Shittalpati
बगनासकाली गाउँपालिकाले संकलन गर्‍यो विदेशमा रहेका नागरिकको तथ्याङ्क

पाल्पा ।  जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँ छाडी भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरेको छ । गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) को असर कतिसमयसम्म रहने हो भन्ने यकिन हुने संकेत नदेखिएपछि विदेशमा रहेका नागरिकहरुको विवरण संकलन गरेको हो । गाउँपालिकाले पालिकामा बसोबास भई रोजगारका शिलशिलामा भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरको छ । स्वयमसेवीका मार्फत घर –घरमा गई तथ्याङ्क संकलन गरिएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।

रोजगारका शिलशिलामा विदेश गएका तर कोभिड-१९ का कारण गाउँ फर्किन चाहेको अवस्थामा उद्दार गर्न र फर्केपछि उनीहरुलाई के कस्तो काममा लगाउन सकिन्छ भन्ने यकिन गर्नका लागि पालिकाले काम अगाडि बढाएको अध्यक्ष बस्यालले बताए । उनले भने  ‘विदेशबाट आईसकेका नागरिकसँग अन्तक्र्रिया गरी उनीहरुको इच्छा र चाहाना अनुसार गाउँमै केही गर्न चाहेमा स्थानीय सरकारले प्रदेश र केन्द्रिय सरकारसँग समन्वय गरी रोजगार सिर्जना गर्ने योजना बनाएका छौं ।’ विदेशमा रहेका नागरिकहरु गाउँमा फर्केपछि गाउँमै बस्छन कि, फेरि फर्किन्छन् ? गाउँमा बसे के गर्न सक्छन् ? भन्ने विषयलाई हेरी योजना बनाउनका लागि तथ्याङ्क संकलन गरिएको अध्यक्ष बस्यालले बताए ।

संकलित तथ्याङ्कमा गाउँपालिका भित्रका ३ हजार २ सय २४ जना नागरिक विदेशमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार रोजगारका लागि ३ सय ३२ जना महिला र २ हजार ८ सय ९२ जना पुरुष विदेशमा रहेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update