Shittalpati
पप माविको ‘अमृत वर्ष महोत्सव’ शुभारम्भ

पाल्पा, २००४ सालमा पश्चिम नेपालका आम नागरिकहरुलाई शिक्षाको ज्योती छर्ने महान उद्देश्यले पाल्पाको तानसेनमा स्थापना भएको पद्य पव्लिक नमूना माध्यमिक विद्यालयले अमृत वर्ष महोत्सव शुभारम्भ गरेको छ । विद्यालयले ७७ औं अभिभावक दिवसका अवसरमा अमृत वर्ष महोत्सव शुभारम्भ गरेको हो ।

असोज २३ गतेदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरी अभिभावक दिवस मनाएको विद्यालयले शुक्रबार दिवसको समापनसँगै अमृत वर्षको शुभारम्भ गरेको छ । विगतको इतिहास कायम गर्दै आगामी वर्षलाई अब्बल विद्यालयको रुपमा स्थापित गराउने गरी अमृत वर्ष महोत्सवको रुपमा सुरु गरिएको विद्यालयले जनाएको छ । स्कुल तहदेखि कक्षा ११÷१२ मा शैक्षिक कार्यक्रम विकासमा यस स्कुलको ठूलो योगदान रहेको छ । सात दशक लामो यात्रामा विद्यालयले देशका लागि महत्वपूर्ण जनशक्ति उत्पादन गर्न सफल भएको छ । आगामी वर्षहरुलाई अमृत वर्षका रुपमा मनाउने गरी विद्यालय अगाडि बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीले बताए । उनले भने ‘हामीले विद्यालयलाई थप गुणस्तरीय, व्यवसायिक र प्रविधिमैत्री बनाउने गरी योजना अगाडि सारेका छौं ।’ विद्यालयको दीर्घकालीन योजना बनाएरै विद्यालय अगाडि बढेको अध्यक्ष रेग्मीले बताए । उनले सबैको सहयोग र साथका कारण नै स्कुलले ७७ वर्ष मनाउन सफल भएको भन्दै सबैलाई धन्यवाद दिए ।

विद्यालयका प्रधानाध्यापक सन्तवीर बरालले भावी योजनाहरु सार्वजनिक गर्दै पाँच वर्ष भित्रमा विद्यार्थी संख्यामा वृद्धि गरी ५ सय ४० पुर्‍याउने, पुनः नमूना योग्य पुरातात्विक विद्यालय निर्माण गर्ने, विद्यालयको भौतिक पक्षलाई थप आकर्षक बनाई पूर्खाले आर्जेको सम्पति र तानसेनको पुरातात्विक सम्पतिलाई जोगाई राख्ने बताए । उनले विद्यालयको संख्यात्मक भन्दा पनि गुणस्तरमा ध्यान दिई नतिजामुखी बनाउने, शिक्षक तथा कर्मचारीमा कार्य सम्पादनका पारदर्शी मापदण्ड बनाई कार्यान्वयन र प्रोत्साहन गर्ने लगायतको योजना अगाडि सारिएको बताए ।

अभिभावक दिवस समारोहको अवसरमा आयोजित कार्यक्रममा समेत स्कूलको ७७ वर्षे यात्राको मुक्तकण्ठले प्रशंसा गरिएको छ । विद्यालयका पूर्व शिक्षक तथा विद्यार्थी लक्ष्मी उदयले विद्यालयमा अध्ययन गर्दा र अध्यापन गर्दाका क्षणहरु स्मरण गर्दै जिल्लाको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताइन् । उनले ७७ वर्षे लामो यात्रा तय गर्नु विद्यालयका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सक्नु नै महत्वपूर्ण रहेको उल्लेख गरिन् । सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख मित्रलाल गौतमले विद्यालयले पाँच वर्षे योजना बनाएर अगाडि बढेकोमा खुसी व्यक्त गर्दै योजना सफल बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा तानसेन–३ का वडा अध्यक्ष बाबुरत्न शाक्य, शिक्षाविद् बुद्धिप्रसाद शर्मा, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मण बस्याल, नेपाली काँग्रेसका नेता एवं साहित्यकार राजेन्द्र गोपाल सिंह, अक्षयकोष दाता तथा पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, नेपाल प्रेस युनियन पाल्पाका उपसभापति रामचन्द्र रायमाझी, विद्यालयका पूर्व प्रअहरु नरायण प्रसाद शर्मा, गोविन्द नेपाल, अभिभावक संघका अध्यक्ष चित्रबहादुर कुमाल, पूव शिक्षक टिकाराम बस्याल, विद्यार्थी सिर्जना कार्की लगायतले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै आ–आफ्ना  धारणा राखेका थिए । विद्यालयले असोज २३ गतेदेखि विभिन्न साँस्कृतिक, खेलकूद, बौद्धि प्रतियोगिताहरु सञ्चालन गरेको थियो । सोही अवसरमा छात्रवृत्ति तथा वार्षिक पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालयमा विभिन्न व्यक्तिहरुले अक्षयकोष समेत स्थापना गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षता, सहायक प्रधानाध्यापक जनकलाल कर्णको स्वागत, शिक्षिका सीता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update