पाल्पा, जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रहेको सामुदायिक रेडियो मदनपोखरले २०७७ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । कोरोनामहामारी र बन्दाबन्दीकाकारण डिजिटल भर्सन मात्र वितरण गरेको रेडियोले आईतबार भित्तेपात्रो नै सार्वजनिक गरेको हो । सारेम भित्तेपात्रोको ४ जना शिक्षकले संयुक्त रुपमा स्टुडियोबाटै विमोचन गरेका छन् । गणित शिक्षक रामप्रसाद ढकाल, नेपाली शिक्षक प्रेमराज खराल, स्वास्थ्य तथा जनसंख्या शिक्षक चन्द्रकान्त न्यौपाने र विज्ञान शिक्षक रामजीवन ज्ञवालीले भित्तपात्रो अनावरण गरी सार्वजनिक गरेका हुन् ।
दुरशिक्षा रेडियो कार्यक्रम एसइई पाठशाला सञ्चालनका लागि स्टुडियोमा बसेका शिक्षकहरुले पढाउँदै भित्तेपात्रो समुदायमा आएको जानकारी गराएका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष समेत रहेका शिक्षक ढकालले समुदायकै बीचबाट स्थापित र सञ्चालित रेडियोले समुदायलाई पात्रो दिएर घरपरिवारकै सदस्य बन्न पुगेको बताए । राष्ट्रिय चाडपर्व, सार्वजनिक विदाका अतिरिक्त जिल्लामा मनाइने महत्वपूर्ण तीथिमिति पनि सारेम पात्रोमा समेटिएको स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले बताए । रेडियो मदनपोखराले प्रत्येक वर्ष भित्तेपात्रो प्रकाशन गरेर निःशुल्क वितरण गर्दै आएको छ ।