Shittalpati
कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु

अमेरिका (वासिङ्टन डिसी) । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए । उनी समेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १५ पुगेको छ ।

तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् । मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीका अनुसार १५ जनामध्ये सबैलाई कोरोना संक्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना संक्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ । उनी भन्छन् ‘अरु रोग लागेका व्यक्तिमा कोरोनाको संक्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्युको नजिक पु¥याउने गरेको देखिन्छ । ’ एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको बताए ।

एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ (अप्रिल २५) सम्म संकलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । तीमध्ये ४ सय ३४ जनाले आफूलाई कोरोना भाइरस संक्रमणबाट मुक्त गराउन सफल भएको छ । संख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार संक्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्याङ्कमा छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा सङ्क्रमणबाट ५८ हजार २ सय २० जनाको मृत्यु भइसकेको छ । अमेरिकामा कूल १० लाख १२ हजार संक्रमित पुगेका छन् ।   -रासस

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update