Shittalpati
भोली राम्दीमा हुने मेलाको तयारी सकियो

पाल्पा,  भोली हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा हुन लागेको एकादशी मेलाको सम्पूर्ण तयारी सकिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको मुख्य आयोजनामा हुन लागेको मेलाको तयारी सकिएको हो ।

कला, संस्कृतिको संरक्षण सँगै राम्दीधामको धार्मिक तथा पर्यटकीय विकासमा टेवा पुर्‍याउने उद्देश्यले एक दिने मेला आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले ‘हाम्रो राम्दी, हाम्रो धाम, एकादशी मेला, सबै राम्दी जाम’ भन्ने  नाराका साथ मेला आयोजना गर्न लागिएको जनाएको हो ।

मेलाको सम्पूर्ण तयारी पुरा भएको  प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईले जानकारी दिए । उनले संस्कृतिको संरक्षणसँगै राम्दीको प्रचार–प्रसार गर्नु मेलाको मुख्य उद्देश्य रहेको बताए । अध्यक्ष भट्टराईका अनुसार मेलामा भजनकृतन, शंख फुक्ने, रामनदी धामको बारेमा महात्मा ज्ञान प्रवचन, पाल्पामा जन्मिएका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीसँगै स्थानीय भजन, सोरठी जस्ता प्रस्तुति रहने छ  ।

एकादशीका दिन कालीगण्डकी किनारमा स्नान गर्न जानेहरुको बाक्लो उपस्थिती हुने भएकाले पनि सोही दिन मेला आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । मेलाको डिभिजन वन कार्यालय पाल्पा आयोजक र संरक्षकको रुपमा बगनासकाली गाउँपालिका रहेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update