Shittalpati
भाषणले मात्र विकास हुँदैन नेता ज्यू !

हाम्रा नेताहरुको अधिकांश समय सभा, समारोह, शिल्यान्यास, उद्घाटन, प्रवचन, पुरस्कार वितरण जस्ता कार्यक्रममा जाने गरेको छ । जसले गर्दा निर्णायक तहमा आसीन व्यक्ति महत्वपूर्ण काममा पर्याप्त समय दिन असमर्थ हुँदो रहेछ । निर्णय गर्नुपर्ने कुरामा उनीहरूको जानकारी, दखल र चासो पुग्दैन र धेरै काम अलपत्र पर्छ । विकास–आयोजनाको दुर्गति हुन्छ । जब निर्णय गर्नुपर्ने अधिकारी नै विषयप्रति छ्याङ्ङ हुँदैनन्, त्यस्ता परियोजना कार्यान्वयनमा आउने सम्भावना नै हुँदैन । नेपालमा जति पनि योजना बने ती सबै दीर्घकालीन सोच लिएर बनेनन् । सम्पूर्ण दल, देश र जनताका साझा योजना बनेनन् । जति बन्यो, पार्टीको बन्यो, नेताको बन्यो, योजना आयोगको बन्यो । पहुँच भएका कार्यकर्ताको बन्यो, मन्त्रीको बन्यो । समग्रमा पार्टी र नेताको दबाबमा योजना प¥यो । तर, देशको योजना बन्दै बनेन । त्यसैले योजनाको चर्को डम्फूचाहिँ बज्यो, फलचाहिँ निस्केन । हरेक राजनीतिक दलका नेताहरु भाषण गर्नमा निकै माहिर बने तर आफै बोलेका कुराहरु कार्यान्वयनमा भने चुके । नेताहरुले समृद्धिका ठूला –ठूला सपनाहरु बाँड्दै सोही अनुसार भाषण पनि गर्दै आएका छन् । तर सो अनुसारको काम हुन सकेको छैन् । विकासका पूर्वाधारहरु निमार्णमा राजनीतिक दलका नेताहरुबाट थुप्रै आश्वासन जनताले पाएपनि कार्यान्वयनका चरणमा निरास बन्नु बाहेक अरु केही भएन । यहाँ पाल्पाको स्वास्थ्य क्षेत्रको विकासमा दलका नेताहरुले खेलेको भूमिका र कार्यान्वयनको अवस्थाका बारेमा केन्द्रीत रहेर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।  

पाल्पाका राजनीतिक दल, दलका नेताहरु भाषणमा मात्र सिमित हुँदा जिल्ला हरेक कुरामा पछाडी पर्दै गएको महशुस आम सर्वसाधारणहरुले गर्न थालेका छन् । विकास निर्माणमा पाल्पा दिनहँु पछाडी पर्दै गएपछि  जिल्लामा हरेक दिन बसाई सराई गर्दै अन्य जिल्लामा जानेको संख्या दिनहँु बढ्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो । पाल्पा शिक्षा र स्वास्थ्यको दृष्टिकोणले  अत्यन्त राम्रो मानिए पनि पछिल्लो समय राजनीतिक दलका नेताहरुमा  दीर्घकालिन सोंच र चिन्तन नहुँदा विस्तारै खस्कदै गएको छ । केही सयम यता तानसेनमा रहेको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि पाल्पा अस्पतालमा विरामीको चाप थामी सक्नु छैन । दैनिक ६ सयको संख्यामा पाल्पा अस्पतालमा विरामीले चेकजाँच गर्न थालेपछि आवश्यक संख्यामा  चिकित्सकको अभाव खड्किएको छ ।  त्यो पूर्ति गर्न पाल्पा अस्पतालमा डाक्टर ल्याइए पनि आएको ३ दिनमै सरुवा गरिएको छ ।  यही असोज १६ गते पाल्पा अस्पतालमा हाजिर भएका चिकित्सक डा. किशोर बञ्जाडेलाई लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले ३ दिनमै सरुवा गरेपछि त्यो अहिले सर्वत्र चासोको विषय बनेको छ । अस्पताल विकास समितिका अध्यक्ष गुराँश आत्रेयले असोज १९ गते नै सर्वदलिय बैठक आÞवान गरी सरुवा प्रक्रियालाई राजनीतिक दलबाट रोक्नु पर्ने विषयमा छलफल चलाएपनि असोज २१ गते मुख्यमन्त्री कार्यालयबाट डा. बञ्जाडेलाई गुल्मी अस्पतालमा कामकाजमा खटिनु भनि पत्र पठाएको छ । सरुवा रोक्न सकिन्छ कि भनेर सर्वदलिय बैठक गयौं तर आइतबार मुख्यमन्त्री कार्यालयबाट सरुवा सदर भएको पत्र आएको अस्पताल विकास समितिका अध्यक्ष आत्रेयले बताए । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले असोज १९ गते  डा. बञ्जाडेको सरुवा रोकिने आश्वासन दिए पनि पाल्पाका राजनीतिक दलहरुलाई थाङ्ग्रामा सुताएका छन् । डा. बञ्जाडेलाई प्रदेश स्वास्थ्मन्त्री राजु खनालले मन्त्रालयसँग समन्वय नगरी अस्पतालमा हाजिर भएको कुरालाई लिएर सरुवा गरिएको हो, तर सो सरुवालाई मुख्यमन्त्री कार्यालयबाट भने सदर गरिएको थियो । यसले पनि के प्रष्ट हुन्छ भने राजनीतिक दलका नेताहरुबिचको समन्वय र सहकार्य नहुँदा यस्तो समस्या उत्पन्न भएको हो ।

पाल्पाका राजनीतिक दलका नेताहरु झुटो भाषण ठोक्ने तर उपलब्धीमुलक काम नगर्ने, कसैले गरेको कामलाई जस लिन होडवाजी गर्ने नेताका रुपमा परिचित भएका छन् । खासगरी पाल्पाली जनताले हालसम्म पनि पुराना दल र नेताहरुलाई विश्वास गर्दै आए तर उनीहरुको बानी र व्यवहारबाट जनताहरु भने वाक्क दिक्क भएका छन् । स्वास्थ्य जस्तो संवेदनशील विषयमा यहाँका राजनीतिक दल र जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी बन्न नसक्नु दुखद् हो । चिकित्सक सरुवाको विषयमा अझ यहाँबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको भूमिका समेत राम्रो देखिएन । नेता तथा सांसदहरुको लागि राज्य स्तरबाटै  राम्रो अस्पतालमा उपचारको व्यबस्था रहेकाले सरकारी अस्पतालप्रति चासो नभएको आम सर्वसाधरणको बुझाई छ  । पाल्पाका हरेक गतिविधी तथा क्रियाकलायमा विभिन्न राजनीतिक दाउँपेचको कारण फलानो पार्टीको समितिमा अध्यक्ष छ मैले किन सहयोग गर्ने ? र मेरो पार्टीले किन पहल गर्ने भन्ने गलत धाराणाको कारण पनि पाल्पाको विकास दिनहुँ ओरालो लाग्दै गएको हो । भाषणमा हामीले यसो गछौं, उसो गछौं भन्दै हिड्ने तर यथार्थमा भने एक पार्टीले गरेको काम अर्को पार्टीले जस लिनै नचाहने परम्परा रोगकै रुपमा देखा परेको छ ।

विभिन्न अस्पताल तथा निजी क्लिनिकहरुमा लगानी गरेका राजनीतिक दलका केही नेता तथा जनप्रतिनिधीहरुलाई  जिल्ला अस्पतालमा राम्रो चिकित्सक आउँदा आफ्नो क्षेत्रको आम्दानी घट्ने टाउको दुखाई भने चिकित्सक सरुवाले निको भएको छ ।  लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले पनि हाजिर भएको ३ दिनमै चिकित्सक सरुवा गरेर पाल्पाली जनतामाथी प्रहार गरेको महशुस सर्वसाधारणले गरेका छन् । अब जनता धेरै सचेत भइसेकका छन् । अब पनि नेताहरुले यस्तै गतिविधि दोहो¥याई रहने र भाषण मात्रै गर्दै जाने हो भने भोलीका दिनमा आम जनताले ठेगान अवश्य लगाउने छन् । तसर्थ विकास र जनसरोकारका विषयमा केन्द्रीत नहुने हो भने अब भाषणले मात्रै हुँदै । काम गरेर देखाउन जरुरी छ ।
(लेखक जिल्लाका क्रियाशिल पत्रकार एवं शित्तलपाटी डटकमका पाल्पा संवाददाता समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update