Shittalpati
विषयगत समितिका सभापतिको निर्वाचन हुने मिति तोकियो

बुटवल,लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयनका  लागि निर्वाचन मिति तोकिएको छ । पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचन गर्ने गरी मिति तोकिएको लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख छ ।
    लुम्बिनीमा ६ वटा विषयगत समिति छन् । समितिको सदस्य मनोनयन भए पनि सभापति चयन  लामो सययसम्म भएका थिएनन् । जसअनुसार अब सार्वजनिक लेखा समिति ,कृषि, वन तथा वातावरण, अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार विकास समिति, सामाजिक विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापतिको निर्वाचन हुने छ । लुम्बिनी प्रदेशमा  दुई वटा सरकार गठन भइसके पनि प्रदेश सभाको संसदीय समिति सभापति चयन हुन नसक्दा आलोचना समेत हुँदै आएको छ । सत्तारुढ गठबन्धनभित्र भागबन्डा नमिल्दा विषयगत समितिमा सभापति चयन हुन नसकेको हो ।  अहिलेसम्म समितिको बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ  । २०७४ सालको प्रदेशसभा नियमावलीमा सभापतिको निर्वाचन नभएको अवस्थामा ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक बस्ने, बैठक बसेको एक महिनाभित्र सभापतिको निर्वाचन गर्ने प्रावधान थियो । तर, २०७९ सालमा बनेको प्रदेशसभा नियमावलीमा सभापति चयन नहुँदासम्म ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्ने उल्लेख भएकाले सोही अनुसार बैठक बस्दै आएको हो । संसदीय समितिका सभापति सर्वसम्मत रूपमा चयन गर्ने प्रयासस्वरुप प्रतिपक्षलाई पनि सहमतिमा ल्याउन पहल गरे पनि  लामो समय हुँदा सहमति नभएपति निर्वाचन गर्न लागिएको हो । 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update