Shittalpati
गुल्मीका बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा

गुल्मी, जिल्लाको रुरु क्षेत्र गाउँपालिका–२ ग्वादीका ८१ वर्षीय चन्द्रमणी बराल बिहीबार गुलेली र मटेंग्रा पाएपछि खुसी देखिन्थे । गाउँमा बाँदर आतंक बढेपछि नेपाली काँग्रेस गुल्मीले ‘गुल्मी काँग्रेसको अठोट, सवल वडा सक्षम टोल’, अभियान अन्तर्गत समुदायमा काँग्रेस अभियानको क्रममा गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेपछि बराल उत्साहित भएका हुन् ।

काँग्रेसले उनी जस्तै ग्वादीका बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेको छ । बाँदर आतंकबाट आफुहरु आजित बनेका बेला काँग्रेस नेताहरु घरमै आएर गुलेली र मटेंग्रा दिएको भन्दै स्थानीयले खुसी व्यक्त गरे । बिहीबार नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई समुदायमै पुगेर किसानहरुलाई गुलेली र मटेंग्रा वितरण गरेका हुन् । उनले किसानहरुको मागलाई मध्यनजर गरी गुलेली र मटेंग्रा दिइएको बताए । सचिव भट्टराईले चुनौतीको रुपमा रहेको बाँदर नियन्त्रणका लागि केही हदसम्म भएपनि सहज बनाउन गुलेली र मटेंग्राले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने‘ गुलेली देखाएर बाँदर भाग्ने गर्छन् । यसले केही भएपनि किसानको बाली नाली जोगाउन मद्दत गर्छ भन्ने हाम्रो बुझाई हो ।’

गाउँपालिकाका पार्टी सभापति देविन्द्र मल्लले बाँदर आतंकले गर्दा गाउँहरु बसाँईसराईका कारण रित्तिदै गएकोप्रति चिन्तित हुँदै परम्परागत रुपमा बाँदर भगाउन प्रयोग गरिने गुलेलीले किसानलाई राहत पुग्नेमा विश्वास व्यक्त गरे । उनले किसानका समस्याहरु सम्बोधनका लागि भएको यो प्रयास अत्यन्तै प्रभावकारी रहेको बताए ।  मल्लले भने ‘बाँदर लखेट्न जाँदा आफुहरु माथि नै आक्रमण गर्न खोज्दै गर्दा गुलेली ताक्यो भने बााँदर डराएर भाग्ने हुँदा पनि यसबाट केही राहत हुन्छ ।’ ग्वाँदीका वडा सभापति तथा युवा किसान नारायण ज्ञवालीले गाउँमा बाँदर आतंकका कारण समस्यामा परेका किसानलाई बाँदर धपाउँन गुलेलीको समेत अभाव भएको अवस्थामा काँग्रेसले समुदायमै आएर वितरण गर्नु आफैमा प्रशंसनिय कार्य रहेको बताए ।

गुलेली र मटेंग्राको परम्परागत घरेलु हतियारका रुपमा प्रयोग गरिदैं आइएको छ । समस्याको समाधान परम्परागत रुपमा पनि गर्न सकिन्छ भन्ने मूल्य र मान्यतालाई आत्मसाथ गर्दै किसानलाई गुलेली वितरणको काम गरिनु आफैमा सकरात्मक रहेको रिडी बजार निवासी स्थानीय व्यवसायी किशोर श्रेष्ठले बताए । ग्वाँदीका ३७ बर्षीय किसान जगत तिवारीले बाँदर आतंकका कारण समस्या भएको र आफुहरुसँग गुलेली पनि नभएको गुनासो गरेपछि काँग्रेस सचिव भट्टराईले एक कार्यक्रमको आयोजना गरेर किसानलाई गुलेली र मटेंग्रा दिएकोमा धन्यावाद प्रदान गरे ।

स्थानीय समाजसेवी तथा नेपाली काँग्रेस क्षेत्र १ प्रदेश १ का उपसभापति मंगलबहादुर रेगामीले यो एउटा नमूनाको रुपमा काम भएको भएतापनि गाउँका बाँदर पीडित किसानका समस्याहरुको समाधानमा यो कार्य महत्वपूर्ण रहेको बताए । उनले यस्ता काममा स्थानीय सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update