Shittalpati
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै

पाल्पा, आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो ।

मानसिक अस्वस्थताका कारण वा असामान्य सामाजिक, आर्थिक वा अरू परिस्थितिबाट मानसिक समस्यामा पुगेका मानिसको मानव अधिकारलाई प्रवद्र्धन गर्ने तथा यस्तो परिस्थितिको जोखिमबारे परिवार, समाज र राज्यलाई सचेत गराउने मुख्य उद्देश्यसाथ हरेक वर्ष आजकै दिन विश्व मानसिक स्वास्थ्य दिवस मानाइन्छ । यस वर्ष ‘मानसिक स्वास्थ्य मानव अधिकार हो’ भन्ने नारा साथ विश्वभरि यो दिवस मनाइँदै छ । विशेषगरी मानसिक समस्यामा परेका मानिसको सन्दर्भमा उनीहरूको शारीरिक रोगलाई उपेक्षा गरेको पाइन्छ भने जटिल प्रकृतिका शारीरिक रोगहरूसँग जुधिरहेका मानिसको मानसिक समस्यालाई चासो दिइँदैन । जसका कारण दिवस नेपालका लागि सान्दर्भिक छ ।

नेपालमा मानसिक र शारीरिक उपचारका क्षेत्रमा चरम विभेद छ । मानसिक र शारीरिक स्वास्थ्य सेवाको समायोजित विकासबिना सन्तुलित स्वास्थ्य सेवा प्रदान गर्न सकिँदैन । बढ्दो बेरोजगारी, अव्यवस्थित जीवनशैली, असफलता, मानसिक तनाव लगायत समस्याले नेपालमा मानसिक रोगीको संख्या हरेक वर्ष बढ्दै गएको चिकित्सकले बताएका छन् । मानसिक समस्या खतरनाक हुने भएकाले बेलेमै उपचार गर्न र समस्यामा परेकालाई राम्रो व्यवहार देखाउन चिकित्सकले आग्रह गरेका छन् । चिकित्सकले मानसिक समस्याको उपचारमा ध्यान नदिँदा धेरैले ज्यान गुमाउने गरेकाले बेलैमा सचेत हुन समेत सुझाव दिएका छन् । स्वास्थ्यको मानसिक, मनोवैज्ञानिक र सामाजिक आयाम र सरोकारलाई स्वास्थ्य कार्यक्रमभित्रै पनि जनस्वास्थ्यसँग समाहित गरिएको छैन । मानसिक रोगको आकलन, बिमारी र तिनका अभिभावकलाई सहजीकरण र भरथेग गर्ने, उपचार गर्ने जनशक्ति तथा समाजिक सेवाकर्ता अत्यन्तै कम छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update