Shittalpati
परराष्ट्रमन्त्री साउद मङ्सिर २३ गते कतार जाँदै

काठमाडौँ, परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उनी यही मंसिर २३ गते कतार जान लागेको उनको सचिवालयले जनाएको छ ।

यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।

त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले आज गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीन जोशीका बुवा आमासँग पनि भेट गरेका छन्। कतार बसाइँका क्रममा उनी दोहा २१औँ फोरममा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update