Shittalpati
‘सहकारीमार्फत उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ’

पाल्पा, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सहकारीमार्फत उत्पादन र बजारीकरणमा जोड दिनुपर्ने बताएका छन् । जिल्ला सहकारी संघ पाल्पाको ११ औं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले सहकारीमार्फत कृषकले उत्पादन गरेका कृषि उपजलाई निर्वाहमुखीभन्दा पनि आधुनिकीकरण र यान्त्रिकीकरण गरी बजारीकरण गर्न जोड दिएका हुन् ।

प्रमुख अतिथि समेत रहेका सभामुख घर्तीले भने ‘स्थानीय सरकारले सहकारीमार्फत उत्पादन र बजारीकरणमा ध्यान दिन आवश्यक छ ।’ व्यक्तिगत भन्दा पनि सहकारीमार्फत गरिएको काम दीगो र भरपर्दो हुने भएकाले स्थानीय सरकारले सहकारीमार्फत उत्पादन र बजारिकरण गर्नमा छुट्टै नीति तथा कार्यक्रम बनाउनुपर्नेमा उनले जोड दिए । सभामुख घर्तीले हरेक क्षेत्रमा बुझ्ने, बुझाउने र कार्यान्वय गर्ने स्थानमा समस्या देखिएको हुँदा नीति अनुसार काम हुन नसकेको बताए । उनले हाल देखिएको सहकारी सम्बन्धी समस्या समाधानका लागि तीन तहमा रहेको सहकारी सम्बन्धी कानुनलाई केलाएर एकद्वार नीति बनाउनुपर्नेमा समेत जोड दिए । विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले कृषि क्षेत्रलाई केन्द्रविन्दुमा राखेर काम गर्न सहकारी सञ्चालकहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति झपेन्द्र गहिरे, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, जिल्ला भूमि आयोगका अध्यक्ष मोहनलाल गैरे, बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जगदीश भट्टराई, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की, अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर देवकोटा, कृषि ज्ञान केन्द्रका निमिक्त प्रमुख सन्तोष चौधरी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहकारीहरुलाई आग्रह गरे । संघका अध्यक्ष भूपति पाण्डेयले संस्थाको संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै कृषि उत्पादन तथा बजारीकरणमा जिल्लाका सहकारीहरुले  सघाउदै आएको बताए । उनले भने ‘सरकारले कृषिजन्य वस्तु, दूध, मासुमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा यहाँका सहकारीहरुले पनि वस्तुको उत्पादन तथा बजारीकरणमा विशेष ध्यान दिएका छन् ।’ स्थानीय सरकारले समेत सहकारीसँग समन्वय गरी उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्ने अध्यक्ष पाण्डेले बताए । सहकारीले युवालाई पुँजीसहित सीप दिँदा कृषि आयआर्जनको माध्यम बनेको पनि उनको भनाई छ । सभामा लेखा सुपरीवेक्षणको प्रतिवेदन संस्थाका संयोजक श्रीकृष्ण आत्रेयले प्रस्तुत गरेका थिए । संघले सहकारी मैत्री, योजना तर्जुमा, नियमन, अनुगमनको पाटोमा राम्रो काम गरेको भन्दै १० स्थानीय तह मध्ये रिब्दीकोट गाउँपालिकालाई उच्च मूल्याकंन गर्दै सम्मान गरेको छ । यस्तै उसले  विभिन्न विधामा उत्कृष्ट काम गरेका सहकारीहरुमा बगनाकाली कृषि बहुउद्धेश्यीय सहकारी संस्था, अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था र मिलनसार सामाजिक महिला उद्यमी सहकारी संस्थालाई सम्मान समेत गरेको छ । संघका अध्यक्ष भुपति पाण्डेयको अध्यक्षता, कोषाध्यक्ष कृष्ण भट्टराईको स्वागत र सचिव कृष्ण भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update