Shittalpati
पाल्पामा पनि मनाईयो राष्ट्रिय योग दिवस

इमान सिं राना
पाल्पा (रामपुर), ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने नाराका साथ पाल्पामा पनि पाँचौ राष्ट्रिय योग दिवस मनाइएको छ । बुधबार छुट्टाछुटै कार्यक्रमहरुको आयोजना गरी जिल्लामा योग दिवस मनाइएको हो । रामपुर नगरपालिका आयुर्वेद शाखाको आयोजना र रामपुर योग समितिको सहआयोजनामा कार्यक्रम सहित प्रभात फेरी निकालेर योग दिवस मनाइएको छ । कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का प्रदेश सांसद युवराज खनालले विगत र अहिलेको जीवन शैली फरक भएकाले शरिरलाई आवश्यक व्यामको लागि योग अत्ति आवश्यक रहेको बताए । उनले रामपुर क्षेत्रको बढ्दो शहरीकरण संगै योगप्रतिको आकर्षण बढेकाले उपयुक्त योगहल निर्माणमा पहल गर्ने बताए । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले सकारात्मक सोचको विकास संगै मानसिक र शारिरिक स्वास्थ्यका लागि योग अपरिहार्य रहेकाले नगरका सबै वडामा योग शिविर सञ्चालन गर्न पहल गर्ने बताईन् ।

रामपुर १ का वडा अध्यक्ष मित्रलाल कंडेलले विलासी जिवनका कारण पछिल्लो समय दिर्घरोगी बढ्दै गएकाले यसमा समय मै सचेत हुनु आवश्यक रहेको बताए ।रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा भएको कार्यक्रम, रामपुर नगरपालिका आयुर्वेद शाखाका प्रमुख चेमन प्रकाश पोखरेलको स्वागत, रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतमको धन्यवाद र रामपुर योग समितिका सचिव सुदिप गैरेको सञ्चालनमा भएको हो । मटेरी काञ्जीहाउस बाट सुरु भएको प्रभात फेरी बेझाँड बजारमा आएर सकिएको थियो । गरौ योग, रहौ निरोगी भन्ने नाराका साथ रामपुर योग समितिले सञ्चालन गर्दै आएको नियमित योग शिविरमा ४० जना भन्दा बढीले योग गर्दै आएका रामपुर योग समितिका कोषध्यक्ष सुर्य श्रेष्ठले जानकारी दिए ।

यता जिल्लाको तानसेनमा पनि दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजना तथा पतञ्जली योग समिति पाल्पाको समन्वयमा राष्ट्रिय योग दिवस मनाइउको हो । “ राष्ट्रिय एकता, योगको सान्दर्भिकता “ भन्ने नाराको साथ पाल्पा दरवार संग्रहालयको प्राङ्गणमा योग अभ्यास र यसको महत्वको चर्चा गर्दै मनाईयो छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा, प्रहरी उपरीक्षक दिपेन्द्र जि. सि, प्रमुख अनुसन्धान अधिकृत सन्तोष बस्नेत, प्रसासकीय अधिकृत रमा श्रेष्ठ, सशस्त्र प्रहरी निरीक्षक हिरा बोहरा, अनुसन्धान अधिकृत देवेन्द्र खतिवडाको आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा पतञ्जली योग समिति पाल्पाका अध्यक्ष सुरेस कुमार श्रेष्ठले मानव जीवनमा योगको महत्व माथि प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न प्राणायम , आसन र व्यायम समेत गराएका थिए । पुरापूर्व कालदेखि ऋषिमुनिहरूले योग अभ्यास गर्ने गरेको स्मरण गर्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले माघ १ गतेलाई नेपाल सरकारले राष्ट्रिय योग दिवसको घोषणा गरे अनुरुप कार्यक्रमको आयोजना गरेको बताए । उनले दैनिक रुपमा योग अभ्यास गर्न सबैलार्य आव्हान गरेका छन् । कार्यक्रमको सञ्चालन पतञ्जली योग समितिका सदस्य जनक कार्कीले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update