Shittalpati
लकडाउनका बेला सीपमूलक काममा

तानसेन । कोभिड –१९ संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका समयमा पाल्पाका सर्वसाधारण सीपमूलक काममा लागेका छन् । उनीहरु घरभन्दा बाहिर जान नपर्ने र घरमै बसेर सीपमूलक काममा लाग्दा आयआर्जनसमेत हुने सोचेर यस्ता काममा लागेका हुन् । ग्रामीण क्षेत्रका सर्वसाधारण आफूले सिकेको सीपअनुसारको काम डोको, छत्री, स्याखु, मान्द्रो, डालो, नाङ्लोलगायतका घरेलु सामान तयार गरी विक्रीका लागि राखेका छन् ।

कोही बाँस तथा निगालोको चोयाबाट तयार हुने सामान तयार पार्ने र स्थानीवासीका घरवरपरकालाई विक्री गर्ने तथा केही लकडाउन खुले लगत्तै बजारसम्म लगेर विक्री गर्ने तयारीमा छन् । रामपुर मनभागाका ६१ वर्षीय तीर्थराज न्यौपानेलाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । उनले आफूले तयार पारेका डोको बुनेर खेतालाको दरमा दिने गरिएको बताए । विशेष गरी एक खेतालाले दिनभरी काम गर्दा ६ सय ज्याला लिन्छन् । त्यसको सट्टा आफूले बुनेको थुन्सेडोको दिने न्यौपानेको भनाई छ । रामपुरकै विष्णु विकले पनि बाँस किनी डोको तयार गरेर विक्री गर्दै आएको बताए । लकडाउन नहुँदा स्याङ्जा, तनहुँदेखि डोको किन्न आफूकहाँ आउने गरे पनि अहिले गाउँघरमै केही विक्री हुने गरेको र लकडाउनपछि सजिलै बेच्न सकिने उनले बताए । स्याङ्जा आँधीखोलादेखि आएर रामपुरमा बसेका विक २५ वर्ष भन्दा पहिलेदेखि डोको बुन्दै आएको बताउन्छन् ।

यसक्षेत्रमा डोको तीन सयसम्ममा विक्री हुन्छ । खेतबारीमा मल बोक्न, पँधेराबाट पानी बोक्न र विभिन्न सामान राख्न डोकाको प्रयोग गरिन्छ । रामपुरका चिमनारायण मानन्धर बुढेसकालमा दिन बिताउने आधार नै यही सिप भएको बताउन्छन् । उनले भने,‘घरमै बस्यो चोया काढ्यो, डोको बुन्यो, काम गर्‍यो, दिन बितेको पत्तो नै हुँदैन ।’ जिल्लाका सबैजसो क्षेत्रमा बाँसका डोका तयार गर्ने भेटिए पनि रैनादेवी छहरा गाउँपालिकाका सत्यवती र बल्डेङ्गढी तथा निस्दी गाउँपालिकाको झिरुवास खाँदरमा सबैभन्दा धेरै मानिस व्यावसायीक रुपले नै यस्ता सामान बनाउने गर्छन् । निस्दीमा तयार पारिएका सामान जिल्लाको रामपुर, नवलपरासी तथा स्याङ्जामा बिक्री हुन्छ भने रैनादेवी छहरामा तयार पारिएका सामान तानसेन नगरपालिका तथा रुपन्देहीका बुटवलसम्म विक्रीका लागि पुर्‍याउने गरिन्छ । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update