Shittalpati
पाल्पाका सनिल पोर्चुगलका लागि राजदूतमा सिफारिस

पाल्पा, सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीका सनिल नेपाललाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा सक्रिय नेपाली काँग्रेसका युवा नेता नेपाललाई पोर्चुगलको राजदूतका लागि सिफारिस गरेको हो ।

राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशीता, सञ्चारलगायतका विषयमा विज्ञका रुपमा काम गर्दै आएका नेपालले विभिन्न योजना र नीति निर्माणसँगै रणनीतिक योगदान गर्दै आएका  छन् ।  उनले काँग्रेसमा संसद, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रुपमा परामर्श दिने गरेका छन् । नेपालले दर्जनौ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । विद्यालय तहमा काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वदायी भूमिकामा रहँदै उनको यात्रा त्रिभुवन विश्वविद्यालय कृतिपुर केन्द्रीय क्याम्पसको अध्यक्षसम्म पुगेको थियो । त्रिभुवन विश्वविद्यालयबाटै मानविकी संकायतर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुन ।

सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेसँग राजदूूतमा उनलाई सिफारिस गरेको हो  ।  सरकारले त्यहाँ रहेका नेपालीहरूको मागबमोजिम राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । पोर्चुगलमा हाल २० हजारभन्दा धेरै नेपालीहरू बसोबास गरिरहेका छन् । उनीहरूले लामो समयदेखि अलग्गै दूतावास कार्यालय स्थापना गर्न माग गर्दै आएका थिए । पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस भएका नेपाललाई संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update