Shittalpati
नेपाली काँग्रेस पाल्पाले गर्‍यो रामपुरमा प्रशिक्षण

पाल्पा, नेपाली काँग्रेस पाल्पाले रामपुरमा प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाली काँग्रेस प्रशिक्षण शाखाको आयोजना र  काँग्रेस रामपुर नगर समितिको संयोजनमा एकदिवसीय प्रशिक्षण कार्यक्रम भएको हो ।

पार्टीलाई वडातहबाटै सशक्त र प्रभावकारी बनाएर लैजान काँग्रेसले प्रशिक्षण  गरेको जनाएको छ ।  रामपुरबाट शुभारम्भ भएको प्रशिक्षण जिल्लाका १० वटै स्थानीय तहमा गरिने छ । प्रशिक्षण कार्यक्रमको नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पुनले पछिल्लो समय राजनीतिक दलहरुप्रति जनताको वितृष्ण पैदा हुँदै गएको अवस्थामा प्रशिक्षणले त्यसलाई चिर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।   उनले देशमा ठूला परिवर्तन र अहिलेको संसदिय व्यवस्था  नेपाली काँग्रेसको नेतृत्वमा आएको  भन्दै  यी कुरा जनतालाई बुझाउन आवश्यक रहेको बताए । उनले भने‘ शान्ति प्रक्रियादेखि संविधान जारी गर्ने काम र कार्यान्वयन गर्ने काम काँग्रेसले नै गरेको हो, यो कुरा हामीले जनतालाई बुझाउन सकेका छैनौं ।’ ‘काँग्रेसले केही गरेन ,केही गर्दैन भन्नेहरुलाई मेरो प्रश्न छ , राणा र पञ्चायत विरुद्धको लडाई कसको नेतृत्वमा भयो ? शान्ती प्रक्रिया र संविधान जारी कसले गर्‍यो ? सबै नीति निर्माण कसले गर्‍यो ? यो सबै काँग्रेस कै नेतृत्वमा भएको हो’ सभापति पुनले भने ।  उनले पार्टीले नीतिगत निर्णय गर्दा केही कमजोरी भएको स्विकार गर्दै सुधार गरेर अघि बढ्ने बताए । तर काँग्रेसले केही गरेको छैन भन्ने छुट पार्टीका कुनै पनि नेता कार्यकर्तालाई नभएको सभापति पुनको भनाई छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टीलाई बलियोे बनाउनका लागि नेताले नभई नीतिले र व्यक्तिले नभई विधिले पार्टी चल्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले समाजवाद नेपाली काँग्रेसको सिद्धान्त र पहिचान भएकाले समय सापेक्ष जनताको आवश्यकता र चहानालाई केन्द्रमा राखेर नेता कार्यकर्ता चल्नु पर्ने बताए ।

नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आन्तरिक छलफल र बहस गरेर बाहिर पार्टीको डिफेन्समा उभिनु पर्ने बेला आएको धारणा व्यक्त गरे । उनले अहिले परिस्थिती भिन्न बन्दै गएको भन्दै एउटा मिसन बोकेर खुलेको पार्टी र विचारलाई चिर्नका लागि डिफेन्स गर्न जरुरी बताए । सभापति श्रेष्ठले पदीय दायित्व र भूमिकामा रहनेलाई पार्टीको खिलाप बोल्ने छुट नभएको पनि स्पष्ट पारे ।

 लुम्बिनी प्रदेश सांसद तथा काँग्रेस निवर्तमान जिल्ला सभापति वीरबहादुर रानाले राजनीति र पद्धति माथी प्रश्न उठ्नु चिन्ताको विषय भएको बताए । उनले समाज र जनता प्रतिको चिन्तन भन्दा पनि व्यक्तिगत स्वार्थका कारण आमनागरिकमा राजनीति र दलप्रति वितृष्णा पैदा भएको भन्दै चिन्ता व्यक्त गरे । सांसद रानाले राजनीतिक दलका नेताको शैली र प्रवृत्तिमा आमूल परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए । उनले लोकतन्त्तको विकल्प लोकतन्त्र र दलको विकल्प दल भएको भन्दै फरक साँेच र चिन्तन सहित उच्च मनोबलका साथ पार्टीको माध्यमबाट समाज रुपान्तरण र मूलुकको विकासमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।  कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका उपसभापति तथा प्रशिक्षण विभाग प्रमुख झपेन्द्र गैरेले पार्टीको संगठनलाई मजबुद बनाउन तल्लो तहका कार्यकर्ताको जनभावना अनुसार पार्टी चल्नु पर्ने भन्दै सबै तहगत संरचनाका जिम्मेवार व्यक्तिले ईमान्दारितापूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।नेपाली काँग्रेसका महासमिति सदस्य तथा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सबै नेता कार्यकर्ता पार्टी प्रति बफादार हुन आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठ, प्रदेश सदस्य लाल कुमारी राना , लुम्बिनी प्रदेशका आमन्त्रित सदस्य राम कार्की र  नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरे लगायतले प्रशिक्षण दिएका थिए ।  प्रशिक्षणमा रामपुर नगरपालिका भित्रका विभिन्न वडाका नेता कायकर्ताहरुको सहभागिता रहेको प्रशिक्षण विभागका सचिव लक्ष्मण बस्यालले  जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update