Shittalpati
नेपालको अर्थतन्त्र र विप्रेषण

भन्ने गरिन्छ कुनै पनि देशको समृद्धि र जनताको जीवनस्तरमा सुधार गर्ने एउटै आधार हो अर्थतन्त्र । अर्थतन्त्रमा सुधार नगर्दासम्म जनताको हासो र कल्याणमा वृद्धि गर्न सकिदैन । यसमा दुईमत नरहला । सरकारको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हासिल गर्नका लागि पनि बलियो र आत्मनिर्भर अर्थतन्त्र एक मात्रै उपाय हो । आत्मनिर्भर अर्थतन्त्रको एउटै भरपर्दो आधार औद्योगिकरण हो । तर नेपालमा यस क्षेत्रले अर्थतन्त्रमा उल्लेखिय योगदान दिन सकेको देखिदैन । विभिन्न आन्तरिक तथा बाह्य कारणले लगानीमैत्री वातावरणमा ह्रास आउनु यसको एउटा मुख्य कारण बनेको देखिन्छ । अर्थतन्त्रको मेरुदण्ड मानिने वैदेशिक व्यापारको अवस्था अत्याधिक दयनिय र संकटउन्मूख प्रतिकुल अवस्थामा हिडिरहेको छ । भौगोलिक आर्कषकका क्षेत्रहरु प्रशस्त मात्रा भएर पनि प्रचार–प्रसारको अभाव विदेशी पर्यटकलाई नेपालमा उल्लेखिय मात्रामा भिर्याउन सकेको देखिदैन । अर्थतन्त्रलाई जिवित र गतिशिल बनाउने एउटै आधार हो विप्रेषण अर्थाथ् रेमिटान्स । यो नेपालका लागि वैदेशिक मुद्रा प्राप्त गर्ने महत्वपूर्ण स्रोत बनेको छ । यसैको आधारमा नेपालको अर्थतन्त्र सञ्चालन भएको छ भन्दा दुईमत नरहला । यहाँ विशेष गरेर नेपालको अर्थतन्त्रमा विप्रेषणको भूमिकाका विषयमा केन्द्रीत रहेर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

दैनिक औषतमा दुई हजारका दरले वैदेशिक रोजगारीमा गएका करीब पन्ध्र लाख नेपाली नागरिकले उक्त देशको रोजगारीबाट प्राप्त आम्दानीलाई बैक तथा वित्तीय संस्थामार्फत नेपालमा पठाएको रकमलाई विप्रेषण वा रेमिटान्स भनिन्छ । सरकारबाट श्रम स्वीकृत भएका करीब ११० देशमा रोजगारीका लागि पुगेका नेपालीले रोजगारीबाट प्राप्त आम्दानीलाई नेपालमा पठाईरहेका छन् भने यहि कारण नेपाल विश्वमा रेमिटान्स भिœयाउने तेस्रो देशको रुपमा रहेको तथ्याङ्क भेटिन्छ । औषतमा वार्षिक एक व्यक्तिले छ पटकसम्म आफ्नो आम्दानी घरपरिवारमा पठाउने गरेको र यो वार्षिक औषतमा ५ लाख ३२ हजार सम्म हुने गरेको पाइन्छ । नेपालको कुल ग्राहस्थ उत्पादन (न्म्ए) मा यसको योगदान २५ प्रतिशत रहेको छ । वर्तमान अवस्थामा नेपालको वैदेशिक मुद्रा प्राप्त गर्ने महत्वपूर्ण स्रोत पनि यो नै रहेको देखिन्छ । सन् १९८० को दशक पछि आर्थिक उदारिकरण, खुला अर्थतन्त्र र विश्वव्यापीकरणको परिणाम स्वरुप नेपालबाट वैदेशिक रोजगारमा जाने प्रवृत्ती बढ्दै गएको देखिन्छ भने विप्रेषण आप्रवाह दर पनि बढ्दै गएको देखिन्छ । हाल नेपालको अर्थतन्त्रमा विप्रेषणको निर्भरता पनि अत्याधिक बढ्दै गई रहेको देखिन्छ ।

वर्तमान परिस्थितिको विश्लेषण गर्दा भन्न सकिन्छ  सरकारहरुलाई रेमिटान्स मन पर्ने तर त्यहि रेमिटान्स पठाउनेहरु मन नपर्ने, सुखमा त कुरै छोडौ विदेशमा लास पर्दा, वर्षौ अलपत्र पर्दा अभिभावक विहिन अवस्थामा रहनुपर्ने अवस्था रहिरहेको देखिन्छ । गणतन्त्रसम्म आईपुग्दा पनि  राज्य वा सरकारको प्रवृतिमा परिवर्तन नआउँदा यसमा सुधार तथा आशाको संकेत पनि कतै देखिदैन् । रेमिटान्समात्रै हैन रेमिटान्स पठाउनेहरुका लागि पनि अनुकुलको ऐन नियम बनाउनेतर्फ राज्यको ध्यान जानु पर्ने देखिन्छ ।

नेपालको अर्थतन्त्र र विप्रेषण :
आम्दानी भन्दा सार्वजनिक खर्च बढ्दै जानु, निर्यात भन्दा आयात व्यापार बढ्दै जानु । विप्रेषणकै आधारमा कुनै पनि देशको अर्थतन्त्र सञ्चालनको सपना देखिरहनुलाई भने पक्कै राम्रो मान्न सकिदैन । अर्थतन्त्रमा यसको अधिक निर्भरता दिर्घकालका लागि समस्या सिर्जना गर्ने देखिन्छ । यसको विकल्पमा औद्योगिकरण, लगानी मैत्री बातावरण, प्राकृतिक स्रोत र साधनको परिचालन तथा अधिक खर्च कटौती गरी वैदेशिक आयात व्यापार दरमा कमि गरी निर्यात व्यापार बढाई अन्तर्राष्ट्रिय व्यापार अनुकुल अवस्थामा ल्याउनुपर्ने देखिन्छ । विश्वमा वैदेशिक व्यापारबाट प्राप्त आम्दानीलाई भरपर्दो मान्ने भएकाले यसतर्फ नेतृत्व तथा योजना विद्हरुले  समेत ध्यान दिनु जरुरी देखिन्छ । रेमिटान्सको भरपर्दो विकल्पको विकास गर्नु आजको आवश्यकता रहेको देखिन्छ । यसका लागि निम्न उपाय अपनाउन सकिन्छ ।
– अन्तर्राष्ट्रिय व्यापारलाई प्राथमिकतामा राख्नुपर्ने
– प्राकृतिक स्रोत साधनको परिचालन गर्नु पर्ने
– लगानीमैत्री वातावरण र अनुकुल ऐन नियम बनाउनु पर्ने
– कृषिजन्य आयातमा प्रतिस्थापन गर्नु पर्ने  
– विलाशीताको वस्तुको आयातमा कमी ल्याउनु पर्ने
– औद्योगिकरण र रोजगारी सिर्जनामा ध्यान दिनु पर्ने

विप्रेषणको महत्व :
नेपाल जस्तो वैदेशिक व्यापार तथा औद्योगिकरणको अवस्था दयानिय रहेको देशको अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि विप्रेषण बरदान सावित भएको देखिन्छ । यहाँ केहि महत्वपूर्ण पक्षलाई उल्लेख गर्ने प्रयास गरिएको छ ।
– विदेशी मुद्रा प्राप्तिको प्रमुख स्रोत
– विदेशी प्रविधि भिर्याउनको लागि सहयोग
– आर्थिक वृद्धि र समृद्धिका लागि योगदान
– बढ्दो बेरोजगारी दरलाई न्यून गर्न सहयोग
– अधिकाश घरपरिवारको आम्दानीको स्रोत
– वित्तीय क्षेत्र विकासको प्रमुख स्रोत
– गरिबी निवारणमा सहयोग
– प्रतिव्यक्ति आय वृद्धिमा सहयोग
– जनताको जीवनस्तर र दैनिकी सुधारमा सहयोग
– घर जग्गा कारोवारमा सहयोग
– भुक्तानी सन्तुलनमा सहयोग
–  लगानी तथा औद्योगिकरणमा सहयोग

विप्रेषणलाई कसरी व्यवस्थित गर्ने त ?
यसैका आधारमा राज्यले अर्थतन्त्रलाई संकट हुनबाट बचाएको देखिन्छ । यसैका आधारमा विकास खर्चका योजनाहरु निर्माण गरेको देखिन्छ तर विप्रेषणको उत्पादनमुलक क्षेत्रमा प्रयोग सम्वन्धमा सरकारहरु बेखवर जस्तै देखिने गर्दछन् । यसका लागि निम्न उपाय अवलम्वन गर्न सकिन्छ ।
– विप्रेषण प्रयोगको अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाउने
– रेमिटान्स पठाउने प्रक्रिया सरल बनाउने
– विप्रेषण पठाउने लागत शुन्य बनाउने
– बैकिङ प्रणालीको माध्यम अनिवार्य गर्ने
– विप्रेषणको दरका आधारमा राज्यबाट विभिन्न सुविधा प्रदान गर्ने
– विप्रेषणको केहि रकम अनिवार्य शेयरमा लगानी गर्ने नीति बनाउने
– विप्रेषणको उपभोग क्षेत्रमा गरिएको खर्चमा कमि ल्याई बचत र लगानीका लागि अभिप्रेरित गर्ने
– वैदेशिक रोजगारमा गएका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा अनिवार्य आवद्ध गराउने
–  हुण्डी र गैर कानुनी माध्मबाट विप्रेषण पठाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै लैजाने
–  वैदेशिक रोजगारमा गएका व्यक्तिको जीउ धनको सुरक्षाको ग्यारेन्टि गरिनु पर्ने
– कोरिया र जापानमा जस्तै व्यवस्थित रुपले वैदेशिक रोजगारमा जाने नीति बनाउने
– श्रम सम्झौता भएका देशहरुमा राजदुतावास खोल्ने र तिनीहरुलाई सक्रिय बनाउने
– वैदेशिक रोजगारमा गएका व्यक्तिका लागि उत्पदान, पेन्सन तथा बीमाको व्यवस्था गर्ने
– वैदेशिक रोजगारमा काम र तलबको सुनिश्चिता गर्ने

निष्कर्ष :
विभिन्न देशहरुबाट प्राप्त गरेको विप्रेपणलाई सार्वजनिक खर्च व्यवस्थापन र वैदेशिक व्यापारमा मात्रै नलगाएर उत्पादन र पूँजीगत खर्चमा लगाउनु पर्ने देखिन्छ । यसको सहि सदुपयोगका लागि आवश्यक नीति तथा योजना नै बनाउनेतर्फ नेतृत्वको ध्यान जाओस् । वैदेशिक रोजगारमा जाने व्यक्ति तथा तीनका आश्रीत परिवारको भविष्य सुनिश्चित होस् । रेमिटान्सको माया गर्ने तर त्यहि रेमिटान्स पठाउने प्रति कति ध्यान नदिने प्रवृत्तिको अन्त्य होस् । राज्यले आम्दानीका वैकल्पिक स्रोतको खोजि गरोस् । देश भित्रनै रोजगारिका अवसरहरु र प्रसस्त आसाका किरणहरु छाउन । नेतृत्वमा देश र जनताप्रति जिम्मेवार बन्ने सोचको विकास होस् ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update