Shittalpati
सकियो चतुर्मास, विवाह–व्रतबन्धको सिजन शुरु

पाल्पा, आज कार्तिकशुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा । यसलाई चतुर्मास वा कार्तिकस्नान समाप्त हुने पूर्णिमा भनिन्छ । यो दिन विशेषगरी विष्णुका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ ।

आषाढ शुक्ल एकादशीदेखि शुरु भएको चतुर्मास सोमबारदेखि सकिएको हो । कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ । चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास गरिन्छ । त्यसैले यो समयमा विभिन्न विशेष काम तथा शुभकार्यहरु शुभारम्भ गरिँदैन । यो समयमा भगवान् विष्णु निद्रामा हुने भएकाले शुभ तथा मंगल कार्यहरू रोकिएको मानिन्छ । आजबाट फेरि शुभ कार्यको थालनी गर्न सकिन्छ, नयाँ सुरुवात गर्न सकिन्छ भन्ने जनविश्वास रहेको छ । मंसिर लागेसँगै विवाह तथा व्रतबन्धका साइतहरू धमाधम सुरु हुन्छन् । चतुर्मासका कारणले रोकिएका विवाह तथा ब्रतबन्धहरु अनि ठूला पूजा–आजा आजबाट सुरु भएका छन् । भगवान् शिवले यसैदिन त्रिपुरासुर नामक दानवको अन्त्य गरेको पुराणमा उल्लेख छ । यसैले यो दिनलाई त्रिपुरी पूर्णिमा पनि भनिन्छ । यो दिन पवित्र नदी तलाउमा स्नान गर्ने र चन्द्रमा उदय भएपछि साँझ शिवजीको पुजा गर्ने विधान छ । शिवा, संभूति, संतति, प्रीति, अनुसूया र क्षमा नामका कृतिकाको पूजा गर्ने विधान पनि पुराणमा छ । यो दिन बराहक्षेत्रमा मेला लाग्ने यो पूर्णिमा लाई नेपाल भाषामा सकिमना पून्हि भनिन्छ ।

पूर्णिमा तिथि अर्थात् चन्द्रमा पूर्ण देखिने दिन । औँसीमा पितृकार्य गरिएजस्तै देवीदेवता सम्बन्धी अनुष्ठानका लागि पूर्णिमाको महिमा छ । चन्द्रमाको कला बढ्दै गएर पूर्ण हुने पक्षलाई शुक्ल र पूर्ण भएको चन्द्रमाको कला घट्दै गएर चन्द्रमा नै नदेखिनेसम्मको अवधिलाई कृष्ण पक्ष भनिन्छ । चन्द्रमा पूर्ण भएको तिथि नै पूर्णिमा हो । वैदिक ग्रन्थहरूले पनि पूर्णिमालाई ठूलो पर्व मानेका छन् । हिन्दुहरूको आदिग्रन्थ वेदको एक अंग मानिने वेदांग ज्योतिषले सम्पूर्ण शुभकर्म गर्नको लागि शुक्लपक्ष नै उत्कृष्ट मानेको छ । महिनाको एउटाको हिसाबले वर्षमा बाह्रवटा पूर्णिमा हुन्छन् । चैत्रशुक्ल प्रतिपदामा संवत्सर (नयाँ वर्ष) आरम्भ हुने भएकोले चैत्रशुक्ल पूर्णिमालाई नै पहिलो पूर्णिमा मानिन्छ । चान्द्रमानको पात्रोअनुसार महिनामा शुक्ल र कृष्ण गरी दुई पक्षका १५/१५ गरी ३० दिन हुन्छन् । चतुर्मास सँगसँगै सनातनी हिन्दु धर्मालम्बीहरुका लागि आजबाट कार्तिक स्नान पनि समापन भएको छ । बडादसैँको समापनसँगै सुरु भएको कार्तिक स्नान समापन भएको हो । आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राति जाग्राम बसेसँगै औपचारिक रूपमा बडादसैँ सकिएको थियो, आजबाट अब कार्तिक स्नान पनि सकिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update