Shittalpati
माथागढी गाउँपालिकाद्वारा बेवारिसे महिलाको उद्दार

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले एक बेवारिसे महिलाको उद्दार गरेको छ । गाउँपालिकाले वडा २ खहरेबाट बेवारिसे महिलाको उद्दार गरेको हो ।

विगत केही समयदेखि गाउँपालिकाका विभिन्न गाउँहरुमा बेवारिसे अवस्थामा हिडडुल गर्दै आएकी महिलालाई वडा ३ का वडा अध्यक्ष दीपक थापाको नेतृत्वमा सराई युवा क्लवका युवाहरुले खहरेबाट लिई बिहीबार गाउँपालिकालाई बुझाएका थिए । रक्षा अधिकारी नाम बताउने ति महिलाको मानसिक अवस्था कमजोर रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उक्त महिला अन्दाजी २७ वर्षकी जस्तो देखिने र घर चितवन बताउने गरेको थापाले शित्तलपाटी डटकमलाई जानकारी दिए ।

उनलाई गाउँपालिकाले निर्माण गरेको दिव्यज्योती माविमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था नाजुक रहेकाले गाउँपालिकाका अध्यक्ष थापा र प्रभास प्रहरी चौकीका इञ्चार्ज एक्का बहादुर नेपालीको टोलीले शुक्रबार युनाईटेड मिसन अस्पतालमा औषधि उपचारका लागि लगेका थिए । ती महिलाको अहिले अस्पतालमा उपचार भइरहेको छ । उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने गाउँपालिका अध्यक्ष थापाले बताए । उनलाई देखेर चिन्ने जो कोहीले गाउँपालिकामा सम्पर्क गर्न अध्यक्ष थापाले सबैमा आग्रह गरेका छन् । केही दिनदेखि ती महिला बाटो बाटोमा भौतारिदै हिड्ने गरेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update