हजुरबा भन्नु हुन्छ सनातन धर्मशाश्त्र अनुसार तिम्रा मामा क्षत्री हुन , कान्छाबा शुद्र हुन र साइलाबा वैश्य हुन् । सैनिक, प्रहरी , मंत्री , राष्ट्रपती जे थरका भए पनि कर्मले क्षत्रिय  हुन , व्यापार गर्ने वैश्य हुन , सेवा गर्न  भनि सिभिल नोकरी गर्ने सबै शुद्र हुन । थर विश्वकर्मा आदि भए पनि यदि तिनीहरु  पंडित , सन्त , योगि छन भने ति सबै ब्राह्मण हुन ।

 दलित थर भनिनेलाई ब्राह्मण भन्छ र  ? यो सामाजले नातिनीले प्रश्न  तेर्साइन । शाश्त्र अनुसार मान्न पर्छ । २०७२ सालमा त्यो के त भूकम्प गएको वर्ष हामी एउटै घरमा वस्थिम नि एकजना ज्योतिषी पंडित के त । उहाँको थर तराइ दलित हो ।  बनारस विश्व हीन्दू परिषदले उहाँलाई जगद गुरु उपाधी दिएको छ । उहाँले राजगुरु अनन्तश्री जगद गुरु लेख्नु हुन्छ । चिना लेख्ने ,हेर्ने पूजा गराउनु  हुन्छ त ।  उहाँसंग चिना हेराउन भनि कति जनाको भिड हुन्थ्यो त ।  भूकम्पको त्राशको वेला हामी माथिल्लो तलामा जान डराउदा तल्लो तलामा उहाँले पकाएको खाएको बिर्सउ र ? तर उहाँको छोराले  अर्कै  विषय पढ्दैछन् ,उनी ब्राह्मण  हुँदैनन । काठमाडौंको शंखमुलमा साई केन्द्र छ । सञ्जय साई वावा भनेर कतिले ढोग्छन् । उहाँ पनि जन्मले न  बाहुन  , न क्षेत्रि न वैश्य हो तर धेरैले मान गर्छन् त। ए त्यसो भए हाम्रा एक जना पूर्व प्रधानमन्त्रीले अन्धविश्वासी  विभेदकारी हिन्दू धर्मले गर्दा हाम्रो देशको विकास भएन भनेको भाषण पुरै झुठ्ठा रछ है हजुरबा नातिनीले कुरा बुझिन । क्रान्तिकारी हुँ भन्न भनेका नि ,टिभिमा खबर देखेथिउ नि  हालसालै पत्नी , छोरी सहित भारतको मन्दिरमा गएर पूजा गरेका । समाजमा भाडभैलो गर्ने ,  ब्राह्मणका  छोरा हुन  जात  पनि ब्राह्मण तर भ्रम  पार्न सीपालु  पाखण्डि । बाइबलमा आस्था राख्ने देशमा पनि रंग भेद छ ।  अर्थात् गोरा र  काला वर्णका मानिस बीच सदियौ भेदभाव रह्यो अद्यपी शेष छ । दक्षीण अफ्रिका भन्ने देशमा दश प्रतिशत गोरा जातिले नब्ने प्रतिशत काला जातिलाई शासन गरे, शोषण गरेका थिए । यस्ता विभेद जन्माएको शासकले हो । धर्मका अगुवाहरुले स्वार्थका लागि शासकको साथ दिए ।धर्मका नाममा डर , भय पैदा गरे । आडम्वर  धर्म हुँदै होइन । बुटी  धागो  जन्तर  बांधेर  दुख जादैन ।  यो त सबै अन्ध विश्वास हो ।  कमाउने धन्दा हो । मरेर जादा काम नलाग्ने धन तिमिलाई काम छैन , यो नाममा त्यो नाममा मलाई दान गर , मरेपछि  फल  पाउछौ , जति छ मलाई दिउ भन्नेले हो विगारेको । धर्ममा चमत्कार हुँदैन , जादुगरमा जस्तो । चमत्कारलाई नमस्कार ।  अन्ध विश्वासमा परेर यताउता भड्किन शाश्त्रले भनेकै  छैन । आइत , मंगलवार नङ् काट्न हुँदैन , तेल लगाउन हुँदैन ,  शुक्रबार महिलाले कपाल नुहाउनु हुँदैन , पतिको आज्ञाविना विहिवार केश धुनु हुँदैन कुनै खास शाश्त्रमा छैन ।  खुला शौचालय , फोहर शौचालय प्रयोग गर्दा  लगाएका लुगामा फोहर लाग्ला , झिंगा बस्ला भनेर छुट्टै बस्त्र लगाउने चलन अहिले पनि सफा र एटेच वाधरुमको सुविधा हुदा पनि पटक पटक बस्त्र बदल्नु , नुहाउने साबुन , सेप्फु पनि लगाउने तर तिल कुश तामाको अंखरामा राखेर पानी  शिरमा खनाउने  कुनै धार्मिक नियम होईन ।समय कर्मले वदल्छ , कर्म राम्रो गरे समय पनि राम्रो हुन्छ ।

धर्मस्य यायउपवर्गस्य नारर्थोयो कल्पते ,
नारर्थोस्य धर्मकान्तस्य कामोलाभाय  हि समृतयः ।

धर्म र अर्थ  जीवनमा दुबै जरुरी छ । अर्थ अर्थात् धन सम्पत्तिमा चित्त बढी लगाउने कि धर्ममा , कहाँ कुनको उपयोग गर्ने भन्ने मूल विषय हो । जीवन जीउन धन अत्यावश्यक छ । तर  धेरै अकुत धन जम्मा गर्न ,  धनको मात्र चित्तन गर्नु जीवन होइन । कुन कसरी उपयोग गर्नु पर्छ भन्ने जान्नु पर्दछ ।  शरिरको त्वचामा दाद भएको बिरामीलाई डाक्टरले दुई शिशि ओखतीमूलो दिएर भनेछन् यो दाद भएको ठाउँमा लगाउनु र यो खानु भनेर । बिरामीले लगाउनु पर्ने खाएछन , खानु पर्ने लगाएछन् । रोग निको हुनुको सट्टा थप रिएक्सन भए छ । हामी पनि त्यसै गरि रहेका छौ धर्म र अर्थको विषयमा । मनले धर्म गर्नु पर्ने , वारवार शरिरले  अनेक  तिर्थमा मार्चपास गरेर  धर्म गर्छम । मन्दिर गयो फोटो देखायो , चन्दन टिका लगायो , माला लगायो  धार्मिक देखायो । धार्मिक पहिचानका पहिरन र श्रृगार गर्नु हुँदैन भन्ने तात्पर्य किमार्थ होइन । ति लगाउदा  सञ्जन , नैतिक देखिन्छ , अपराध र अपकार्य गर्नबाट निरुत्साहित हुन्छ ,   लगाउनु जरुरी छ ।  तर मनले पाप चिताउने , अपराध गर्ने , पहिरनले भने धार्मिक देखाउने आडम्वर गर्नु भएन । एक दिन नारदजीले भगवान तपाइलाई कहां पाउन सकिन्छ ? भनेछन् । म बैकुण्ठमा हुन्छु , सन्तको हृदयमा हु्न्छु तर सबै वार सबै समय नहुन पनि सक्छु ।  मनले मेरो नाम लिने भक्तको हृदयमा जतिवेला पनि हुन्छु । भगवानु वाच  नाहं  बसामी बैकुण्ठ, योगिनांम हृदयंच । मदभक्तां मंत्रगायान्ती  तत्र तिष्टयन्ति नारद ।  विनाकारण हृदय खुसिले गदगद भयो भने बुझ्नु भगवानको कृपा भयो । भगवानले हामीलाई संझने गरि  सत्य कर्म गरिउ  भने मात्र हामी पनि भगवान बुझ्ने हुन्छौ । 

 अनि हजुरबा यस्तो राम्रो स्कन्द पुराणक श्लोक रहेछन , मनुले पनि जन्मले होइन कर्म अनुसार मानिसको पहिचान हुन्छ भनेका रहेछन । किन फेरी  हजुरबा हिन्दू धर्मले  जातिपाती विभेद गर्छ  भन्छन , किन  स्कन्द पुराण जलाए, मनुका पुत्ला जलाए ?   हजुरबा अगाडि भन्नु हुन्छ  शाश्त्र विराएर शासकले , पंडितले , पोपले , पादरीले मौलाना , मौलवीले विभेद जन्माएका हुन । हिन्दूले जातिपाती ,  इशाइले काला गोरा , मुस्लिमका  पनि यस्तै  कुनै प्रकारका  कम वेसी भेदभावजन्य व्यवहार सृजित हुन , सृष्टिगत  होइनन । इश्वर सबैका समान हुन । कुनै पनि धर्मले मानिसका विच जातिगत , वर्णगत , लिंगवत विभेद सोचेको पनि छैन । यो सब नबुझेर र बुझेकाको पनि धुर्त्याइ हो । मनुस्मृती मानवताको विधान हो । समानता  सनातनको उद्गम हो ।  स्कन्द पुराणमा  जम्मा २६८५ श्लोक  छन् ।   पछि छाप्दै ,प्रकाशन गर्दै जादा १४७१  श्लोकमा मिसावट गरियो । १२१४ श्लोक मात्र शुद्धता  छन् । जातका आधारमा विभेदमा परेकाले तिनै १४७१ श्लोक पढेर हिन्दू धर्म विभेदकारी भनेका हुन , जुन स्वभाविक पनि हो । यो सव   धर्मका नाममा   जीविका गर्नेको चलाखी  हो । पछि पछि त्यही नै सत्य हो जस्तो बुझाइयो ।  मानिसका तीन गुण हुन्छन् भनेर  जान्नु ।  सतो , रजो र तमो ।  सतो गुणप्रधान मानिस ब्राह्मण हो , रजो गुणप्रधान मानिस क्षत्रिय हो , तमो गुणप्रधान मानिस शुद्र हो । रजो र तमो गुण मिश्रण भएको मानिस वैश्य हो । खान पानले मात्र होइन कि सोच विचाले पनि मानिसमा यी तिन गुणको उत्पत्ति हुन्छ। वेदले भगवानको शिरबाट ब्राह्मण ,  वाहुबाट क्षत्रिय , पेटवाट वैश्य र खुट्टावाट शुद्र पैदा भए भन्नुको अर्थ  शिर बुद्धि, वाहु वल, पेट आपूर्ति र खुट्टा शरिरलाई हिडडुल गराउने अंग भनेको हो ।  भगवानको चरण पुजनीय हुने तर चरणबाट पैदा भएको भन्नु अपमान गरेको भनेर बुझ्नु , बुझाउनु गलत हो ।  वंशको आधारमा कोहि पनि ब्राह्मण ,क्षेत्रिय , वैश्य र शुद्र्र हुँदैन , कर्म अनुसार हो । यो पेशा हो , व्यवसाय हो , रोजगारी अनुसार हो ।हिन्दू धर्मका  आदि जगद् गुरु शंकराचार्य , निम्वार्काचार्य , रामानुजाचार्य  , माध्वाचार्य र पञ्चम मुल जगद् गुरु कृपालु महाराज  सबैले  जातगत विभेदलाई निषेध गरेका छन् ।  उहाँहरुका पिठ , आश्रम र धाममा सह भोजन हुन्छ , प्रवेश खुल्ला छ । कर्म भनेको काम प्रधान्य होइन , बिचार प्रध्यान्न हो । जस्तो सोच , बिचार गर्छ मानिसले त्यहि सोच बिचार अनुसार त काम गर्छ मानिसले । जस्तो कि चामल गहू, मकैले कार्बोहाइड्रेड , दाल , दुधले प्रोटिन , तेल घीऊले चिल्लो अर्थात फ्पाट ,फलफूलले भिटामिन र फाइवर दिन्छ  । बिचारले पनि त्यस्तै गुण दिन्छ । गुणले योग्यता , सीप ,  दक्षता , सभ्यता दिन्छ । त्यसै अनुसार मानिसले कर्म गर्छ । वंश अनुसार हुने भए त सबै सन्तान एकै स्तरका हुने थिए नि ।

 तनहुमा केहि गरिब बाहुनले धनी गुरुङका  हलो जोत्थे रे । मस्त बहादुर गरन्जा  नामका प्रोफेसरले हामीलाई पढाउदा सुनाउनु भएको । एम कम  डिस्टिङसनमा पास भएको छु , छोरी दिनुस विवाह गर्छु भनेर केटि माग्नु भएछ , एम कम सम कम थाहा छैन ब्रिटिस , सिंगापुरे लाहुरे घटि छोरी दिइन्न भनेर लखेटे भनेर सुनाउनु हुन्थ्यो ।आर्थिक अवस्थाले पनि फरक हुँदो रछ । खानपिन , सरसफाई , रहनसहनले तमो प्रधान छ भने  बिचार पनि खराव हुन्छ ।  सडेगलेको , मारे , मरेको , बासी खाने , फोहरी छ भने पशु भन्दा अयोग्य हुन्छ । जात भनेको  पहिचान भने  हो । तर जातको आधारमा विभेद सर्बत्र वर्जित हुनु पर्छ । श्लोक बनाएर शास्त्रले यसो उसो भनेको छ भनेर कसैले उच निचको कुरा गर्छ भने त्यो स्वयं निच हो । मान्छेले बनाएका शास्त्रले भेदभाव गर्छ भने शास्त्र फेर्ने हो , धर्म फेर्ने होइन । गौदान भनेर रुपिया , पैसा दान गर्न र लिन कुन शास्त्रले भनेको छ र ? तर पुरेतहरुलाई गाई लिनु भन्दा रुपैया लिन र जजमानलाई पनि  रुपिया दिन सजिलो हुँदा  गर्न मिल्ने तर अमिल्दा , अव्यवाहारिक , युग नसुहाउने शास्त्र फेर्न नमिल्ने भन्ने पनि हुन्छ र । जसले मूर्ति वनायो ,उसैको फूल प्रसाद चढाउन नहुने भन्ने पनि होला र । यस्ता विषय अव देखि म संग नसोधे है नातिनी । गाह्रो छ म जस्तो अल्प ज्ञानी ,  अर्ध ज्ञानीलाई जवाफ दिन , तिम्रो चित्त बुझाउन । बरु अब देखि मेरो कर्म क्षेत्रका अनुभव सुनाउला । नातिनीले हवस  हजुरबा भन्दै  सम्मति जनाइन । हजुरबा पनि वोल्न  रोकिनु भयो ।

 
 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update