Shittalpati
इजरायलबाट विद्यार्थीको गुहार, छिट्टै उद्दार गर्ने सरकारको आश्वासन

पाल्पा, इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा आफ्ना १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले आफूहरुलाई उद्धार गरिदिन सरकारसँग गुहार गरेका छन् । बंकरभित्र साथीहरुसँग रहेका विपिन सुवेदीले भिडियोमार्फत आफूहरू तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै चाँडो उद्धार गरिदिन भन्दै सरकारसँग गुहार मागेका हुन् ।

 साथीहरुसँगै रहेका सुरज भण्डारीले पनि प्राधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई भावुक पत्र लेख्दै युद्व तत्काल रोकिने अवस्था नरहेकाले तत्काल उद्धार गरिदिन  आग्रह गरेका छन् । उनले कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरु (११४) जना अहिले हामी इजरायल र हमासको द्वन्दको चपेटामा फसेकाले तत्काल उद्दार गरिदिन सरकारलाई आग्रह गरेका छन् । उनले लेखेका छन् ‘११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गइराखेको छ । हाम्रो आत्माबल घट्दै गइराखेको छ, हामी मानसिक तनावमा पुग्न आँटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाँकी रहेन । आकाशमा चरा उडेको देखेका हामी, आज मिसाईल र फाइटर प्लेन देख्नुपरेको छ । तिहारमा पटका खुशिका साथ रमाउदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ ।  बंकरमा लुक्यो भने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ । हामी हाम्रा सुदुरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ । हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नुपरेको छ । नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्व यत्तिकै रोकिने अवस्था पनि छैन । यो युद्व लामो छ । हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ ।’

प्रधानमन्त्री प्रचण्डले भने विद्यार्थीसँग सिधै संवाद गरी छिट्टै उद्दार गर्ने आनश्वासन दिएका छन् । उनले सोमबार नै मन्त्रिपरिषद्को विशेष बैठक राखी उद्दार र राहत उपलब्ध गराइने बताएका छन् । सरकारले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि जहाज पठाउने  तयारी गरेको छ । बैठकले नेपाल फर्किन चाहनेका लागि जहाज पठाउने निर्णय गरेको हो । इजरायलमा रहेका नेपाली ल्याउन जहाज पठाइने, सबै खर्च सरकारले बेहोर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । अनलाइन फारम भरेका आधारमा संख्या पुगेपछि उनीहरूलाई लिन जहाज पठाइने मन्त्रिपरिषद्को निर्णयमा छ । 

सरकारले इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा मंगलबार (आज) राष्ट्रिय शोकमा घोषणा समेत गरेको छ । उनीहरूको सम्मानमा आज आधा झण्डा झुकाइने छ । देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने बताइएको छ । त्यस्तै, सरकारले ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् । सुदूरपश्चिम विश्व विद्यालयबाट ४९ जना विद्यार्थीहरू इजरायल गएका थिए । जसमध्ये सुदूरपश्चिमका ७ जनासहित १० जना विद्यार्थीको निधन भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । शनिबार बिहानदेखि सुरू भएको आक्रमण जारी छ ।

हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट अहिले ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगेको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । परराष्ट्र मन्त्रालयले अलपत्र परेका नेपालीलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्न सम्पर्क व्यक्तिहरू तोकी विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका दुई सहसचिव, एक उपसचिव, एक शाखा अधिकृत, राजदूत कान्ता रिजाल (९७२५४५८६४४२३) र प्रथम सचिव अर्जुन घिमिरे (९७२५२८२८९३००) मा सम्पर्क गर्न अपिल गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update