Shittalpati
विभिन्न स्थानमा एकै दिन नौ जना मृत फेला

पाल्पा, देशका विभिन्न स्थानमा एकै दिन नौ जना मृत अवस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मी, रूपन्देही, स्याङ्जा, नवलपरासी पूर्व, सुर्खेत, मकवानपुर, सुनसरी, काभ्रे, मोरङ लगायत जिल्लाका छुट्टाछुट्टै स्थानमा ९ जना व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।

गुल्मीको कालिगण्डकी गाउँपालिका–६ तुपुङ ढाबा नजिकैको एक जंगलमा एक वृद्ध मृत फेला परेका छन् । ढाबाका ८० वर्षीय यमबहादुर थापा सोही ठाउँस्थित पालुङ खोला नजिकैको जंगलको झाडीमा आइतबार मृत अवस्थामा फेला परेका हुन् । असोज ५ गते साँझ घरबाट हिँडेका उनी फर्केर नआएपछि खोजी गर्ने क्रममा जंगलमा शव फेला परेको हो । यस्तै रूपन्देहीको सम्मरिमाई गाउँपालिका–७ केरावा डिवामा एक पुरुष मृत फेला परेका छन् । सोही ठाउँका ६५ वर्षीय जोगी भुज घर नजिकै सडक किनारमा मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै स्याङ्जाको आँधीखोला गाउँपालिका–३ सरादी खोलामा एक बालक मृत भेटिएका छन् । खहरेका यम बहादुर नेपालीका १२ वर्षीय छोरा अनिल नेपाली सरादी खोलामा मृत अवस्थामा फेला परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । जनप्रिय मावि काउरेमा पढ्न गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस्तै नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका–५ दाउनबारीस्थित खयरघारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । उता सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–२ चेतना जनजागृति सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् । मकवानपुरको ईन्द्रशरोवर गाउँपालिका–२ देवटारमा पनि एक पुरुष मृत भेटिएका छन् । देवटारका ५३ वर्षीय भिमलाल स्याङ्तान आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको प्रहरी समाचार कक्षले जनाएको छ ।         

यस्तै सुनसरीको धरान उपमहानगरपालिका–११ कल्याण चोकस्थित बाटोको छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही उपमहानगरपालिका–८ मा डेरा गरी बस्ने धनकुटा महालक्ष्मी नगरपालिका–४ घर भएका ४५ वर्षीय भोलामान खड्का आइतबार मृत अवस्थामा फेला परेका हुन् । काभ्रेको बनेपा नगरपालिका–१ कलमसीस्थित प्लटीङ गरेको जग्गाको छेउमा एक पुरुष मृत फेला परेका छन् । सोही ठाउँका सुदिप घिमिरेको घरमा खेतको काम गरी बस्ने सिन्धुली मरिन गाउँपालिका–५ घर भएका ५५ वर्षीय दुद्धलाल थिङ शरीरमा चोट लागि मृत अवस्थामा फेला परेका हुन् । यस्तै मोरङ धनपालथान गाउँपालिका–४ हरकपुरमा पनि एक पुरुष मृत अवस्थामा फो परेका छन् । सोही बस्ने २८ वर्षीय पर्शुराम चौधरी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।  ९ वटै घटनामा मृत्युको कारण पत्ता नलागेको र घटना बारे थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update