Shittalpati
गुल्मीमा काँग्रेसले सम्मेलन गर्दै

गुल्मी,नेपाली काँग्रेस गुल्मीले आगामी मंसिर पहिलो हप्ताभित्र सम्मेलन गर्न लागेको छ ।  काँग्रेसले पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन सम्मेलन गर्न लागेको हो । 

मंसिर पहिलो हप्ताभित्र दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको जिल्ला सभापति खिलध्वज पन्थीले बताए । उनले भने ‘जिल्लाका ९३ वटै वडा र १२ वटै स्थानीय तहमा पार्टीको सम्मेलन सकिएको र छिट्टै दोस्रो जिल्ला सम्मेलन गर्ने तयारीमा छौं ।’
अहिले नै मिति भने तय नगरिएको सचिव भगतसिंह खड्काले जानकारी दिए । सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

कात्तिक २२ गते एकै दिन जिल्लाका १२ वटै स्थानीय तहमा पार्टीको दोस्रो जिल्ला सम्मेलनको तयारी बैठक बस्ने भएको सचिव जगदीश भट्टराईले बताए । सम्मेलन तयारी बैठकका लागि गुल्मी काँग्रेसले जिल्ला प्रतिनिधि समेत खटाएको छ ।
सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । पहिलो दिन उद्घाटन शत्र बृहत भेला तथा आमसभा र दोस्रो दिन बन्द शत्र पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत, नेता कार्यकर्तालाई प्रशिक्षणसहित सांगठनिक भावी योजनाको बारेमा जानकारी गराइनेछ । नेपाली काँग्रेसका केन्द्रीय नेताहरुले दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुने बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update